Home Blog Page 3

कर्मचारीको सम्पूर्ण सरुवा प्रक्रिया अब अनलाइनबाटै हुने

0

काठमाण्डौ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ ।

मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो । मन्त्रालयले सार्वजनिक सूचनामार्फत अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ । अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदन उपर कुनै कारबाही नहुने बेहोरा सूचनामा उल्लेख छ ।

अब सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने मन्त्रालयको उद्देश्य छ ।

लागुऔषध सेवन गरेको आरोपमा बुर्तिबाङमा चार सवारी चालक पक्राउ

0

बागलुङ

 लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन भइरहेको सचेतना अभियानका क्रममा बुर्तिबाङमा चार जना सवारी चालक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङले सप्ताहव्यापी रुपमा सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमअन्तर्गत खप्तरीबाङ तथा बजार आसपासका क्षेत्रमा गरिएको सवारी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार सवारी चालकहरुको लागुऔषध सेवन गरे/नगरेको परीक्षणका लागि गरिएको किट परीक्षणमा लागुऔषध प्रयोग गरेको देखिएपछि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको हो ।

पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ खुङ्गाका २७ वर्षीय पुरन घर्ती मगर (लु १ ज ३९४ नम्बरको पिकअप जिप चालक), ढोरपाटन–३ पुर्कोटका २० वर्षीय ईशाक आचार्य (ग १ ज ७५६ नम्बरको पिकअप जिप चालक), ढोरपाटन–५ का २७ वर्षीय यम प्रसाद विक (ग १ ज ७१९८ नम्बरको पिकअप जिप चालक) र तमानखोला गाउँपालिका–४ का २५ वर्षीय अर्जुन सिर्पाली (ध १ त २९१ नम्बरको ट्याक्टर चालक) रहेका छन् ।

प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदाय तथा विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम, ट्राफिक सचेतना र सवारी चालक लक्षित चेकजाँच अभियानलाई निरन्तरता दिइएको छ ।

तमानखोला गाउँपालिकाको बजेट ३३ करोड ६७ लाख, सडक पूर्वाधारदेखि कृषि र रोजगारमा प्राथमिकता

0

बुर्तिबाङ

 बागलुङको तमानखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३३ करोड ६७ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभाबाट सुखी, समान र समुन्नत तमान निर्माण गर्ने लक्ष्यसहित बजेट प्रस्तुत गरिएको हो ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले बुधबार उपाध्यक्ष हिरा कुमारी छन्त्यालमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले कुल ३३ करोड ६७ लाख ८७ हजार ५ सय ६ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रस्तुत बजेटमध्ये चालुतर्फ २५ करोड ५९ लाख ५० हजार ९ सय २३ रुपैयाँ र पूँजीगततर्फ ८ करोड ८ लाख ३६ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार विकासतर्फ सडक निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय आवश्यकताका आधारमा यातायात पहुँच विस्तार गर्ने तथा दीर्घकालीन महत्वका भौतिक संरचना निर्माणमा बजेट केन्द्रित गरिएको जनाएको छ ।

त्यस्तै कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, श्रम तथा रोजगार सिर्जना, शिक्षा सुधार, युवा तथा खेलकुद विकास र स्वास्थ्य सेवाको विस्तारलाई समेत बजेटमा प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले स्थानीय स्रोत, सम्भावना र आवश्यकतालाई आधार बनाएर विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

बजेट प्रस्तुत कार्यक्रममा गाउँसभा अध्यक्ष जोकलाल बुढा, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, गाउँसभा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

निसीखोला गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन सुरु, “एक घर, एक वास्तविक किसान”अभियान सञ्चालन गरिने

0

बुर्तिबाङ  बागलुङको निसीखोला गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशनमा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित स्थानीय सरकारका गतिविधिलाई थप प्रविधिमैत्री बनाउने नीति लिइएको छ ।

कृषि क्षेत्रको विकासका लागि साना सिँचाइ कार्यक्रमलाई प्राथमिकता दिने, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण, उन्नत बीउविजन तथा मल व्यवस्थापनमा जोड दिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । साथै उत्पादनमुखी कृषि प्रणाली विकासका लागि एक घर, एक वास्तविक किसान” कार्यक्रमलाई अगाडि बढाउने योजना गाउँपालिकाले लिएको छ ।

पूर्वाधार विकासतर्फ सडक निर्माणलाई प्राथमिकता दिँदै दीर्घकालीन महत्वका भौतिक संरचना निर्माणमा ध्यान दिने नीति लिइएको छ । शिक्षा क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा जंकफुड निषेध गर्ने तथा स्वस्थ वातावरण निर्माण गर्ने नीति कार्यक्रममा समेटिएको छ ।

स्वास्थ्य सेवातर्फ घरदैलोमा स्थानीय सरकार” भन्ने अवधारणालाई प्राथमिकता दिँदै स्वास्थ्य सेवा विस्तार गर्ने, नागरिकले निःशुल्क प्राप्त गर्ने औषधिबारे आवश्यक जानकारी उपलब्ध गराउने नीति लिइएको छ ।

यसैगरी प्रभावकारी न्याय सम्पादन, कर्मचारी क्षमता विकास, संस्थागत सुधार तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा पूर्व गण्डकी प्रदेश सांसद खिम विक्रम शाही, पूर्व गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा प्रहरी प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 

ढोरपाटन नगरपालिकाको बजेट ६२ करोड ७० लाख : प्रविधिमैत्री सेवा र नागरिकमैत्री कार्यक्रम प्राथमिकतामा

0

बुर्तिबाङ  ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै ६२ करोड ७० लाख ६६ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरसभाबाट प्रस्तुत नीति तथा कार्यक्रममा प्रविधिमैत्री सेवा प्रवाहसँगै नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

नगरसभा सदस्य विमला महतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नगरपालिकालाई पोषणमैत्री बनाउन आवश्यक सबै सूचक पूरा गर्ने गरी कार्यक्रम अगाडि बढाउने उल्लेख गरिएको छ ।

नगरपालिकाले निःशुल्क स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकास, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको व्यवस्थापन तथा आवश्यक कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।

यस्तै नगरपालिका क्षेत्रभित्र व्यवस्थित बस्ती विकासका लागि घर तथा भवन निर्माण मापदण्ड तयार गरी नक्सा पास गरेर मात्र निर्माण गर्न दिने नीति लिइएको छ ।

नीति कार्यक्रममा कृषक प्रोत्साहन कार्यक्रम, स्थानीय उत्पादनलाई प्राथमिकता, पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवर्द्धन, नगर गौरवका योजना, फोहोर व्यवस्थापन, सिँचाइ तथा ‘एक घर एक खानेपानी धारा’ जस्ता कार्यक्रम समेटिएका छन् ।

नगरसभाका सभाध्यक्ष धनबहादुर कायत–कल्याणले प्रस्तुत गर्नुभएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार विकास, पुल निर्माण तथा नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

ढोरपाटनमा आलु महोत्सव आयोजना गर्ने योजना समेत बजेटमा समावेश गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट २ करोड ९९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा नगरसभाका सभाध्यक्ष धनबहादुर कायत, नगरपालिकाका सचिव चिरञ्जीवी घिमिरे, नगरसभा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

तमानखोला गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषि र उद्यमलाई प्राथमिकता

0

बागलुङ तमानखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न गाउँसभाबाट गाउँपालिकाले ७३ बुँदे नीति तथा कार्यक्रम पारित गरेको हो ।

गाउँपालिकाले कृषि क्षेत्रको विकास, लघु उद्यम प्रवर्द्धन, युवा स्वरोजगारमूलक कार्यक्रम तथा व्यावसायिक कृषक प्रोत्साहनलाई प्राथमिकतामा राखेको छ ।

कृषि, पर्यटन र उद्यम विकासको पर्याप्त सम्भावना रहेकाले होमस्टे प्रवर्द्धन, कृषि बजारीकरण, लगानीमैत्री वातावरण निर्माण लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा उल्लेख छ ।

नीति कार्यक्रममा “गुणस्तरीय विद्यालय शिक्षा तमानखोलाको प्रतिज्ञा”, “जेहेन्दारलाई कदर” र “शिक्षामा अवसर” जस्ता कार्यक्रम अगाडि सारिएको छ । गाउँपालिकालाई पोषणमैत्री पालिका बनाउने उद्देश्यसहित आवश्यक सूचक पूरा गर्ने कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रको विकास तथा विस्तार गर्ने, दलित तथा जनजाति समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै सडक स्तरोन्नति, खानेपानी तथा सरसफाइ, उद्यमीलाई प्रोत्साहन, सहुलियत ऋण तथा अनुदान कार्यक्रमलाई समेत नीति कार्यक्रममा समेटिएको छ । गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकता दिइएको छ ।

खेलकुद विकास, नेतृत्व विकास, सीप विकास तथा विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विभिन्न कार्यक्रम समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभामा न्यायिक समिति संयोजक हिरा कुमारी छन्त्यालले प्रस्तुत गर्नुभएको न्यायिक समिति पहिलो संशोधन विधेयक २०८३ पारित गरिएको छ । यस्तै गाउँपालिकाको संगठन तथा व्यवस्थापन सम्बन्धी प्रस्ताव छ प्रसाद श्रीपालीले प्रस्तुत गर्नुभएको थियो, जुन सभाबाट पारित भएको छ ।

कार्यक्रममा मन कुमारी बुढाथोकीले गाउँपालिकाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा पेश भएका विभिन्न प्रतिवेदन समेत पारित गरिएको छ ।

गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यक्रममा गाउँसभा सचिव अमित परियार, गाउँसभाका सदस्य, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

मनसुन कोशीबाट भित्रियो, गण्डकी र लुम्बिनीसम्म फैलियो

0

कोशी प्रदेशबाट भित्रिएको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको छ ।

यस वर्षको मनसुन प्रणाली ५ असारमा कोशी प्रदेशमा भित्रिएको थियो । यही मनसुन प्रणाली विस्तार हुँदै मधेश, बागमती हुँदै आज गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘यस वर्षको मनुसन प्रणाली ८ असारका दिन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरे स्थानमा प्रवेश गरेको छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

नेपालमा यस वर्षको मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी ५ असारमा कोशी प्रदेशबाट भित्रिएको थियो । मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

0

८ असार,

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ ।

उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ ।

ढोरपाटनमा गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न, ६ जिल्लाका १२० खेलाडी सहभागी

0

 असार ७ ।
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको छैटौं गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । ढोरपाटन नगरपालिकाको सहयोग तथा गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघको आयोजनामा असार ६ र ७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाका १२० जना खेलाडीको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष घम बहादुर थापा मगरको अध्यक्षता तथा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धन बहादुर कायत (कल्याण) को प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा खेलाडीहरुलाई विभिन्न तौल तथा उमेर समूहअन्तर्गत उत्कृष्ट प्रदर्शनका आधारमा पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा स्याङ्जा जिल्ला टिमले १० स्वर्ण, ७ रजत र ६ कास्यसहित कुल २३ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ । त्यस्तै तनहुँले ८ स्वर्ण, ४ रजत र ४ कास्य गरी १६ पदकसहित दोस्रो तथा कास्कीले ३ स्वर्ण, ५ रजत र १३ कास्य गरी २१ पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा पुरुषतर्फ आयोजक टिमका सूर्य अदै सर्वोउत्कृष्ट खेलाडी घोषित हुनुभएको छ भने महिलातर्फ तनहुँकी मनिषा केसी सर्वोउत्कृष्ट खेलाडी बन्न सफल हुनुभएको छ ।

प्रतियोगितामा बागलुङ, म्याग्दी, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ र आयोजक गरी ७ वटा टिमको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा ढोरपाटन उद्योग वाणिज्य संघका उपाध्यक्ष धनराम पुरी, जिल्ला खेलकुद विकास समिति बागलुङका सदस्य सरोज घर्ती मगर, समाजसेवी कृष्ण भण्डारी, ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक केशव थापा मगर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक सुदिप भट्टराई, विभिन्न जिल्लाका आईटीएफ तेक्वान्दो संघका अध्यक्षहरु तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धन बहादुर कायतले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान र विकासका लागि यस्ता प्रतियोगिताले सहयोग पुर्‍याउने भन्दै ढोरपाटन नगरपालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडी प्रोत्साहनका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोजकका अनुसार प्रतियोगिताले गण्डकी प्रदेशमा आईटीएफ तेक्वान्दो खेलको विकास, खेलाडीबीच प्रतिस्पर्धात्मक भावना वृद्धि तथा आपसी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

वडिगाड गाउँपालिकामा उत्कृष्ट उद्यमी छनौट, ९१ मध्ये जीवबहादुर खत्री बने उत्कृष्ट

0

बागलुङको वडिगाड गाउँपालिकामा लामो समयदेखि कृषि क्षेत्रमा सक्रिय उत्कृष्ट कृषक छनौट गरिएको छ । २०८२ सालदेखि सञ्चालन भएको वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार आयोजित लगानी प्रस्तुतीकरण कार्यक्रमबाट वडिगाड गाउँपालिका–७ का जीवबहादुर खत्री पालिकाकै उत्कृष्ट कृषकको रुपमा छनौट हुनुभएको हो ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, वडिगाड गाउँपालिका र दायित्व संस्थाको संयुक्त पहलमा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका भित्र रहेका ९१ जना उद्यमी को पहिचान र स्तरीकरणबाट प्रक्रिया सुरु गरिएको थियो । विभिन्न चरण पार गर्दै उत्कृष्ट किसान छनौट गरिएको हो ।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा ९१ जना उद्यमी मध्ये ४० जनालाई संक्षेपीकरण गरिएको थियो । त्यसबाट २० जना कृषक छनौट गरी व्यवसाय विस्तारको उद्देश्यसहित जनही २५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको थियो । त्यसपछि द्रुतिकरण प्रक्रियाबाट १० जना कृषक छनौट भएका थिए । उक्त चरणमा सहभागी कृषकलाई व्यवसाय विस्तारका लागि जनही २ लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।

१० जना उद्यमी मध्ये उत्कृष्ट छनौट कार्यक्रमअन्तर्गत आइतबार भएको अन्तिम प्रस्तुतीकरणबाट जीवबहादुर खत्री उत्कृष्ट बन्न सफल हुनुभएको दायित्व परियोजनाका प्रदेश संयोजक विजय जिसीले जानकारी दिनुभयो । उत्कृष्ट कृषक खत्रीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । उत्कृष्ट छनौट कार्यक्रममा विभिन्न विधि अवलम्वन गरिएको थियो ।

 उद्यमी को वर्गीकरण, व्यवसाय विस्तार र दिगोपनाका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्‍याउने वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनुभयो । उद्यमी क्षेत्रबाट गाउँपालिकालाई आत्मनिर्भर बनाउन र स्वरोजगार सिर्जना गर्न सम्भावना रहेको भन्दै उहाँले मेहनती किसानलाई गाउँपालिकाले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

आफूहरूको मेहनतलाई स्थानीय सरकारले पहिचान गरेको र यस्ता कार्यक्रमले थप हौसला प्रदान गरेको उद्यमीहरूले बताएका छन् ।

दायित्व संस्थाका संयोजक सञ्जय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडिगाड गाउँपालिका उपाध्यक्ष भिमेशन वन, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, कृषक तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कृषकहरूले आफ्नो व्यवसाय सञ्चालन गर्नुका कारण, सफलताका सूत्र, संघर्ष र अनुभवबारे प्रस्तुतीकरण गरेका थिए ।