Home Blog

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न लायन्स क्लब ढोरपाटनको सक्रियता।

0

साउन १० ।

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा आन्तरीक पर्यटन प्रर्वद्धनसँगै पर्यटकीय तथा धार्मिक क्षेत्र नर्सिङकोटको सरसफाई गरिएको छ । विभिन्न सामाजिक, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा सक्रिय कार्यक्रम गर्दै आइरहेको क्लवले शनिबार आन्तरीक पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै नर्सिङकोट मन्दिर सरसफाई गरिएको क्लवका अध्यक्ष हेमेन्द्र घर्तिले बताउनु भयो ।

बुर्तिबाङ बजार हुँदै क्लबका पदाधिकारी, पत्रकार स्थानीय नागरिक सहित पदमार्ग मार्फत नर्सिङकोट पुगेको थियो । पर्यटकीय दृष्टिकोणले पर्याप्त सम्भावना हुँदा हुँदै पनि ओझेलमा परेका सम्भावित क्षेत्रको पर्यटन पर्वद्धन गर्ने उद्देश्य स्वरुप करिब एक दर्जन पत्रकार सहितको टोलीले त्यहाँको प्रचार प्रसारमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । नर्सिङकोटमा रहेका कोट मन्दिर लगाएत विभिन्न ५ मन्दिर तथा आसपासको क्षेत्रमा सरसफाईसँगै पर्यटकीय क्षेत्र टाकुराको समेत अवलोकन भ्रमण गरिएको थियो । यस्ता कार्यक्रमले स्थानीय सम्भावित पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने स्थानीय प्रेम बहादुर कुवँरले बताउनु भयो ।

ऐतिहासिक तथा धार्मिक दृष्टीकोणले परिचित नर्सिङकोटमा पर्याप्त भौतिक पूर्वाधार बनिसकेका छन् । यसको प्रचार प्रसारसँगै पर्वद्धन गर्नमा सबैको साथ आवश्य रहेको निसीखोला गाउँपालिका ७ का अध्यक्ष दिपक कुवँरले बताउनु भयो ।

बागलुङमा दुई सात वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोप, दुई जना पक्राउ

0

फाइल पोटो

बुर्तिबाङ, साउन ८ — बागलुङका दुई छुट्टाछुट्टै स्थानमा सात वर्षीया दुई बालिकामाथि जबर्जस्ती करणी भएको आरोपमा दुई जना पुरुष पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक  मानन्धरका अनुसार, निसीखोला गाउँपालिका–७ मा सात वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५८ वर्षीय देवबहादुर कुँवर पक्राउ परेका छन्।

गत असार ३२ गते राति घरमा सुतिरहेकी बालिकामाथि करणी भएको भन्दै परिवारले दिएको उजुरीका आधारमा प्रहरीले साउन ५ गते कुँवरलाई पक्राउ गरेको हो। पक्राउ परेका कुँवरलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, बडिगाड गाउँपालिका–७ मा पनि अर्की सात वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५९ बर्सिय  कुल बहादुर गुरुङ

 पक्राउ परेका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक मानन्धरका अनुसार दुवै घटनाका आरोपितलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको छ।

 

हेलिकोप्टरमार्फत काठमाडौं रिफर गरिएकी सुत्केरीको बाटोमै मृत्यु

0

आन्तरिक रक्तस्रावका कारण अवस्था गम्भीर बनेपछि सेनाको हेलिकोप्टरबाट लैजाँदै गर्दा पोखरा नपुग्दै निधन

बुर्तिबाङ, साउन २२ – बागलुङको निसीखोला गाउँपालिका–३ धाराखर्क निवासी ३९ वर्षीया सुत्केरी मिना सुनारको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

सुत्केरीपछि स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं रिफर गरिएको थियो। तर पोखरातर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको बुर्तिबाङ अस्पतालका प्रमुख डा. अविनाश पोख्रेलले जानकारी दिनुभयो।

सुनारले बुधबार बिहान करिब ७ बजे बोहोरा गाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिएकी थिइन्। सुत्केरीपछि प्रारम्भिक अवस्थामा स्वास्थ्य सामान्य देखिए पनि राति अचानक अवस्था जटिल बनेको थियो। परीक्षणका क्रममा उनको शरीरभित्र अत्यधिक आन्तरिक रक्तस्राव (इन्टरनल ब्लिडिङ) भई रगत जमेको पाइएपछि बुधबार बिहान उनलाई बुर्तिबाङ अस्पताल ल्याइएको थियो।

अस्पतालका अनुसार बिरामीको अवस्था लगातार गम्भीर बन्दै गएको र आवश्यक विशेषज्ञ चिकित्सक, शल्यक्रियाका उपकरण तथा जनशक्तिको अभावका कारण अस्पतालमै उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान करिब ११:४५ बजे काठमाडौं रिफर गरिएको थियो।

अस्पताल प्रमुख डा. पोख्रेलका अनुसार अस्पतालका डा. सागरसहित स्वास्थ्यकर्मीको निगरानीमा थप उपचारका लागि पठाइए पनि उपचार केन्द्र पुग्नुअघि नै हेलिकोप्टरमै उनको मृत्यु भएको हो। बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

यस घटनाले दुर्गम क्षेत्रमा सुत्केरी सेवाका लागि आवश्यक विशेषज्ञ जनशक्ति, आपत्कालीन शल्यक्रिया सुविधा तथा समयमै उपचार पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।

सुत्केरीको अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं रिफर

0

बुर्तिबाङ साउन २२ – बागलुङको निसीखोला गाउँपालिका–३ धाराखर्क निवासी ३९ वर्षीया मिना सुनारको सुत्केरीपछि स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं रिफर गरिएको छ।

सुनारले हिजो बिहान करिब ७ बजे बोहोरा गाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिएकी थिइन्। सुत्केरी भएपछि सुरुमा स्वास्थ्य अवस्था सामान्य देखिए पनि राति अचानक अवस्था जटिल बन्दै गएको थियो। परीक्षणका क्रममा उनको शरीरभित्र अत्यधिक रक्तस्राव (इन्टरनल ब्लिडिङ) भई रगत जमेको पाइएको स्वास्थ्यकर्मीले बताएका छन्।

सुत्केरीको अवस्था थप जटिल बन्दै जान थालेपछि आज बिहान करिब ७ बजे उनलाई थप उपचारका लागि जटिल अवस्थामा बुर्तिबाङ अस्पताल ल्याइए पनि अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक, शल्यक्रियाका लागि आवश्यक उपकरण तथा जनशक्तिको अभावका कारण थप  उपचार सम्भव नभएको अस्पतालले जनाएको छ।

बुर्तिबाङ अस्पतालका प्रमुख डा. अविनाश पोख्रेलका अनुसार बिरामीको अवस्था निकै जटिल भएकाले तत्काल विशेषज्ञ उपचार आवश्यक परेको थियो। अस्पतालमा यस्ता जटिल शल्यक्रिया गर्न आवश्यक जनशक्ति र उपकरण उपलब्ध नभएकाले रिफर गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो।

डा. पोख्रेलका अनुसार अस्पतालका डा. सागरसहित स्वास्थ्यकर्मीको निगरानीमा आज बिहान करिब पौने १२ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौंस्थित विशेषज्ञ अस्पतालमा थप उपचारका लागि पठाइएको हो।

ढोरपाटनमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै १४ हजारले बढ्यो आगन्तुक संख्या

0
  • छविलाल पाण्डे ढोरपाटन
  • बुर्तिबाङ, बागलुङ ।

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या वर्षेनि उल्लेख्य रूपमा बढ्दै गएको छ। ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ३७ हजार ५२० जना पर्यटकले ढोरपाटन भ्रमण गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४ हजारले बढी हो।

आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २३ हजार ६९२ पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा पर्यटक संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै ३७ हजार ५२० पुगेको हो।

कार्यालयको तथ्याङ्कअनुसार गत असार महिनामा मात्रै ६ हजार ३६७ स्वदेशी तथा विदेशी पर्यटक ढोरपाटन पुगेका छन्। वार्षिक रूपमा भ्रमण गर्नेहरूमध्ये ३७ हजार २७० नेपाली, ७१ सार्क राष्ट्रका नागरिक र १७९ अन्य विदेशी पर्यटक रहेका छन्।

यसअघि आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार ५७३ पर्यटक पुगेका थिए भने २०८१/०८२ मा त्यो संख्या बढेर २३ हजार ६९२ पुगेको थियो। यसले पछिल्ला दुई वर्षमा ढोरपाटनमा पर्यटक आगमन निरन्तर बढिरहेको देखाएको छ।

  • आर्थिक वर्ष २०८२/०८३ मा कुल पर्यटक: ३७,५२०
  • आर्थिक वर्ष २०८१/०८२ को तुलनामा वृद्धि: १३,८२८ (करिब १४ हजार)
  • आर्थिक वर्ष २०८०/०८१ को तुलनामा दुई वर्षमै वृद्धि: २१,९४७ पर्यटक
  • गत असार महिनामा मात्रै भ्रमण गर्ने पर्यटक: ६,३६७ जना

पर्यटक संख्या बढेसँगै राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षमा मात्रै प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व संकलन भएको आरक्ष कार्यालयले जनाएको छ। ढोरपाटन पुग्ने नेपाली पर्यटकले प्रति व्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ।

रेञ्जर सुवेदीका अनुसार ढोरपाटनको व्यापक प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विस्तार, बुकीपाटन, जलजला, निशेलढोर, ढोरबराह मन्दिर लगायतका गन्तव्यको लोकप्रियता तथा पदयात्रा संस्कृतिको विकासले पर्यटक आकर्षण बढाएको हो।

पहिले विदेशी पर्यटक मुख्यतः सिकार खेल्न आउने गरे पनि पछिल्लो समय ढोरपाटन उपत्यकाको प्राकृतिक सौन्दर्य, धार्मिक तथा पदयात्रा गन्तव्यको अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।

हाल ढोरपाटन उपत्यकामा करिब तीन दर्जन होटल तथा घरबास (होमस्टे) सञ्चालनमा रहेका छन्। पोखराबाट सिधै प्याकेजमार्फत पर्यटक ल्याउने व्यवस्था, आवास तथा यातायातको सहज पहुँचले भ्रमणलाई थप सहज बनाएको स्थानीय होटल व्यवसायीहरूको भनाइ छ।

समुद्री सतहबाट करिब २ हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि ४ हजार ३०० मिटरभन्दा माथिका बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्। प्राकृतिक सौन्दर्य, दुर्लभ वन्यजन्तु, मनोरम बुकी र धार्मिक तथा साहसिक पर्यटनको संयोजनले ढोरपाटन पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

यसबर्षदेखि बुर्तिबाङ हुँदै ढोरपाटन जाने २२ किलोमिटर सडक खण्ड ग्रावेलिङ हुँदा सडक सञ्जाल राम्रो बनेको छ । फल्लेघरदेखि देउराली सम्मको सडक खण्ड निर्माणको चरणमा रहेका कारण पहिरो खस्ने समस्याका कारण यात्रुलाई केहि असहज हुने गरेको हो ।

विगतको तुलनामा खाना, बस्न निकै सहज र राम्रो व्यवस्थापन हुँदै गइरहेको र ढोरपाटन सहित बुकिपाटन लगाएतका थुप्रै स्थानको रमणिय यात्रा गर्न पाउँदा निकै खुसि लागेको पोखराबाट आउनु भएका राम बहादुर पुनले बताउनु भयो ।

किसानको आय बढाउने वडिगाड–९ को नयाँ पहल, लैनो भैँसीदेखि सुत्केरी आमासम्म विशेष कार्यक्रम

0

कृषि उत्पादन, बजारीकरण र पोषण सुधारलाई प्राथमिकतामा राख्दै वडा कार्यालयको नमुना पहल

बागलुङ । बागलुङको वडिगाड गाउँपालिका–९ ले कृषकको आयआर्जन वृद्धि, कृषि उत्पादनको प्रवर्द्धन तथा पोषण सुधारलाई लक्षित गर्दै नयाँ नमुना अभियान सुरु गरेको छ। आइतबार कृषक, स्थानीय अगुवा तथा सरोकारवालाको सहभागितामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी ‘लैनो भैँसी तथा हलगोरु स्याहार र किसानको कोशेली–सुत्केरी दिदीबहिनी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कृष्णबहादुर के.सी. ले कृषकलाई व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित गर्दै आर्थिक रूपमा सबल बनाउने उद्देश्यले भैँसीपालन कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले दुध, दही, घिउ, मोही लगायत दुग्धजन्य उत्पादनमार्फत कृषकको आम्दानी बढाउने लक्ष्यसहित लैनो भैँसी र हलगोरु स्याहार कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो।

वडाले लैनो भैँसी र हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउनुका साथै पशु बीमा कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ। गाउँमा डेरी आमा समूह गठन गरी कार्यक्रमलाई प्रभावकारी बनाइएको छ।

चालु आर्थिक वर्षभित्र वडामा १५० वटा लैनो भैँसी पालन गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि प्रति कृषक ७ महिनासम्म मासिक दुई लिटरका दरले घिउ डेरी समूहमार्फत खरिद गरिने व्यवस्था गरिएको छ। वडाभर २,१०० लिटर घिउ संकलन हुँदा किसानले करिब ३१ लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ।

यस्तै, वडामा हाल ५५ परिवार हलगोरु पालनमा संलग्न रहेका छन्। उनीहरूलाई थप व्यावसायिक बनाउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै वडाले गाउँमै उत्पादन हुने कुखुरा, अण्डा र घिउ सुत्केरी आमालाई घरमै पुगेर करिब ४ हजार रुपैयाँ बराबरको पोषिलो कोशेली उपलब्ध गराउँदै आएको छ। यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै सुत्केरी आमाको पोषण सुधारमा सहयोग पुग्ने विश्वास लिइएको छ।

वडाले बेसार, खुर्सानी, सिमी लगायतका कृषि उत्पादनमा आत्मनिर्भर बन्दै बजारीकरणको चरणमा प्रवेश गरेको जनाएको छ।

कार्यक्रममा सहभागी स्थानीयवासीले किसानमैत्री कार्यक्रमको खुलेर प्रशंसा गर्दै स्थानीय सरकारले कृषकको आवश्यकता पहिचान गरी कृषि उपजको बजारीकरण र आर्थिक सशक्तीकरणमा खेलेको भूमिकालाई सकारात्मक कदमका रूपमा लिएका छन्।

कार्यक्रममा स्थानीय अगुवा प्रताप कुँवर, निवर्तमान वडा अध्यक्ष कृष्णबहादुर खत्री, पत्रकार छविलाल पाण्डे, पत्रकार कमल पौडेल, मालारानी युवा क्लबका अध्यक्ष रमेश मल्ल, दर्लिङ स्वास्थ्य चौकी प्रमुख विमला खत्री, वडिगाड गाउँपालिका पशुपन्छी विकास शाखा प्रमुख डा. आशुतोष अधिकारी, राखीचौर टोल विकास संस्थाका अध्यक्ष तथा नमुना कृषक कुस्मा घर्ती, अगुवा कृषक बलबहादुर छन्त्याल, टेकबहादुर बुढाथोकीक्याप्टेन ध्रुव मल्ल लगायतले आफ्नो धारणा राख्नुभएको थियो।

सोही अवसरमा पोषण सहजकर्ता सृजना केसीलाई सम्मान गरिएको थियो भने टोल विकास समितिका पदाधिकारीलाई सरसफाइ सामग्री पनि वितरण गरिएको थियो।

कार्यक्रम वडा सचिव विष्णु प्रसाद अर्यालको स्वागत मन्तव्य तथा पशु विकास प्राविधिक महेस गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

ढोरपाटनको नवी गाउँमा सरसफाइ अभियान र वडा स्तरीय समीक्षा बैठक सम्पन्न

0

ढोरपाटन, बागलुङ, साउन २ 

ढोरपाटन नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र नवी गाउँमा दिगो पर्यटन प्रवर्द्धन परियोजना अन्तर्गत दुई दिने सचेतना, सरसफाइ तथा वडा स्तरीय समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बिवाईसी बागलुङको साझेदारीमा सञ्चालित कार्यक्रमले पर्यटन क्षेत्रको संरक्षण, वातावरणीय सचेतना र स्थानीय समुदायको सहभागिता अभिवृद्धिमा सकारात्मक सन्देश दिएको छ।

कार्यक्रमको पहिलो दिन साउन १ गते ढोरपाटन नगरपालिका–९ अन्तर्गत नवी गाउँ तथा नदीचौर आसपासका क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। स्थानीय युवा, महिला, सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न अभियानमार्फत पर्यटन क्षेत्रलाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउने सन्देश प्रवाह गरिएको थियो।

दोस्रो दिन साउन २ गते आयोजना गरिएको वडा स्तरीय ‘प्रोजेक्ट फोरम’ (समीक्षा तथा छलफल) मा परियोजनाले हालसम्म सञ्चालन गरेका गतिविधि, प्राप्त उपलब्धि, सिकाइ, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।

फोरममा वडा नं. ८ का वडा अध्यक्ष भद्रमणी सुनार, वडा सचिव बिराज बिक, स्वास्थ्य इन्चार्ज दिपक थापा, स्थानीय शिक्षक, उद्यमी, समाजसेवी, युवा, महिला तथा बालबालिकाको सक्रिय सहभागिता रहेको थियो। छलफलका क्रममा ढोरपाटन क्षेत्रको दिगो फोहोर व्यवस्थापन, पर्यटनमैत्री व्यवहार, स्थानीय उद्यमशीलता विकास तथा होमस्टे व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा बिवाईसी बागलुङका उद्यम विकास अधिकृत टेकबहादुर बिकले परियोजनाको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो भने सामाजिक परिचालन अधिकृत ओम श्रीपालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय समुदायमा वातावरण संरक्षण, दिगो पर्यटन विकास र जिम्मेवार पर्यटन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

आज र भोलि २३ जिल्लामा बाढीको उच्च जोखिम, राति गाडी नचलाउन चेतावनी

0

२ साउन,

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा उच्च वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • अति भारी वर्षाका कारण २३ जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले रातिको समयमा सवारी साधन सञ्चालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ।
  • जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै भारी वर्षाबाट हुने डुबान र कटान जस्ता जोखिमबाट जोगिन पूर्वतयारी गर्न आह्वान गरेको छ।

तमानखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ का प्रमुख उपलब्धि 

0

सेवा प्रवाह, विकास निर्माण र विषयगत शाखाको प्रगति (बुँदागत विवरण)

 प्रशासन तथा योजना शाखा

  • रु. ३३ लाख ४५ हजार ७८ रुपैयाँ ७५ पैसा राजस्व संकलन।
  • वडा नं. १–६ तथा गाउँपालिका कार्यालयबाट नियमित राजस्व संकलन।
  • १६ नयाँ व्यवसाय दर्ता तथा ६२ व्यवसाय नवीकरण
  • १२ नयाँ संस्था दर्ता तथा १४ संस्था नवीकरण
  • प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका १४ स्थायी कर्मचारी नियुक्ति
  • ९ रिक्त पदमा करार कर्मचारी पदपूर्ति।
  • संगठन तथा व्यवस्थापन (O&M Survey) सम्पन्न तथा गाउँसभाबाट स्वीकृत।
  • जनप्रतिनिधि तथा कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन।
  • २४ स्थायी कर्मचारीको PIS दर्ता
  • नीति, योजना, कार्यक्रम तथा बजेटको GESI परीक्षण सम्पन्न
  • गाउँपालिकाका ६ स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न।
  • मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम तथा न्यायिक समितिको इजलास व्यवस्थापन सुदृढ।
  • भू–उपयोग क्षेत्र वर्गीकरण कार्य सम्पन्न।

 योजना तथा अनुगमन

  • चालु आर्थिक वर्षमा १३९ योजना सञ्चालन
  • ९ ठेक्का योजना (७ सम्पन्न, १ निर्माणाधीन, १ सम्झौता अन्त्य)।
  • १५ कोटेसन योजना सबै सम्पन्न।
  • ११५ उपभोक्ता समिति योजना (१०६ सम्पन्न, ८ सम्झौता नभएका, १ फिर्ता)।
  • ५ लाखभन्दा कम लागतका योजना वडा स्तरबाट तथा बढी लागतका योजना गाउँपालिका स्तरबाट नियमित अनुगमन।
  • बोङ्गादोभान–बोगालबानी–बोरापाट सडकको DPR तयार।

पूर्वाधार विकास

  • १०,५३३ मिटर नयाँ सडक ट्र्याक निर्माण।
  • ७,६६३.२७ मिटर सडक स्तरोन्नति
  • ५६१ मिटर नाली निर्माण
  • ६ वटा कल्भर्ट निर्माण
  • बोङ्गादोभान–बोगालबानी–बोरापाट सडकमा ढलान, पक्की नालीसहित स्तरोन्नति जारी।
  • गाउँपालिका प्रशासनिक भवन तथा वडा नं. ३ र ६ का वडा कार्यालय भवन निर्माण सम्पन्न।
  • वडा नं. १ स्थित जनता माविको ४ कोठे भवन र शौचालय निर्माण
  • ७६ धारा तथा ५ खानेपानी ट्याङ्की निर्माण
  • ४ सार्वजनिक ट्रस तथा भवन निर्माण
  • २ भवन मर्मत
  • ११ विद्यालयमा मर्मत तथा व्यवस्थापन कार्य सम्पन्न।

 शिक्षा, युवा तथा खेलकुद शाखा

  • तमानखोला गाउँपालिका कप अन्तर्गत ५ खेल विधाका प्रतियोगिता सम्पन्न।
  • १७ विद्यालयका ३२५ खेलाडी सहभागी।
  • शिक्षकका लागि २ दिने EMIS तालिम
  • ५ विद्यालयका ३०३ विद्यार्थीबीच अतिरिक्त क्रियाकलाप
  • १ जनालाई उच्च शिक्षा छात्रवृत्ति
  • ६५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
  • स्थानीय पाठ्यपुस्तक परिमार्जन तथा वितरण।
  • सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र बालविकास सहजकर्तालाई शिक्षक झोला, विद्यार्थीलाई होमवर्क डायरी वितरण।
  • विद्यालयमा प्रोजेक्टर, ल्यापटप, स्मार्ट बोर्ड, डेस्कटप कम्प्युटर वितरण।
  • आधारभूत विद्यालयमा इन्टरनेट जडान गरी प्रविधिमैत्री शिक्षा प्रवर्द्धन।

 महिला, बालबालिका तथा समाजकल्याण शाखा

  • १० महिलालाई तरकारी खेती तालिम तथा बीउ वितरण।
  • १० महिलालाई ३० दिने बुटिक तालिम तथा मेसिन वितरण।
  • १० महिलालाई ३५ दिने सिलाइ–कटाइ तालिम, ५ जनालाई सिलाइ मेसिन।
  • १८ एकल महिलालाई १८ वटा बाख्रा वितरण।
  • अपाङ्गता भएका व्यक्तिका लागि १५ दिने मुढा बनाउने तालिम
  • १०९ ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण तथा पौष्टिक आहार वितरण।
  • १३ आमा समूहलाई सम्मान
  • ६ नयाँ अपाङ्गता परिचयपत्र वितरण (कुल ७६ जना)।
  • लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान
  • दलित तथा आदिवासी जनजाति सशक्तीकरण कार्यक्रम सञ्चालन।

स्वास्थ्य शाखा

  • तमानखोला आधारभूत अस्पतालमा डिजिटल एक्स–रे सेवा सञ्चालन।
  • गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
  • स्वास्थ्य शिविर तथा नसर्ने रोग स्क्रिनिङ कार्यक्रम सञ्चालन।

 पशु सेवा शाखा

  • २३ पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान
  • डेरी उद्योग प्रवर्द्धनका लागि आवश्यक सामग्रीमा अनुदान।
  • ३ कृषि तथा पशुपालन फार्मलाई गाई/भैँसी प्रवर्द्धन अनुदान
  • १०,५४४ पशुमा विभिन्न रोगविरुद्ध खोप

 कृषि विकास शाखा

  • माटो परीक्षण प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरिद।
  • ५०% अनुदानमा ५ कृषि फर्मलाई कम्बाइन मिल
  • वडा नं. ६ मा १ मिनी टिलर तथा १,७७६ मिटर पाइप वितरण।
  • वडा नं. ४ मा प्रमाणित आलुको बीउ वितरण।
  • तरकारी बालीमा रोग नियन्त्रणसम्बन्धी प्रदर्शन कार्यक्रम।
  • कृषकलाई मौसमी तथा बेमौसमी तरकारी खेती तालिम तथा बीउबिजन वितरण।
  • ४ कृषक समूह गठन, ८८ सदस्यलाई जैविक खेती तालिम।
  • २ व्यावसायिक कृषक र ६ कृषि फर्मलाई ५०% अनुदान

 रोजगार शाखा

  • वैदेशिक रोजगारीबाट फर्किएका १८ जनालाई च्याउ खेती तालिम
  • रोजगार संवाद मञ्चमार्फत ३५ जनाको श्रम स्वीकृति
  • १७ रोजगार योजना सम्पन्न
  • २८ करार कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
  • १८ स्थानमा करिब ५०० जनालाई सुरक्षित वैदेशिक रोजगार अभिमुखीकरण
  • फर्किएका २० जनालाई पुनः अभिमुखीकरण

 सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा

  • सबै वडामा Biometric Verification सम्पन्न।
  • रु. ७ करोड २१ लाख ३८ हजार २६१ सामाजिक सुरक्षा भत्ता वितरण।
  • जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्धविच्छेदका ५५७ घटना दर्ता
  • ४०४ वटा घटना दर्ता प्रतिलिपि जारी।

तमानखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सामाजिक सुरक्षा तथा सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

तमानखोलामा आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न, नागरिकका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता

0

तमानखोला असार ३० — बागलुङको तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। गाउँपालिकाको वडा नम्बर ४ लाम्मेलामा आयोजित कार्यक्रममा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।

गाउँपालिका कार्यालय, वडा कार्यालय तथा विषयगत शाखाबाट प्रवाह भइरहेका सेवा, सुशासन, विकास निर्माण र सेवाको गुणस्तरबारे नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सुझाव, गुनासा र जिज्ञासा संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा पालिकाले चालु आर्थिक वर्षमा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा आगामी योजनाबारे जानकारी गराउँदै नागरिकबाट उठाइएका प्रश्न र गुनासाको जवाफसमेत दिइएको थियो।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासीले जीर्ण सडकको तत्काल मर्मत गर्नुपर्ने, उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा बढ्दो महँगी, भौगोलिक विकटता र ढुवानी दूरीलाई आधार मानेर लागत अनुमान तयार गर्नुपर्ने माग गरेका थिए। त्यसैगरी कृषि तथा पशुपालन क्षेत्रमा पर्याप्त बीउ, मल, विषादी र औषधिको व्यवस्था गर्नुपर्ने तथा लघु उद्यमसँग सम्बन्धित सीप विकास तालिमसँगै उत्पादित वस्तुको बजारीकरणमा गाउँपालिकाले थप सहयोग गर्नुपर्ने सुझाव दिएका थिए।

नागरिकबाट प्राप्त सुझाव र जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, इन्जिनियर सुरेश घिमिरे, शिक्षा तथा उद्योग–पर्यटन शाखा प्रमुख प्रतिभा भण्डारी, कृषि शाखा प्रमुख माधवी शर्मा, स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्याल, पशु शाखा प्रमुख तुलाराम आचार्य तथा वडा तहका प्राविधिकहरूले दिएका थिए।

कार्यक्रममा स्थानीयवासी उदिमबहादुर छन्त्याल, मनकुमारी गोतामे, खड्गबहादुर हर्मेल, दिलबहादुर छन्त्याल, जुद्धबहादुर सिर्पाली, तिलक श्रीपाली, तेजेन्द्र श्रीपाली, चन्द्रबहादुर कामीलगायतले आफ्ना प्रश्न, जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत अमित परियारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट, कार्यक्रम, सम्पन्न योजनाहरू तथा वित्तीय प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा उपाध्यक्ष हिरा कुमारी छन्त्यालले स्वागत मन्तव्य राखेकी थिइन् भने पत्रकार कमल पौडेलले नागरिक अभिमत, बहिर्गमन अभिमत तथा कार्यक्रममाथि टिप्पणी प्रस्तुत गरेका थिए। सामुदायिक रेडियो ढोरपाटनको सहजीकरणमा सञ्चालित कार्यक्रमको सञ्चालन पत्रकार छविलाल पाण्डेले गरेका थिए।

कार्यक्रममा गाउँपालिका नेतृत्वले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव र गुनासालाई आगामी योजना तथा सेवा प्रवाहमा समेट्दै नागरिकमैत्री, पारदर्शी र प्रभावकारी स्थानीय शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।