Home Blog Page 86

निसीखोलामा सञ्चालित स्वास्थ्य शिविरबाट पहिलो दिन करिब पन्ध्र सय नागरिकले लिए  निःशुल्क सेवा ।

0

बागलुङको निसीखोला गाउँपालिकाको वडा नं. ३ बोहोरागाउँमा  शुक्रबार देखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको भएको छ ।

निसीखोला गाउँपालिका र कर्मफ्लाईटस् फाउन्डेसन पोखराको संयुक्त आयोजनामा शिविर सुरु भएको हो । शिविरको पहिलो दिन पालिका भरका एक हजार चारसय ५१ जना नागरिकको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको छ ।

जसमध्ये ६ सय ६५ जनाको आँखाको चेकजाँच गर्दा ३२ जनाको मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने भएको हो ।त्यस्तै महिला सम्बन्धी रोग र अन्य समस्याको चेकजाँच तथा उपचार गराउनेको संख्या ७८६ जना रहेको पाइएको छ । निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बिहान उद्घाटन गर्दे शिविरको शुभारम्भ गर्नुभयो ।

अध्यक्ष घर्तीले बोल्दै निसीखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो लगानी गरिरहेको बताउनु भयो । सबै नागरिकको स्वास्थ्य बीमा कार्यक्रम देखि लिएर प्रत्यक बर्ष यस्ता शिविरको आयोजना गरिएको बताउँदै मानिस स्वास्थ्य भएमा मात्र प्रगति हुने बताउँदै सबैलाई स्वास्थ्य राख्न र आर्थिक अभावकै कारण वा चेतना अभावका कारण रोग लुकाएर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका निम्ति शिविरको आयोजना गरिएको बताउनु भयो ।

शिविरमा निसीखोला गाउँपालिका अन्तरगत  ७ वटै वडाबाट नागरिकको उल्लेखनीय सहभागिता रहेको र भोलि सम्म करिब दुई हजार नागरिकले सेवा लिने अपेक्षा रहेको वडा नं. ३ का अध्यक्ष तथा शिविर संयोजक रमेश विक्रम शाहीले बताउनु भयो । शिविरमा बरिष्ठ डाक्टरबाट स्वास्थ्य परिक्षण तथा वरिष्ठ आँखा रोग विशेषज्ञबाट आँखा परिक्षण साथै मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीका निम्ति जेठ २९,३० र ३१ गते शल्यक्रिया हुने भएको हो ।

शिविरमा आँखा रोग विशेषज्ञहरूद्वारा आँखा जाँच ,आवश्यक पर्नेलाई चस्मा वितरण र मोतिया बिन्दुको शल्यक्रिया गर्ने, वरिष्ठ फिजिसियन द्धारा स्वास्थ्य परिक्षण, महिला तथा प्रसुती रोग , सामान्य चिकित्सा तथा पेट, हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ उपचार सेवा साथै भिडियो एक्सरे, एसीजी, दिशा, पिसाब, ब्लड, सुगर जाँच लगायतका सेवा नागरिकले प्राप्त गरिरहेका छन ।

शिविरमा खटिनुभएका डा. रचना सुवेदीका अनुसार अधिकांश महिलामा सेतो पानी बग्ने, पाठेघरको समस्या रहेको बताउँदै अझैपनि रोग लुकाएर बस्ने चलन गाउँमा प्रबल देखिएको बताउनु भयो ।

शिविरमा निसीखोला गाउँपालिका र कर्मफ्लाईटस् फाउन्डेसन पोखराको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ । यस्तो शिविरबाट यहाँका नागरिकले प्रत्यक्ष सेवा प्राप्त गरिरहेको कर्मफ्लाईटस् फाउन्डेसन कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरले बताउनु भयो । शिविरमा हिमालय आँखा अस्पताल, आई केयर, बुर्तिबाङ स्वास्थ्य केन्द्र, धवलागिरी अस्पताल, पर्वत अस्पतालको प्राविधिक सहयोग रहेको छ ।

त्यस्तै प्रभा माध्यमिक विद्यालय, स्थानीय समाजसेवी , स्थानीय स्वास्थ्य कर्मीको सहयोग रहेको पाइएको छ । शिविरमा बढि मात्रामा ज्येष्ठ नागरिक र महिलाको सहभागिता रहेको छ ।

शिविरमा सहभागि नागरिकले यस्तो महत्वपूर्ण शिविर सञ्चालन हुँदै गर्दा पैसा खर्च नगरी घर छेउबाटै उपचार सुविधा पाउँदा आफूहरू खुसी भएको बताएका छन ।

बागलुङको निसीखोलामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने ।

0

जेठ ३ गते बुर्तिबाङ
बागलुङको निसीखोलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । निसीखोला गाउँपालिका र कर्मफ्लाईटस् फाउन्डेशन पोखराको संयूक्त आयोजनामा शिविर हुन लागेको निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बताउनु भयो ।
निसीखोला गाउँपालिकाका नागरिकलाई लक्षित गर्दे यहि जेठ ४ र ५ गते हुने शिविरमा बरिष्ठ डाक्टरहरुबाट स्वाथ्य परिक्षण तथा वरिष्ठ आँखा रोग विशेषज्ञबाट आंखा परिक्षण सार्थै मोतिया बिन्दुको सल्यक्रिया हुने भएको हो ।
गतबर्ष वडा नं. १ को देविस्थानमा सञ्चालन भएको शिविर यसबर्ष वडा नं. ३ को बोहोरागाउँ स्वास्थ्य चौकी र प्रभा माध्यमिक विद्यालयमा सञ्चालन गर्न लागिएको शिविर संयोजक एवम् वडा नं. ३ का अध्यक्ष रमेश विक्रम शाहीले बताउनु भयो ।
शिविरको लागी प्रचार प्रसार देखि आवस्यक तयारी भइरहेको बताउँदै सम्बन्धित समस्या भएका पालिका बासि नागरिकले शिविरमा सहभागि भई सेवा लिन सक्ने बताउनु भएको छ ।
शिविरमा आँखा रोग विशेषज्ञद्धारा आँखा जाँच ,आवस्यक पर्नेलाई चस्मा वितरण र मोतियाबिन्दुको सल्यक्रिया गर्ने, वरिष्ठ फिजिसियन द्धारा स्वास्थ्य परिक्षण, महिला तथा प्रसुती रोग , सामान्य चिकित्सा तथा पेट, हाडजोर्नी तथा नसा सम्बन्धि विशेषज्ञ उपचार सेवा साथै भिडियो एक्सरे, इसिजी, दिशा, पिसाब, ब्लड, सुगर जाँच लगाएतका सेवा नागरिकले प्राप्त गर्न सक्ने भएका हुन ।
आँखामा मोतिया बिन्दुको पहिचान भई सल्यक्रिया गर्न सिफारीस भएका विरामीको जेठ २९, ३० र ३१ गते बोहोरागाउँ स्वास्थ्य चौकीमा सल्यक्रिया गर्ने गरी आवस्यक तयारी गरिएको कर्मफ्लाईटस् फाउन्डेशन पोखराका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरले बताउनु भयो । शिविरमा हिमालय आंखा अस्पत्ताल, आई केयर, बुर्तिबाङ स्वास्थ्य केन्द्र, धवलागिरी अस्पत्ताल, पर्वत अस्पत्तालको प्राविधिक सहयोग रहने भएको हो ।

ढोरपाटन ५ मा पिकअप दुर्घटना १८ जना घाईते भएको आशंका ।

0

बुर्तिबाङ जेठ २ गते

बागलुङको ढोरपाटन नगरपालिका ५ मस्तिमा बुधबार साँझ पिकअप जिप दुर्घटना हुँदा १८ जना घाइते भएको आशंका गरिएको छ ।

बुधबार साँझ करिब ५ बजेतिर बुर्तिबाङ देखि यात्रु लिएर छुटेको ग २ च २३१४ नम्बरको पिकअप जिप दुर्घटना हुँदा सवार चालक सहित  १८ जना यात्रु घाइते भएको आशंका गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो । घाइतेहरूको उद्धार गरि बुर्तिबाङ स्वास्थ्य केन्द्रमा ल्याउने क्रम जारी रहेका कारण यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन ।

घाइतेको हात खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । ढोरपाटन ५ को चौर पाखापानी तर्फ जाँदै गरेको पिकअप चालकले ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडक देखि करिब १५ मिटर तल खसेको हो ।

घाइतेको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार सुरु भएको छ । दुर्घटना स्थलमा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर र दिलमाया पौवी समेत पुगेर उद्धारमा खटिनु भएको छ ।

वर्षात भइरहेको र सडक चिप्लो र धेरै यात्रु रहेका कारण दुर्घटना भएको हुन सक्ने यात्रुले बताएका छन ।

आगामी विकास निर्माण ,योजना र राय लिन जनता सँग सांसद दोर्ण र दिलमाया ।

0

 जेठ २ गते बुर्तिबाङ

गण्डकी प्रदेश सभाका सदस्य माननीय दोर्ण कुमार कुवँर र माननीय दिलमाया पौवीले आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय नागरिक, समाजका अगुवा व्यक्ति र राजनैतिक दलका प्रतिनिधि सँग भेटघाट एवम् आगामी विकास योजनाका सन्दर्भमा सुझाब संकलन र भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन ।

गण्डकी प्रदेश सरकारबाट आगामी आर्थिक बर्ष २०८१÷०८२ को निती कार्यक्रम बजेट ल्याउने तयारी हुँदै गर्दा सांसद दय कुवँरपौवीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको अपेक्षा, सुझाव संकलन गर्दे कस्ता योजनालाई प्राथमिकता दिने भन्ने सन्दर्भमा छलफल एवम् भेटघाट कार्यक्रमलाई तिव्रता दिइएको पाइएको हो ।

बुधबार ढोरपाटन नगरपालिकाको ढोरपाटन उपत्यकाबाट अभियानको सुरुवात गरेका सांसदहरुले १ देखि ९ सम्मका सबै वडामा पुग्ने र निसीखोला गाउँपालिका तमानखोला गाउँपालिकाका नागरिक समक्ष पनि पुग्ने गरी कार्यक्रम अगाडि बढाएका हुन । ढोरपाटन उपत्यकामा पुग्दै गर्दा अधिकांश नागरिकले सालझण्डी ढोरपाटन सडक अन्तरगत बुर्तिबाङ ढोरपाटन सडकलाई तदारुकताका साथ ध्यान दिन सुझाब दिएका हुन ।

नागरिकले सडक, खानेपानी, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा आफ्नो माग र धारणा राखेका हुन । स्थानीय तह अन्तरगत वडा, पालिका, तथा प्रदेश र संघले गर्ने विकासको सन्दर्भमा जनप्रतिनिधिहरू बिच छलफल गरेर आवश्यकता र महत्वपूर्णता लाई हेरेर विकास योजनाको छनौट गर्नुपर्नेमा नागरिकको सुझाब छ ।

त्यस्तै बिहिबार निसीखोला गाउँपालिकाका नागरिक संग छलफल एव्म भेटघाट कार्यक्रम गरिएको छ । निसीखोला गाउँपालिका कार्यालयमा सर्वदलिय सर्वपक्षिय रुपमा भेटघाट एव्म छलफल भएको छ । नागरिक, राजनैतिक दल र जनप्रतिनिधीले् माननियहरुलाई आफनो सुझाब र धारणा राखेका हुन । त्यस्तै शुक्रबार तमानखोला गाउँपालिकामा कार्यक्रमको तय गरिएको जनाइएको छ ।

सांसद सहितको कार्यक्रममा स्थानीय जनप्रतिनिधिको समेत सहभागिता रहेको छ । सांसदहरुले जनताको अपेक्षा, सुझाब र आवश्यकतालाई प्राथमिकता दिएर योजनाको छनौट गर्ने र बजेटमा प्राथमिकता दिने बताएका छन ।

जीर्ण रहेको तमान आर्दश गाउँ पञ्चायत घरलाई सामुदायिक भवन बनाइँदै ।

0

जेठ २ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका ३ मा परापूर्व कालमा निर्मित जीर्ण अवस्थामा रहेको आर्दश गाउँ पञ्चायत घरलाई पुनः निर्माण गरी सामुदायिक भवनको रुपमा नयाँ भवन बनाइएको छ ।

२०१५ सालतिर विभिन्न ६ गाविसका जनताले जनश्रमदान गरी निर्माण गरिएको उक्त भवन जीर्ण भएपछि त्यसलाई भत्काएर सामुदायिक भवनको रुपमा पुनः निर्माण गरिएको तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बुढाले बताउनु भयो । तमानखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को दश लाख बजेट विनियोजन गरेर निर्माण सुरु गरिएको उक्त भवन दुई तलाकै पुरानो आर्दश गाउँ पञ्चायतकै डिजाइनमा बन्ने छ ।

भवन निर्माण सम्पन्न पश्चात माथिल्लो तलामा सामुदायिक पुस्तकालय (ई लाइब्रेरी बनाउने भुँई तलामा तत्काललाई वडा कार्यालय निर्माणाधीन अवस्थामा रहेका कारण वडा कार्यालय सञ्चालन गरिने र वडा कार्यालय निर्माण सम्पन्न पश्चात वडाले संरक्षण गर्ने गरी पाहुना घर अथवा पर्यटकीय सूचना घर बनाउने गरी लक्ष्य लिइएको वडा अध्यक्ष बुढाले बताउनु भयो ।

गाउँ पञ्चायत घरको रुपमा रहेको तमानको उक्त घरबाट त्यस समयका पञ्चायत प्रमुखले साविक धवलागिरी अञ्चलमै नागरिकलाई राम्रो सँग जिम्मेवारी बहन गरेका कारण आर्दश गाउँ पञ्चायतको रुपमा मान्यता दिइएको पाइन्छ । साविक तमान, लाम्मेला, खुँगा, लुकुरवन, नर्जाखुङ्खानी गरी ६ गाउँका नागरिकलाई सेवा दिइने गरिन्थ्यो ।

ठुलो एरियामा शासन चल्ने गरी ६ गाउँका जनताले २०१५ सालतिर भवन निर्माण गरेका थिए । उक्त पञ्चायत भवनबाट पहिलो पञ्च प्रधान थम बहादुर शेरचन, दीर्घ नारायण शेरचन, क्याप्टेन भक्त बहादुर बुढाथोकी, ,धन बहादुर गौचन, र बालनरसिंह भट्टचनले सेवा दिइएको पाइन्छ ।

, क्याप्टेन भक्त बहादुर बुढाथोकी र बालनरसिंह भट्टचनले दुई कार्यकाल सम्म सेवा दिनुभएको त्यहाँका बूढापाका बताउँछन । आगामी असार मसान्त सम्म निर्माण सम्पन्न गरिने भवनको काम अन्तिम चरणमा छ ।

पुराना सामाग्रि लाई समेत प्रयोग गरी निर्माण थालिएको भवन स्थानीय ढुँगा माटो र काठकै प्रयोगबाट बन्दै गरेको हो ।

विभिन्न कार्यक्रमका साथमा सकियो बुर्तिबाङमा ट्राफिक सप्ताह ।

0

बैशाख ३१ गते बुर्तिबाङ

गत बैशाख २५ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह कार्यक्रम बुर्तिबाङमा सोमबार दीप प्रज्वलन गर्दे समापन गरिएको छ ।

अस्थाई ट्राफिक प्रहरी कार्यालय बुर्तिबाङको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गर्दे सुरुवात गरिएको अभियानको सोमबार साँझ दीप प्रज्वलन गर्दे समापन गरिएको हो ।

बजारमा रयाली सहित सचेतना मूलक कार्यक्रम, चालकको स्वास्थ्य परिक्षण, सवारी चेकजाँच, विद्यार्थीलाई ट्राफिक सचेतना मूलक कार्यक्रम र यात्रुलाई समेत ट्राफिक सचेतना कार्यक्रमको आयोजना गर्दे सप्ताह व्यापी अभियान समापन गरिएको हो । आइतबार बुर्तिबाङ बसपार्कमा चालकको स्वास्थ्य परिक्षण गरिएको थियो ।

शुक्रबार रिभरहेड बोर्डिङ स्कुलका विद्यार्थीलाई सचेतना मूलक कार्यक्रम गरिएको ट्राफिक प्रहरी पेम नारायण पौडेलले बताउनु भयो ।

अन्य दिनमा सचेतना मूलक कार्यक्रम, सवारी जाँच लगायतका गतिविधि गरिएको थियो ।

समापन सत्रको कार्यक्रम इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिकको अध्यक्षता, ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्यालको प्रमुख आतिथ्यता मा यातायात व्यवसायी, सवारी चालक, यात्रु लगायतको उपश्थितीमा सामूहिक दीप प्रज्वलन गर्दे कार्यक्रमको समापन गरिएको हो । गण्डकी प्रदेशका ११ जिल्लामा ट्राफिक सप्ताह कार्यक्रम सञ्चालन गरिएको पाइएको छ ।

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा निः शुल्क आँखा तथा दन्त रोगको परिक्षण एवम् परामर्श कार्यक्रम ।

0


बुर्तिबाङ बैशाख ३० गते
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा विभिन्न विद्यालयमा विद्यार्थीको आँखा तथा दाँतको परिक्षण एवम् उपचार शिविर सुरु गरिएको छ ।
विद्यार्थीको आँखा तथा दाँतमा समस्या देखिने र समयमा उपचार नगरे त्यसले ठुलो समस्या निम्त्याउन सक्ने भएका कारण सचेतना सँगै उपचार शिविर सुरु गरिएको हो ।

 आइतबार बुर्तिबाङ स्थित रिभरहेड इनटरनेशनल एकेडेमीमा ३५० विद्यार्थी र शिक्षकको निशुल्क रुपमा ओपिडी आँखा तथा दन्त परिक्षण गरिएको हो ।
दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री र दन्त चिकित्सक भावना अधिकारीको उपस्थिति मा बोर्डिङमा अध्ययनरत विद्यार्थी र केही शिक्षकको गरी ३५० जनाको परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्ये ७० जना विद्यार्थीमा आँखाको समस्या रहेको पाइएको छ ।

जसमध्ये १७ जनामा दूर दृष्टिको समस्या रहेको, १० जना अदूर दृष्टि, ३ जना अल्छी आँखा, ४ जनामा डेडो, १ जनाको आँखा हल्लने समस्या र १ जनामा मोतिया बिन्दुको समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले बताउनु भयो ।

त्यस्तै ४० जना विद्यार्थीमा दाँतको समस्या रहेको पाइएको थियो । जसमध्ये १५ जनाको दाँत निकालिएको, अन्यलाई औषधी उपलब्ध गराइएको हो ।

शिविर सञ्चालन सँगै अभिभावक, तथा विद्यार्थी खुसी भएका छन । निशुल्क रुपमा उपचार तथा परामर्श दिइएका कारण लायन्स क्लबले निकै राम्रो काम गर्दे आइरहेको विद्यालयका प्रिन्सिपल विकास प्रधानले बताउनु भयो । 


लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष राम प्रसाद आर्चाय ले बोल्दै समाज सेवा सँग नजिक रहँदै आएको यस क्लबले विद्यार्थीमा रहेको समस्यालाई सम्बोधन गर्न र अभिभावकले ध्यान दिन नसकेको अवस्थामा सानो समस्या पनि भोलिका दिनमा ठुलो रूप लिन सक्ने र विद्यार्थीको भविष्यमा नै समस्या सृजना हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै यस्ता शिविर कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

 निशुल्क रुपमा सञ्चालन भएको शिविरमा दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री र दन्त चिकित्सक भावना अधिकारीको सहयोग रहेको छ । औपचारिक कार्यक्रम लायन्स क्लब अफ ढोरपाटन शन २०२४÷०२५ का अध्यक्ष छविलाल पाण्डेले सञ्चालन गर्नुभएको हो । 

सडक ढलानमा कमसल बालुवा राख्न खोजिएपछि वडा अध्यक्षले फालिदिए ।

0

बैशाख ३० गते 

बागलुङको ढोरपाटन नगरपालिका २ टारिखेत स्थित नयाँ शहर आयोजना कार्यालय मार्फत निर्माण भइरहेको सडक ढलानको क्रममा कम गुणस्तरको बालुवा राख्न खोजिएपछि ढोरपाटन नगरपालिका २ का वडा अध्यक्ष भेक बहादुर खत्रीले उक्त मेटेरियल्स सडकमै पोखिदिएका छन ।

शनिबार साँझ सडक ढलानका लागि लगिएको बालुवा माटो सहित कम गुणस्तरको भएपछि नयाँ शहर आयोजनाका प्राविधिकले प्रयोग नगर्न आग्रह गरेका थिए । यस भन्दा पहिले समेत सोही सडकमा कम गुणस्तरको सामाग्री राख्न खोजिएपछि पटक पटक राख्दै आएकोमा निर्माण कम्पनीले बेवास्ता गर्दे गएको पाइएको छ ।

नयाँ शहर आयोजना मार्फत ढोरपाटन नगरपालिका २ टारीखेतमा सडक ढलानको काम गरिरहेको सिर्जना कन्जक्सुम जेभी काठमाण्डौले निर्माणको जिम्मा पाएको थियो । कुल पचास लाख लागतमा ठेक्का सम्झौता भएको उक्त सडक दुई सय मिटर चौडा ढलानको काम भइरहेको नयाँ शहर आयोजनाका सव इन्जिनियर सूचित सुवेदीले बताए ।

निर्माण कम्पनीले पटक पटक कम गुणस्तरको बालुवा राखेर सडक ढलान गर्न खोजेको भन्दै वडा अध्यक्ष खत्रीले बालुवा सडकमै जेसिवी को सहायताले पोखिदिएका हुन । आफ्नो गाउँ टोलमा हुने भौतिक संरचनामा स्थानीय नागरिकले समेत ध्यान दिन र मनोमानी गरेमा खबरदारी गर्न समेत आग्रह गरेका छन ।

बेसहारा बालबालिकाको भविष्य खोज्दै तमानखोला गाउँपालिका ।

0

गत वैशाख १४ गते गाउँ नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते हुनुभयो । घाइते बुढा मगर र घर्ती मगर अहिले पनि अस्पतालमै उपचाररत हुनुहुन्छ ।

आगलागीमा परि मृत्यु हुनु भएका देवसिंहको पारिवारीक अवस्था निकै कमजोर छ । ज्याला मजदुरी गरि परिवारको लालनपालनमा गर्दै आउनु भएका कामीको मृत्युले यतिबेला उहाँको परिवार विछिप्त छ ।

समस्यामा परेको कामी परिवारलाई तमानखोला गाउँपालिकाले मलम लगाउने प्रयास गरि रहेको छ । देवसिंहको मृत्यु भएको केही दिनमै गाउँपालिकाले घरमै पुगेर एक लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो छन् । घाइते दुवै जनाको उपचारका लागि ७५÷७५ हजार सहयोग गरेको छ ।

मृतक कामीको आर्थिक अवस्था कमजोर भएको हुँदा गाउँपालिकाले उहाँका कान्छा छोरा टोप बहादुर विकलाई कक्षा १२ कक्षासम्म बालगृहमा राखेर पढाउने भएको छ । टोपबहादुरले अहिले कक्षा ९ मा पढ्नुहुन्छ । देवसिंहको परिवारमा दुई छोरा, दुई छोरीसहित श्रीमती हुनुहुन्छ । जेठो छोरा र छोरीले केही वर्ष अगाडिनै पढाई छोडेका थिए । कान्छि छोरी अझै विद्यालय जान थाल्नु भएको छैन ।

गाउँपालिकाले तीन वर्षदेखि वडा नम्बर ३ तमान गाउँमा बालगृह संचालन गरेर अनाथ तथा बेसराहा बालबालिकाको पालनपोषण र पढाउने काम गर्दै आएको छ । अर्थिक वर्ष कमजोर भई पढ्नबाट वञ्चित भएका बालबालिकालाई पनि गाउँपालिकाले बालगृहमा आश्रय लिई पढाउने जिम्म लिएको छ ।

बुबाको मृत्युपछि पारिवारको नाजुक अवस्थाका कारण पढ्नबाट वञ्चित हुने अवस्थामा पुगेका टोपबहादुर पालिकाले आफ्नो सम्पूर्ण जिम्मा लिएपछि खुसी हुनु भएको छ । अब आफूलाई कक्षा १२ सम्म पढ्नलाई कुनै समस्या नहुने उहाँ बताउनुहुन्छ ।

“बाबाले अरुको ज्याला मजदुरी गरेर हामीहरुलाई पाल्नु भएको थियो, जसोतसो पढाउँदै आउनु भएको थियो, उहाँको मृत्यु भएपछि अब पढ्न नपाउने भएँ भन्ने चिन्ता लागेको थियो, तर गाउँपालिकाले मेरो लागि ठूलो योगदान गर्ने भयो” विकले भन्नुभयो – “मैले मेहनत गरेर पढ्नु पर्छ, बाबाले देखेको सपना पुरा गर्ने र्छु, पढ्न नपाइएला कि भन्ने डरबाट मुक्त भएँ ।”

गाउँपालिकाले तमानगाउँमा घर भाडामा लिएर बालगृह संचालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने २९ जना बालबालिका रहेका छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले आर्थिक अभावमा अब कुनै पनि बालबालिकाले पढ्नबाट वञ्चित हुनु नपर्ने बताउनुभयो ।

स्थानीय सरकार नागरिकको सुख दुःखमा साथ दिने सरकार भएको हुँदा कोही पनि शिक्षादिक्षा र भोको पेट बस्न नपर्ने उहाँको भनाइ छ । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सिपमुलक तालिम दिने र रोजगारीको व्यवस्थासमेत मिलाउने अध्यक्ष बुढा मगर बताउनुहुन्छ । गाउँपालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह संचालन गरेको उहाँ बताउनुहुन्छ ।

बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरि रहेका छन् । बालबालिकाहरुको पढाईमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ । बालगृह संचालनमा आएपछि धेरै बालबालिका शिक्षाको पहुँचमा आएको भन्दै सेवा पनि गुणस्तरीय दिने गरि काम गरि रहेको अध्यक्ष बुढा मगरको भनाइ छ ।

“खासगरी आमाबाबा गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरि उनीहरुको पालनपोषण र दिशक्षादिक्षा दिने कामको थालनी गरेका छौँ यसले धेरैलाई राहत मिलेको छ” अध्यक्ष बुढा मगरले भन्नुभयो – “बालगृहमा बस्न थालेपछि बालबालिकाको पढाईमा पनि धेै सुधार भएको छ, उहाँहरुलाई यहाँ आश्रय मात्रै दिने होइन, असल र दक्ष नागरि बनाउने हाम्रो जिम्मेवारी हो, सोही अनुसार काम गरि रहेका छौँ ।”

बागलुङको तमानखोला ४ मा दुई घरमा आगलागी:आगो कसैले लगाइदिएको हुन सक्ने आशंका ।

0

बागलुङ बैशाख २८ गते 

बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेलामा गतराति घरमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा मानिस नभएको समयमा शुक्रबार बिहान करिब ३ बजेको समयमा दुई घरमा एकैपटक आगो दन्किरहेको अवस्थामा स्थानीयले देखेपछि नियन्त्रणको प्रयास गरेका थिए तर आगोले घर पूर्ण रुपमा जलेको पाइएको छ ।

वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपालीका अनुसार तमानखोला ४ स्थित भाटी गाउँका जेनु सिर्पाली र दिले सिर्पालीको सँगै जोडिएका दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

दुई परिवारका सबै सदस्य खेतिपातीको निम्ती गाउँ नजिकैको हल्ले खर्क बारीमा रहेको अवस्थामा रातको समयमा आगलागी हुँदा घर सहित घरभित्र राखिएको सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ । लाम्मेलाका अधिकांस घर परिवार खेतिपातीको निम्ती घुम्ती बसाइ गर्ने गर्दछन्

घटनाको प्रकृति हेर्दा आगलागी कसैले लगाइदिएको हुन सक्ने आशंका गरिएको वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बताउनु भयो । घटनाको विषयमा जानकारी प्राप्त भएसँगै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बूढा सहित अनुसन्धानका निम्ति बोङ्गादोभान प्रहरी चौकीको टोली घटना स्थलमा जाँदै गरेको बताइएको छ । 

मानिस नभएको समयमा रातमा एकै पटक दुई घर जल्दै गर्दा कसैले घरमा आगो लगाइदिएको हुन सक्ने आशंका गरिएको स्थानीयले जनाएका छन ।