Home Blog Page 2

ढोरपाटनमा नगरस्तरीय बाल क्लब नेटवर्क गठन, करिना भण्डारी अध्यक्ष चयन

0

ढोरपाटन नगरपालिकामा नगरस्तरीय बाल क्लब नेटवर्क गठन गरिएको छ। टिडिएच जर्मनको आर्थिक सहयोग तथा बिवाइसी बागलुङको विकास साझेदारीमा सञ्चालित ‘दिगो पर्यटन प्रवर्द्धन परियोजना’ अन्तर्गत करिना भण्डारीको अध्यक्षतामा १७ सदस्यीय ढोरपाटन नगरपालिका स्तरीय बाल क्लब नेटवर्क गठन गरिएको हो।

नवगठित समितिको उपाध्यक्षमा यमुना बिक, सचिवमा दिपिका रसाइली, सहसचिवमा बिक्की बेस छन्त्याल तथा कोषाध्यक्षमा अमिशा बिक चयन हुनुभएको छ। समितिका अन्य सदस्यहरूमा नगरभित्रका विभिन्न विद्यालय तथा बाल क्लबका प्रतिनिधिहरू रहेका छन्।

नवनिर्वाचित नेटवर्कले बाल अधिकारको संरक्षण र प्रवर्द्धन, बालमैत्री व्यवहार तथा वातावरण निर्माण, समाजमा विद्यमान बालविवाह, छुवाछुत, लैङ्गिक विभेद लगायतका सामाजिक कुरीतिहरूको अन्त्यका लागि सचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। साथै वातावरण संरक्षण, दिगो पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायमा सकारात्मक परिवर्तनका लागि बालबालिकाको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका सुनिश्चित गर्दै अघि बढ्ने जनाएको छ।

कार्यक्रममा दिगो पर्यटन प्रवर्द्धन परियोजनाका कार्यक्रम निर्देशक उत्तम अर्याल, अनुगमन तथा मूल्याङ्कन अधिकृत विष्णु पौडेल, उद्यम विकास अधिकृत टेकबहादुर विक लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण सामाजिक परिचालन अधिकृत ओम शिर्पालीले गर्नुभएको थियो। उहाँका अनुसार बालबालिकाको क्षमता अभिवृद्धि गर्दै उनीहरूको नेतृत्व विकास, अधिकारको सुनिश्चितता तथा सामाजिक रूपान्तरणमा सक्रिय सहभागिता बढाउने उद्देश्यले नगरस्तरीय बाल क्लब नेटवर्क गठन गरिएको हो।

घरको गारो भत्किँदा ढोरपाटनमा ५ वर्षीय बालकको मृत्यु

0

बागलुङ, साउन २८ — बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको गारो भत्किँदा च्यापिएर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा वडिगाड गाउँपालिका–५ घर भई हाल मावली घर सलामकोटमा बस्दै आएका ५ वर्षीय आषिस भण्डारी रहेका छन्।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार आइतबार बिहान करिब ११ बजेतिर घरको पिँडीमा खेलिरहेका बेला इटाले लगाइएको पिँडीको गारो एक्कासी भत्किएर बालकमाथि खसेको थियो। गारोले च्यापिँदा उनी गम्भीर घाइते भएका थिए।

घटनापछि तत्काल उपचारका लागि बुर्तिबाङ अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।

वनफूलले ढाकिएको ढोरपाटनमा पर्यटकको आकर्षण बढ्दो

0

 

बागलुङको ढोरपाटन उपत्यका यतिबेला विभिन्न रङका वनफूलले ढाकिएपछि आन्तरिक पर्यटकको प्रमुख आकर्षण बनेको छ।

राता, पहेँला, गुलाबी र बैजनी रङका फूलले सिँगारिएको ढोरपाटन उपत्यका बर्खायाममा अझ मनमोहक देखिएको छ। चारैतिर अग्ला पहाडले घेरिएको यस उपत्यकामा प्राकृतिक सौन्दर्य अवलोकन गर्न दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।

होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार विगत केही वर्षयता सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत ढोरपाटनको व्यापक प्रचारप्रसार भएपछि पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको हो। यससँगै स्थानीय होटल तथा पर्यटन व्यवसाय पनि फस्टाउन थालेको उहाँले बताउनुभयो।

स्थानीयले राके फूल भनेर चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफुली, बुकीफूल र मदानेफूललगायतका नामले चिनाउने गरेको छ। उपत्यकाभरि फुलेका यी वनफूलले पर्यटकलाई लोभ्याइरहेका छन्।

काठमाडौँ, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन र दाङलगायतका विभिन्न जिल्लाबाट पर्यटक ढोरपाटन पुगिरहेका छन्। चितवनको माडीबाट आएका महेश थापाले सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियोले आकर्षित भएर १३ जनाको समूहसहित ढोरपाटन आएको बताउनुभयो। दाङको तुल्सीपुरबाट आएका कुलेन्द्र पनेरुले ढोरपाटनको प्राकृतिक सौन्दर्य र चिसो मौसमले आफू निकै प्रभावित भएको प्रतिक्रिया दिनुभयो।

यद्यपि, बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडकमध्ये फल्लेघरभन्दा माथिको सडक जीर्ण हुँदा यात्रामा कठिनाइ हुने गरेको पर्यटकको गुनासो छ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कालोपत्रको तयारीस्वरूप सडक फराकिलो बनाउने काम भइरहेको र हिलाम्मे भएका स्थानमा गेग्रेटा हालेर यात्रालाई सहज बनाइने जानकारी दिनुभयो।

वनफूलले ढाकिएको ढोरपाटनको सौन्दर्यले बर्खायाममै पर्यटकको चहलपहल बढ्दै गएको स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ।

महिलामैत्री शासन र सेवा प्रवाहबारे वडिगाडमा सरोकारवालासँग अन्तरक्रिया

0

बागलुङ, २२ असार। वडिगाड गाउँपालिकाको आयोजनामा महिलामैत्री शासन तथा सेवा प्रवाह सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ।

महिलालाई नेतृत्व तहमा थप सशक्त बनाउने, गाउँपालिकाभित्र महिलामैत्री शासनको अवस्था समीक्षा गर्ने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्यानल छलफलसँगै महिला अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

प्यानल छलफलको सहजीकरण नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य तथा सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेले गर्नुभएको थियो। छलफलमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख तिलक मानन्धर तथा अधिवक्ता लक्ष्मी जिसी कार्कीले वक्ताका रूपमा आफ्ना धारणा राख्नुभएको थियो।

स्थानीय महिलाको सक्रिय सहभागिता रहेको कार्यक्रममा वडिगाड गाउँपालिकाबाट प्रवाह हुने सेवामा महिलामैत्री शासनको अवस्था, महिला नेतृत्वको वर्तमान स्थिति, लैङ्गिक हिंसाको अवस्था, कानुनी प्रक्रिया, सेवा सुधारका पक्ष तथा आगामी रणनीति र कार्यक्रमबारे खुला छलफल तथा बहस गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा अधिवक्ता लक्ष्मी जिसी कार्की र लक्ष्मी वास्कोटाले महिलाको अधिकार, नेतृत्व विकास तथा कानुनी सचेतनासम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापाले यस्ता कार्यक्रमले महिलाको नेतृत्व क्षमता अभिवृद्धि, जिम्मेवारीबोध, महिलामैत्री शासन प्रणालीको विकास, सेवा प्रवाहमा सुधार तथा समग्र समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमशेन वन, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

निसीखोलाको ८ रोपनी क्षेत्रबाट करिब ८ हजार गाँजाका बोट नष्ट

0

निसीखोलामा ८ रोपनी क्षेत्रफलमा फैलिएका ८ हजार गाँजाका बोट प्रहरीद्वारा नष्ट

बागलुङ, असार २२। बागलुङको निसीखोला गाउँपालिकामा अवैध रूपमा उम्रिएका तथा खेती गरिएका करिब ८ हजार गाँजाका बोट प्रहरीले नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङको सक्रियतामा खटिएको संयुक्त प्रहरी टोलीले निसीखोला गाउँपालिका–६ का भरबाङ र सिर्वाङ क्षेत्रमा सार्वजनिक तथा व्यक्तिगत जग्गामा रहेका गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो।

प्रहरीका अनुसार करिब ८ रोपनी क्षेत्रफलमा फैलिएका प्राकृतिक रूपमा उम्रिएका तथा व्यावसायिक उद्देश्यले लगाइएका गरी करिब ८ हजार गाँजाका बोट नष्ट गरिएको हो।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) तिलक मानन्धरको नेतृत्वमा खटिएको टोलीले गाँजा फँडानी अभियान सञ्चालन गरेको जनाएको छ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको माथिल्लो भेग तथा छिमेकी ताराखोला गाउँपालिकाका केही क्षेत्रमा गाँजा प्राकृतिक रूपमा उम्रिने तथा कतिपय स्थानमा  खेती गर्ने गरिएको पाइन्छ। स्थानीयस्तरमा  (भाङको चटनी)  परम्परागत खानाका रूपमा प्रयोग हुने भए पनि गाँजाको अवैध उत्पादन, ओसारपसार तथा लागुऔषधजन्य प्रयोग नियन्त्रण गर्न प्रहरीले प्रत्येक वर्ष गाँजा फँडानी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

 लागु औषध दुव्र्यसनी तथा ओसार पसार रोक्न सचेतना मूलक कार्यक्रम गर्दे आएको प्रहरी निरीक्षक मानन्धरले बताउनु भयो ।

 

चौरीखर्कमा बुकीफूल र बादलको लुकामारी, मन लोभ्याउने प्राकृतिक दृश्य

0

पुथा उत्तरगंगा गाउँपालिका–११ र भूमे गाउँपालिका–१ को संगमस्थलमा पर्छ, चौरीखर्क । केही वर्षअघिसम्म गोठाला, भेडीगोट र चौँरी चराउनेहरूबाहेक यहाँ खासै चहलपहल हुँदैन थियो ।

बुकीफूलले ढाकिएका विशाल लेक, छिनछिनमै बदलिने बादल, नीलो आकाश र उत्तरतर्फ उभिएका हिमशृंखलाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ ।

यही प्राकृतिक सौन्दर्य सामाजिक सञ्जालमा चर्चित बनेपछि अहिले यहाँ पर्यटकको भिड लाग्न थालेको छ । समुद्री सतहदेखि करिब ४ हजार ३ सय मिटरभन्दा बढी उचाइमा चौरीखर्क अवस्थित छ ।

यो लेकमा अहिले दैनिक दुई हजारसम्म आन्तरिक तथा केही विदेशी पर्यटक पुग्ने गरेको स्थानीयहरू बताउँछन् ।

अहिले यहाँ पर्यटकहरू क्यामेरा बोकेर पुग्छन् । विशेषगरी बुकीफूल फुल्ने मौसममा चौरीखर्कको दृश्य कैद गर्नै पर्यटकहरू पुग्ने गर्छन् ।

 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–रुकुमपूर्व जोड्ने पातीहाल्नेसम्म सडक विस्तार भएपछि चौरीखर्क पुग्न सहज भएको छ । पातीहाल्नेदेखि करिब एक घण्टा सवारी यात्रा र त्यसपछि करिब दुई घण्टाको पैदल यात्रापछि पर्यटकहरू चौरीखर्क पुग्छन् ।

बागलुङबाट घुम्न पुगेकी सीता पुन भन्छिन्, ‘यहाँ आएपछि शब्दले बयान गर्न नसकिने प्राकृतिक सौन्दर्य देख्यौँ । बुकीफूल, हिमाल र बादलको दृश्य साँच्चै अविस्मरणीय रहेछ ।’

यस्तै गुल्मीकी ज्योती मगरले सामाजिक सञ्जालमा भिडियो हेरेपछि चौरीखर्क पुगेको सुनाइन् । ‘प्रत्यक्ष देख्दा त भिडियोभन्दा पनि धेरै सुन्दर लाग्यो । यस्तो ठाउँको प्रचार अझ व्यापक हुनुपर्छ,’ उनले भनिन् ।

बुर्तिबाङ क्षेत्रमा लायन्स क्लबको नयाँ नेतृत्व चयन, ढोरपाटनमा हेमेन्द्र घर्ति, बुर्तिबाङमा मनकुमारी कुँवर र निसीखोलामा अशोक कार्की अध्यक्ष

0

लायन वर्ष २०२६–२०२७ का लागि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के अन्तर्गत ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा रहेका तीनवटा लायन्स क्लबले नयाँ नेतृत्व चयन गरेका छन्।

सामाजिक सेवालाई मुख्य उद्देश्य बनाएर स्थापना भएका क्लबमध्ये लायन्स क्लब अफ ढोरपाटनको अध्यक्षमा हेमेन्द्र घर्ति चयन हुनुभएको छ। सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका घर्ति २०७४ सालको स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिका–३ का वडा अध्यक्षमा निर्वाचित भई सेवा गरिसक्नुभएको व्यक्ति हुनुहुन्छ। उहाँले लायन वर्ष २०२६–२०२७ मा क्लबलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धतासहित नेतृत्व सम्हाल्नुभएको हो। शुक्रबार आयोजित विशेष समारोहमा पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो। अघिल्लो कार्यकालमा क्लबको नेतृत्व तेजेन्द्र खत्रीले गर्नुभएको थियो।

लायन्स क्लब अफ ढोरपाटनको प्रथम उपाध्यक्षमा मुक्तिनाथ लोहनी, द्वितीय उपाध्यक्षमा सुरेश थापा, तृतीय उपाध्यक्षमा राम खत्री, सचिवमा सरण पाण्डे तथा कोषाध्यक्षमा अर्जुन पाध्य चयन हुनुभएको छ।

यस्तै, लायन्स क्लब अफ निसीखोलामा अध्यक्ष अशोक कार्कीको नेतृत्वलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। क्लबले सामाजिक सेवा, विपद् व्यवस्थापन तथा समुदायमुखी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

त्यसैगरी लायन्स क्लब अफ बुर्तिबाङको अध्यक्षमा मनकुमारी कुँवर चयन हुनुभएको छ। क्लबको संस्थापक अध्यक्षका रूपमा लायन वर्ष २०२५–२०२६ मा शान्ती पौडेलले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो। क्लबले विपद् व्यवस्थापन, रोग तथा भोकमरी न्यूनीकरण, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण संरक्षण, खेलकुद प्रवर्द्धन लगायतका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ।

यसैबीच, तमानखोला गाउँपालिकामा यसै वर्ष लायन्स क्लब अफ तमान सोले स्थापना गरिएको जानकारी लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्तिले दिनुभयो।

शुक्रबार सम्पन्न पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रममा डिपार्टमेन्ट चिफ रामप्रसाद आचार्य, जनसम्पर्क अधिकृत (PRO) छविलाल पाण्डे, जोन चेयरपर्सन तेजेन्द्र खत्री, डिष्ट्रिक्ट चेयरपर्सन शान्ती पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक अदै लगायत विभिन्न व्यक्तित्वहरूको आतिथ्यता तथा शुभकामना मन्तव्य रहेको थियो।

स्वर्गीय टेक बहादुर गुरुङको परिवारलाई रु ३ लाख बढी आर्थिक सहयोग हस्तान्तरण ।

0

असार २० गते ।

गत जेठ १६ गते पाँचौ निसीखोला अध्यक्ष कपको मेला हेरेर फर्कनेक्रममा मृत अवस्थामा फेला परेका निसीखोला गाउँपालका वडा नं. १ हर्पे निवासी स्वर्गीय टेक बहादुर गुरुङको परिवारलाई शनिवार एक कार्यक्रमकाबिच रु ३ लाख २१ हजार ३ सय ९६ रुपैँया हस्तान्तरण गरिएको छ । निसीखोला गाउँपालिका–१, हर्पे निवासी ढाल बहादुर गुरुङको विशेष पहल र सोही स्थानका दिपक गुरुङको संयोजकत्वमा विभिन्न देश तथा विदेशमा रहेका सहयोगी मनका धनीले दिइएको रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । जसमा सहयोग उठेको रकम मध्ये मृतकको आमा वृद्धा अवस्थामा रहेका कारण रु २० हजार, मृतकको श्रीमती सिता गुरुङलाई घर खर्च सञ्चालका लागि १ लाख ५१ हजार ३ सय ९६ रुपैँया नगद र मृतकका तीनओटी छोरीको नाम रु १ लाख ५० हजार बाल बचत रहने गरी बैँकमा खाता खोलेर जम्मा गर्ने गरी उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

मृतकको परिवारको आर्थिक अवस्था एकदम नाजुक रहेको र घरमा वृद्ध आमा श्रीमती र तीनवटा साना छोरीहरु मात्र रहेको र घरपरिवारमा लागेको घाउमा थोरै भएतापनि मलमपट्टी होस् भन्ने उद्देश्यले आर्थिक सहयोग अभियान सञ्चालन गरिएको अभियानका पहलकर्ता ढाल बहादुर गुरुङले बताउनुभयो । ढाल बहादुर गुरुङको पहल र दिपक गुरुङको संयोजनमा उठेको रकम रु ३ लाख ३ सय ९६ र निसीखोला गाउँपालिका १ निवासी कर्ण बहादुर गुरुङको संयोजकत्वमा उठेको रु २१ हजार गरी जम्मा ३ लाख २१ हजार ३ सय ९६ रुपैँया रहेको हो । सम्पूर्ण सहयोगी मनप्रति मृतकको परिवारजनले हार्दिक आभार व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय बुद्धिजीवि, सयोगीदाता लगायतको सहभागिता रहेको थियो । स्मरण रहोस् टेक बहादुर गुरुङको मृत्यु के कारणले भयो भन्ने अझै सम्म पत्ता लागेको छैन ।

 

सहयोगी दाताहरुको नामावली :–

१.ओम ब. गुरुङ रु २०,००० बुर्तिबाङ हाल क्यानाडा
२. टेक ब. गुरुङ रु २०,००० निसिखोला १, हर्पे धुवाखोर
३.दिल सुनार रु १०,२८६ निसिखोला १ हाल (अस्ट्रेलिया)
४.बिक्रम गुरुङ रु १०,००० निसिखोला १ हाल (कोरिया )
५.सन्तोष परिवार रु १०,००० निसीखोला १, हाल युके
६.सपना बुढा मगर रु १०,००० निसिखोला १ हाल (अमेरिका)
७.हिमाल/कर्ण गुरुङ रु १०,००० निसिखोला १ हाल (कोर्सिया)
८. मदन/सीता गुरुङ रु १०,००० निसिखोला १ हाल( बुटवल )
९.हिरा ब. गुरुङ रु १०, ००० निसिखोला १ हाल ( दुबई )
१०.रेस्मा गुरुङ रु १०,००० निसिखोला १ हाल ( स्पेन)
११.पहलसिङ बिक रु ७,५०० निसिखोला १ हाल ( रोमनिया))
१२.तिका ब. गुरुङ रु ६५०० निसिखोला १ हाल ( कोरिया)
१३. दिबश गुरुङ रु ५००० निसिखोला १ हाल ( जापान)
१४. ललित गुरुङ रु ५००० निसिखोला १ हाल( मलेसिया )
१५.हिकमत गुरुङ रु ५००० निसिखोला १ हाल ( साउदी)
१६. वीर ब.गुरुङ रु ५००० निसिखोला १ हाल (कोरिया)
१७. हर्क ब. गुरुङ रु ५००० निसिखोला १ हाल (कोरिया)
१८. भबिन्द्र बिक रु ५००० निसिखोला १ हाल ( गिरिस)
१९. भाजबिर गुरुङ रु ५००० निसिखोला १ हाल( साउदी)
२०.भक्तलाल गुरुङ रु ५००० निसिखोला १ हाल ( बहराइन)
२१.राजन गुरुङ रु ५००० निसिखोला १ हाल (मलेसिया )
२२. टेक ब . गुरुङ रु ५००० हाल ( ईन्डिया )
२३.बिकास बुढा रु ५००० हर्पे
२४.सन्जु गुरुङ रु ५००० निसिखोला १ हाल ( कतार)
२५.बिराज गुरुङ रु ४००० निसिखोला १ हाल ( कतार )
२६. गिता थापा रु ४००० हाल( गोर्खा)
२७.भिमलाल मगर रु ३५५५ हाल (मलेसिया )
२८. कमल गुरुङ रु ३५०० निसिखोला १ हाल ( पोर्चुगल)
२९. लाल बहादुर रु ३५०० निसिखोला १ हाल (गिरिस)
३०. सन्तोष गुरुङ रु ३५०० निसिखोला १ हाल (माल्टा)
३१.लछुमन पर्तेल रु ३००० निसिखोला १ हाल (साउदी )
३२. भुमिराज गुरुङ रु ३००० निसिखोला १ हाल( कतार)
३३. पुस्पलान पुन रु ३००० निसिखोला १ हाल स्पेन
३४. लोकेद्र मल्ल रु ३००० “
३५.दिपक गुरुङ रु ३००० “
३६. दिपेन्द्र बुढा मगर रु ३००० “ तमानखोला १
३७. तेज घर्ती रु ३००० निसिखोला २
३८.तिलक मल्ल ठकुरी रु ३००० निसिखोला १ हर्पे
३९. कुम्बिर परियार रु ३००० हाल (साउदी)
४०.यम ब.गुरुङ रु ३००० हाल( कुबेत)
४१. देब गुरुङ रु ३००० हाल जापान
४२ रामु बिक ( उर्फ बाजे ) रु २५०० बुटवल
४३. दिवश भन्डारी रु २५०० ( हाल मलेसिया )
४४.ढाल ब. बुढा रु २५०० हाल ( कतार)
४५.मीन ब. गुरुङ रु २५०० हर्पे
४६.नारायण सिंह ठकुरी रु २०५५( हाल बुटवल )
४७. राम छेत्री रु २००० हाल ( स्पेन)
४८.लोचन पुर्जा मगर २००० हाल (स्पेन)
४९.कला गुरुङ रु २००० हाल ( काठमाडौ )
५०.केसर मगर रु २००० हाल जापन (स्याङ्जा )
५१.खिम ब. गुरुङ रु २००० बुर्तिबाङ
५२.शिव बिक रु २००० हर्पे
५३. राम हर्पे देविस्थान रु २०००
५४. मनोज के सि रु २००० बडिगाड गापा भिमगिठे हाल जापान
५५.राजन कुवँर रु २००० ढोरपाटन ३ हाल जापान
५६.यम ब. गुरुङ रु २००० हाल कतार
५७.बाबुराम के.सी. रु २०००
५८. पिर्थ मल्ल ठकुरी रु २००० निसीखोला १, हाल बुटवल
५९. बाबुराम परिवार २५०० हर्पे धुवाखोर
६०. अनु गुरुङ रु २००० हाल बुटवल
६१.बाबुराम कुवँर २००० हाल (इन्डिया )
६२.किरण् मल्ल रु १५०० देविस्थान
६३.रमेश गुरुङ रु १५०० हर्पे
६४.ढाल ब.गुरुङ रु १५०० हर्पे
६५.सुरज पौडेल रु १००० जैमुनी नगरपालिका हाल स्पेन
६६.गुन्जमान गुरुङ रु १००० हर्पे
६७.मेग्मार लेम गुरुङ ज्ञानु रु १००० देविस्थान
६८. स्याम परियार रु ५०० हर्पे
६९.रेसम परियार रु ५०० हर्पे
जम्मा ३ लाख ३ सय ९६ रुपैँया र

कर्ण बहादुर गुरुङको संयोजकत्वमा रहनुभएको सहयोगीदाताहरुः–
१. कर्ण बहादुर गुरुङ रु ५०००।–
२. पुर्ण बहादुर गुरुङ रु ५०००।–
३. गोपाल गुरुङ रु ५०००।–
४. मिन बहादुर गुरुङ रु २०००।–
५. जगनकाजी गुरुङ रु २०००।–
६. चिनकाजी गुरुङ रु २०००।– जम्मा २१ हजार र दुबै गरी ३ लाख २१ हजार ३ सय ९६ रुपैँया ।

तमानखोलामा एकल महिलालाई जीविकोपार्जनका लागि बाख्रा वितरण

0

बागलुङ, तमानखोला

तमानखोला गाउँपालिकाले एकल महिलाको आयआर्जन वृद्धि गर्ने उद्देश्यले जीविकोपार्जन कार्यक्रमअन्तर्गत १८ जना एकल महिलालाई ब्याउने बाख्रा वितरण गरेको छ।

गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालका अनुसार लक्षित वर्ग कार्यक्रमअन्तर्गत रु। २ लाख ५० हजारको लागतमा स्थानीय जातका ब्याउने बाख्रा खरिद गरी लाभग्राहीलाई हस्तान्तरण गरिएको हो। यस कार्यक्रमले एकल महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता बढाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उपाध्यक्ष छन्त्यालले गत वर्ष पनि एकल महिलाका लागि मौरीपालन सम्बन्धी तालिम, मौरीसहित घार वितरण तथा बाख्रापालन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको स्मरण गराउँदै यस्ता कार्यक्रमले महिलाको आर्थिक अवस्था सुधार्न सकारात्मक भूमिका खेलेको बताउनुभयो।

पशु विकास शाखाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा बाख्रापालन सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको थियो। प्रशिक्षणपछि लाभग्राही महिलालाई स्थानीय जातका ब्याउने बाख्रा वितरण गरिएको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अमित परियार , जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राही महिलाको सहभागिता रहेको थियो।

कार्यक्रमबाट लाभान्वित वडा नं। ५ की गौमाया विकले यस्ता कार्यक्रमले आफूजस्ता एकल महिलाको आर्थिक उपार्जनमा ठूलो राहत पुगेको बताउँदै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो।

ढोरपाटनमा घाँस काट्न जाँदा भिरबाट लडेर एक महिलाको मृत्यु

1

बुर्तिबाङ, असार १८। बागलुङको ढोरपाटन नगरपालिका–६ मा घाँस काट्न जाने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ७ बजे घर नजिकै रहेको छहरे खोला क्षेत्रतर्फ साथीसँगै घाँस काट्न गएकी २६ वर्षीया मनिषा श्रीपाली भिरबाट करिब ३० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको हो।

स्थानीय ओम श्रीपालीका अनुसार वर्षातका कारण बाटो चिप्लो भएकाले हिँड्ने क्रममा उहाँको खुट्टा चिप्लिएको थियो। लड्ने क्रममा ढुंगाले समेत च्यापिएपछि घटनास्थलमै ज्यान गएको उहाँले जानकारी दिनुभयो।

मृतकका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको र उहाँका ४ वर्षका एक सन्तान रहेको स्थानीयले बताएका छन्।

वर्षायाममा घाँस–दाउरा संकलन गर्न जाँदा जमिन गल्ने, बाटो चिप्लिने तथा भिरबाट ढुंगा खस्ने जोखिम उच्च हुने भएकाले सम्बन्धित निकाय तथा स्थानीयले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।