- छविलाल पाण्डे ढोरपाटन
- बुर्तिबाङ, बागलुङ ।
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या वर्षेनि उल्लेख्य रूपमा बढ्दै गएको छ। ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ३७ हजार ५२० जना पर्यटकले ढोरपाटन भ्रमण गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४ हजारले बढी हो।
आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २३ हजार ६९२ पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा पर्यटक संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै ३७ हजार ५२० पुगेको हो।
कार्यालयको तथ्याङ्कअनुसार गत असार महिनामा मात्रै ६ हजार ३६७ स्वदेशी तथा विदेशी पर्यटक ढोरपाटन पुगेका छन्। वार्षिक रूपमा भ्रमण गर्नेहरूमध्ये ३७ हजार २७० नेपाली, ७१ सार्क राष्ट्रका नागरिक र १७९ अन्य विदेशी पर्यटक रहेका छन्।
यसअघि आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार ५७३ पर्यटक पुगेका थिए भने २०८१/०८२ मा त्यो संख्या बढेर २३ हजार ६९२ पुगेको थियो। यसले पछिल्ला दुई वर्षमा ढोरपाटनमा पर्यटक आगमन निरन्तर बढिरहेको देखाएको छ।

- आर्थिक वर्ष २०८२/०८३ मा कुल पर्यटक: ३७,५२०
- आर्थिक वर्ष २०८१/०८२ को तुलनामा वृद्धि: १३,८२८ (करिब १४ हजार)
- आर्थिक वर्ष २०८०/०८१ को तुलनामा दुई वर्षमै वृद्धि: २१,९४७ पर्यटक
- गत असार महिनामा मात्रै भ्रमण गर्ने पर्यटक: ६,३६७ जना
पर्यटक संख्या बढेसँगै राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षमा मात्रै प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व संकलन भएको आरक्ष कार्यालयले जनाएको छ। ढोरपाटन पुग्ने नेपाली पर्यटकले प्रति व्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ।
रेञ्जर सुवेदीका अनुसार ढोरपाटनको व्यापक प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विस्तार, बुकीपाटन, जलजला, निशेलढोर, ढोरबराह मन्दिर लगायतका गन्तव्यको लोकप्रियता तथा पदयात्रा संस्कृतिको विकासले पर्यटक आकर्षण बढाएको हो।
पहिले विदेशी पर्यटक मुख्यतः सिकार खेल्न आउने गरे पनि पछिल्लो समय ढोरपाटन उपत्यकाको प्राकृतिक सौन्दर्य, धार्मिक तथा पदयात्रा गन्तव्यको अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।
हाल ढोरपाटन उपत्यकामा करिब तीन दर्जन होटल तथा घरबास (होमस्टे) सञ्चालनमा रहेका छन्। पोखराबाट सिधै प्याकेजमार्फत पर्यटक ल्याउने व्यवस्था, आवास तथा यातायातको सहज पहुँचले भ्रमणलाई थप सहज बनाएको स्थानीय होटल व्यवसायीहरूको भनाइ छ।
समुद्री सतहबाट करिब २ हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि ४ हजार ३०० मिटरभन्दा माथिका बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्। प्राकृतिक सौन्दर्य, दुर्लभ वन्यजन्तु, मनोरम बुकी र धार्मिक तथा साहसिक पर्यटनको संयोजनले ढोरपाटन पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
यसबर्षदेखि बुर्तिबाङ हुँदै ढोरपाटन जाने २२ किलोमिटर सडक खण्ड ग्रावेलिङ हुँदा सडक सञ्जाल राम्रो बनेको छ । फल्लेघरदेखि देउराली सम्मको सडक खण्ड निर्माणको चरणमा रहेका कारण पहिरो खस्ने समस्याका कारण यात्रुलाई केहि असहज हुने गरेको हो ।
विगतको तुलनामा खाना, बस्न निकै सहज र राम्रो व्यवस्थापन हुँदै गइरहेको र ढोरपाटन सहित बुकिपाटन लगाएतका थुप्रै स्थानको रमणिय यात्रा गर्न पाउँदा निकै खुसि लागेको पोखराबाट आउनु भएका राम बहादुर पुनले बताउनु भयो ।

















