Home Blog Page 4

रातमाटामा दुई जिप ठोक्किँदा एसईई ग्रेड वृद्धि परीक्षा दिएर फर्किएका चार विद्यार्थी घाइते

0

बागलुङ ।

बागलुङ नगरपालिका–३ रातमाटामा दुई वटा जिप एक आपसमा ठोक्किँदा चार जना विद्यार्थी घाइते भएका छन् । बुधबार दिउँसो करिब २ बजे बागलुङ बजारदेखि बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा एसईई ग्रेड वृद्धि परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते हुनेमा निसीखोला गाउँपालिका–४ की १६ वर्षीया रेनु विक, सोही ठाउँकी १७ वर्षीया लक्ष्मी सुनार, १७ वर्षीया दिलमाया रसाईली र निसीखोला गाउँपालिका–३ बोहोरागाउँका १५ वर्षीय हिमाल शाही ठकुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार घाइते विद्यार्थीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

दुर्घटनापछि प्रहरीले दुवै जिपका चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लु १ ज २७३९ नम्बरको जिप चालक ३५ वर्षीय सन्तोष थापा र लु २ च ६२०५ नम्बरको बोलेरो चालक २४ वर्षीय अनिललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

रोगव्याधि र प्राकृतिक विपद्बाट बच्ने कामनासहित भल्कोटमा भूमे (नाखा) पूजा

0

छविलाल पाण्डे बागलुङ ।
बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयले परम्परागत भूमे पूजा अर्थात् नाखा पूजा धुमधामका साथ मनाएका छन् । मगर समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको भूमे पूजा निसीखोला क्षेत्रका मगर तथा दलित समुदायले शनिबार सामूहिक रूपमा मनाएका हुन् ।

पितृ र प्रकृतिको पूजा गरेमा अन्नबाली राम्रो हुने, रोगव्याधि नलाग्ने तथा बाढीपहिरो, हुरीबतास लगायतका प्राकृतिक विपद्बाट जोगिन सकिने जनविश्वासका साथ पुस्तौंदेखि यो पूजा गर्ने गरिएको निसीखोला गाउँपालिका–६ का वडा अध्यक्ष हेमबहादुर बुढा सूर्यमानले बताउनुभयो ।

“भूमे पूजा हाम्रो पुर्खादेखि चलिआएको संस्कार हो । भूमि, प्रकृति र पितृप्रति सम्मान प्रकट गर्दै राम्रो खेतीपाती र गाउँको सुरक्षाको कामना गरिन्छ,” उहाँले भन्नुभयो ।

गाउँ नजिक रहेका भूमि बराह र सिद्ध बराहको पूजा गर्दै मनाइने यो पर्वलाई भूमि अर्थात् जमिनसँग जोडिएको पर्वका रूपमा लिइन्छ । ‘भूमे’ शब्द भूमि शब्दबाट अपभ्रंश हुँदै आएको स्थानीयको भनाइ छ । खाम क्षेत्रका मगर समुदायले देवीदेवताभन्दा बढी आफ्ना पुर्खा र प्रकृतिलाई सम्मान गर्ने परम्परा राख्दै आएका छन् ।

वर्षायाम सुरु हुनुअघि बालीनाली लगाएपछि मनाइने भूमे पर्वमा प्रकृतिको पूजा गर्नुका साथै वर्षभरको खेतीपाती र श्रमको थकानसमेत मेटाउने अवसरका रूपमा लिने गरिन्छ । खेतीबालीमा कीरा नलागोस्, उत्पादन राम्रो होस्, बाढीपहिरो तथा प्राकृतिक विपद्ले क्षति नगरोस् भन्ने कामनासहित भूमि, वनजंगल, सूर्य र चन्द्रको पूजा गर्ने चलन रहेको छ ।

निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार खेतीपातीका क्रममा अनजानमा जीवजन्तु तथा प्रकृतिमा पुगेको क्षतिका लागि क्षमा माग्दै राम्रो उत्पादन र सुख–शान्तिको कामना गर्ने परम्परा भूमे पूजासँग जोडिएको छ ।

“खेती गर्दा केही कीरा फट्याङ्ग्रा वा जीवजन्तुको क्षति हुन सक्छ । त्यसप्रति क्षमा माग्दै प्रकृति र भूमिसँग आशीर्वाद माग्ने चलन छ,” अध्यक्ष घर्तीले भन्नुभयो ।

भूमे पूजाको मुख्य आकर्षण झाँक्री नाचसमेत हो । भूमे पर्वमा मूल झाँक्रीसहित दुई दर्जनभन्दा बढी झाँक्रीहरू ताल मिलाएर शरीरमा घण्टी, वन्यजन्तुका पखेटा तथा परम्परागत सामग्री धारण गरी नाच्ने गर्छन् । गाउँबस्तीमा अझै पनि यसलाई ‘भुई जमिन पूजा’ भनेर समेत चिनिन्छ ।

उत्पादन भएको अन्नले वर्षभर खान पुगोस, परिवारमा सुख–शान्ति रहोस् र प्राकृतिक विपद्बाट गाउँ सुरक्षित रहोस् भन्ने उद्देश्यले भूमि देवताको पूजा गरिने स्थानीय नैनासिंह बुढामगरले बताउनुभयो ।

“हाम्रा पुर्खाले जंगल फाँडेर खेती सुरु गरेदेखि नै यो पर्व मनाउँदै आएका हुन् । अहिले पनि नयाँ पुस्ताले यसको महत्व बुझ्दै निरन्तरता दिइरहेका छन्,” उहाँले भन्नुभयो ।

भूमे पूजामा बाख्रालाई समेत विशेष विधिअनुसार पूजा गर्ने चलन छ । बाख्रालाई दिनभर डोरीले बाँधेर राखिन्छ र धजा, अक्षेता, घरको खरानी तथा धैँसो राखेर परिवार, खेतीपाती र प्रकृतिमा कुनै विपत्ति नआओस् भन्ने कामना गरिन्छ । साँझपख झाँक्रीले विधिपूर्वक पूजा गरेपछि बलि दिने परम्परा रहेको छ ।

यस पर्वको अर्को विशेषता ‘छाङ चढाउने’ परम्परा हो । युवाहरूले जौबाट बनाइएको छाङ तयार पार्ने, पूजा गर्ने र प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको छ । पूजा अवधिमा झाँक्रीले जोख हेर्ने र जंगल बार्ने परम्परा पनि रहेको छ । जंगल बारिएको दिन दाउरा, घाँस काट्न नपाइने स्थानीय चलन छ ।

भूमे पूजाको अवसरमा बिहानै घोक कटुवालले गाउँभर सुनिने गरी सार्वजनिक सूचना दिने परम्परा पनि रहिआएको छ । झाँक्रीहरूले विभिन्न सांस्कृतिक गतिविधि गर्दै रमाइलो वातावरण सिर्जना गर्छन् । शरीरमा कमेरो लगाउने, मुखमा कालो मासो लगाउने तथा परम्परागत शैलीमा अभिनय गरेर मनोरञ्जन दिने चलनसमेत यस पर्वको हिस्सा बनेको छ ।

मुख्य झाँक्री बिर्खमान बुढाका अनुसार भूमे पूजा पुर्खाहरूले सुरु गरेको मौलिक संस्कृति भएकाले आफूहरूले यसको संरक्षण गर्दै आएको बताउनुभयो ।

“यो हाम्रो पहिचान र संस्कृतिसँग जोडिएको पर्व हो । नयाँ पुस्ताले पनि यसलाई निरन्तरता दिन आवश्यक छ,” उहाँले भन्नुभयो ।

विशेषगरी बूढा मगर समुदायले मनाउँदै आएको भूमे पर्वमा घर्ती मगर तथा अन्य समुदायको समेत सहभागिता रहने गरेको छ । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा तिलाचन युवा क्लबले समेत सक्रिय भूमिका खेल्दै आएको छ । स्थानीय सरकार तथा समुदायको सहकार्यले यस्ता मौलिक संस्कृतिको संरक्षणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

भल्कोटको माटो र पुर्खाको सुगन्ध: जब प्रकृतिको पाउमा झाँक्रीहरू झुमे…

0

छविलाल पाण्डे

असारको महिना। आकाशमा बादलहरू मडारिइरहेका थिए, मानौं उनीहरू पृथ्वीलाई अङ्गालो हाल्न हतारिँदै छन्। बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ र ६ का मगर तथा दलित बस्तीहरूमा एउटा बेग्लै चहलपहल थियो। खेतीपातीको काम सकिएर गाउँलेहरू अलि फुर्सदिला देखिन्थे। तर, यो फुर्सद अल्छी मान्नका लागि थिएन, यो त वर्षौंदेखि चल्दै आएको आफ्नो माटो र पुर्खालाई धन्यवाद दिने बेला थियो।

शनिबारको त्यो बिहान, गाउँको शून्यतालाई चिर्दै घोक कटुवालको ठूलो स्वर गुन्जियो। उनले गाउँलेहरूलाई सामूहिक सार्वजनिक सन्देश सुनाए— “आज नाखा पूजा (भूमे पूजा) को दिन हो!” कटुवालको स्वर सुन्नेबित्तिकै भल्कोट र निसीका हरेक घरमा उत्साहको लहर चल्यो।

वन बार्ने दिन र वन बराहको पुकार

गाउँ नजिकै रहेको भूमि बराह र सिद्ध बराहको थान आज दुलहीझैं सिँगारिएको थियो। खाम भाषा बोल्ने यहाँका मगरहरूका लागि देवीदेउता भन्दा ठूला आफ्ना पुर्खा र प्रकृति हुन्। वडा अध्यक्ष हेम बहादुर बुढा ‘सूर्यमान’ थानको नजिकै उभिएर पुराना दिन सम्झँदै भन्दै हुन्थे, “हाम्रा पुर्खाले जङ्गल खोस्रेर खेतीपाती सुरु गरेदेखि नै यो पूजा सुरु भएको हो। वर्षा ऋतु लाग्नुअघि प्रकृति र पितृलाई खुसी पारिएन भने बाढीपहिरो, हुरीबतास र महामारीले गाउँ नै सखाप पार्न सक्छ।”

आज ‘वन बार्ने’ दिन थियो। झाँक्रीले जोख (जोखना) हेरेर बन बारेका थिए। गाउँको कडा नियम थियो— आजको दिन कोही पनि जङ्गल गएर दाउरा-घाँस गर्ने छैन। प्रकृतिलाई विश्राम दिइएको थियो।

झाँक्रीहरूको चाल र घण्टीको आवाज

थोरै समयपछि, थान वरपरको माहोल जुरुक्क उठ्यो। मूल झाँक्री बिर्खमान बुढाको नेतृत्वमा दुई दर्जनभन्दा बढी झाँक्रीहरू मैदानमा उत्रिए। तिनीहरूको शरीरमा घण्टीहरू झुन्डिएका थिए, वन जङ्गलका चराचुरुङ्गीका पखेटाहरू र खाक भिरेका झाँक्रीहरू ढ्याङ्ग्रोको तालमा ताल मिलाएर नाच्न थाले।

“झ्याम्.. झ्याम्.. ट्याङ.. ट्याङ..”

ढ्याङ्ग्रोको आवाजले भल्कोटको भिरपहरा थर्कियो। यो नाच मात्र थिएन, यो त गाउँघरमा लुकेर बसेका भूतप्रेत र भाइरस (रोगव्याधि) लाई मन्त्र बलले भगाउने प्राचीन विधि थियो। गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ती मगरले भुइँ जमिने पूजाको महत्त्व बुझाउँदै थपे, “खेतीपाती गर्दा हाम्रा हातबाट कति कीराफट्याङ्ग्राहरू मरे होलान्। यो पूजा ती जीवहरूसँग क्षमा माग्ने र अन्नबाली सप्रियोस् भनी धर्ती मातासँग आशीर्वाद माग्ने पर्व पनि हो।”

जौको ‘छाङ’ र बाख्रीको भाकल

मैदानको एक कुनामा स्थानीय युवाहरू बडो जाँगरका साथ जुटिरहेका थिए। उनीहरूले जौबाट परम्परागत तरिकाले बनाएको ‘छाङ’ (जाँडको रस) मिचेर तयार पार्दै थिए। यो छाङ भूमे देवतालाई चढाउनु यो पूजाको सबैभन्दा ‘युनिक’ (पृथक) विशेषता थियो। देवतालाई चढाएपछि युवाहरू आफैं पनि त्यो प्रसाद ग्रहण गर्थे। स्थानीय युवा रविन्द्र घर्ती मुस्कुराउँदै भन्थे, “हाम्रो संस्कृति कति मौलिक छ! हामी युवाहरूले यसलाई जोगाउनै पर्छ।”

अर्कोतिर, एउटा बाख्रीलाई डोरीले बाँधेर राखिएको थियो। गाउँलेहरूले घरबाट ल्याएको खरानी, धैँसो (धुवाँको कालो) र धजा-अछेतालाई भुजिपात (एक प्रकारको पात) मा बेरेर बाख्रीको घाँटीमा झुन्ड्याइदिएका थिए। दिनभरि प्रकृतिको नाममा राखिएको त्यो बाख्रीलाई साँझपख झाँक्रीहरूले विधिपूर्वक पूजाअर्चना गरी बलि दिए। यो बलि गाउँमा बाढीपहिरो नआओस् र महामारी नफैलियोस् भन्ने कामनाको प्रतीक थियो।

‘खुकुई’ को रमाइलो र क्लवको जाँगर

पूजाको गम्भीर माहोल चलिरहँदा, अचानक भीडबाट हाँसोको फोहोरा छुट्यो। झाँक्रीहरूको सामूहिक अनुष्ठानको बीचमा सबैलाई हँसाउन ‘खुकुई’ प्रकट भएका थिए। शरीरभरि सेतो कमेरो माटो घसेका, मुखमा कालो मोसो दलेका र हातमा काठको लिङ्ग बोकेका मानिसहरू उफ्रिँदै, विभिन्न अश्लील जस्ता लाग्ने तर रमाइला हर्कतहरू गर्दै सबैलाई हँसाइरहेका थिए। यो वर्षभरिको कामको थकान मेटाउने एउटा अचम्मको माध्यम थियो।

साँझ ढल्दै गयो। प्रकृति र पितृको पूजा सम्पन्न भयो। स्थानीय तिलाचन युवा क्लबका सदस्यहरू कार्यक्रम व्यवस्थापनमा खटिरहेका थिए, जसले यो कला र संस्कृतिलाई जोगाउन अग्रणी भूमिका खेलिरहेका छन्।

भल्कोटका मगर र दलित समुदाय आज ढुक्क थिए। उनीहरूलाई विश्वास थियो— अब आउने वर्षाको भेलले उनीहरूको खेत बगाउने छैन, कीराले अन्नबाली खाने छैन र पुर्खाको आशीर्वादले गाउँ सधैं सुरक्षित रहनेछ। प्रकृति र मानवको यो सुन्दर सम्बन्ध नै भल्कोटको असली पहिचान थियो।

गण्डकीको ३२ अर्ब ९९ करोडको बजेट (पूर्णपाठसहित)

0

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । उनले सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरे । विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि ६० प्रतिशतभन्दा बढी रकम छुट्याइएको छ ।

कुल बजेटमध्ये पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ६०.६८ प्रतिशत हो । चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ छुट्याइएको छ ।

यो कुल विनियोजनको ३८.५६ प्रतिशत हो । वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री शेरचनले चालू खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढाइने बताए ।

बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुनेछ ।

शसर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ आउने अपेक्षा गरिएको छ । यस्तै समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य छ । चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि २ अर्ब रुपैयाँ नगद मौज्दात रहने मन्त्री शेरचनले बताए । यसरी न्यून हुने १ अर्ब ७५ करोड रुपैयाँ पूर्ति गर्न आन्तरिक ऋण परिचालन गरिनेछ । सार्वजनिक वित्त र आर्थिक अनुशासन कायम गर्न प्रदेश सञ्चित कोषमा कम्तीमा १० करोड रुपैयाँ मौज्दात रहने व्यवस्था मिलाइएको छ ।

मन्त्री शेरचनले विनियोजन कुशलता कायम गरी चालू खर्चलाई नियन्त्रण गरिने बताए । कर्मचारीको तलब वृद्धि भए पनि चालू खर्चलाई गत वर्षको तुलनामा १ प्रतिशतले घटाउन सफल भएको उनले दाबी गरे । ‘बजेट अनुशासन कायम गरी सार्वजनिक खर्चको उपलब्धि अभिवृद्धि गरिनेछ,’ उनले भने । नगद प्रवाह व्यवस्थापनलाई सुदृढ बनाउन र सञ्चित कोषलाई सन्तुलनमा राख्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

यस्तो छ पूर्णपाठ :

 

gandaki pradesh

कर्मफलाईट्स फाउन्डेशनद्वारा अर्नाकोट माविका २५० विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण

0

 कर्मफलाईट्स फाउन्डेशन पोखराले अर्नाकोट माध्यमिक विद्यालय निसीखोला गाउँपालिका २ देउरालीका २५० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ ।

कर्मफलाईट्स फाउन्डेशनको ‘भिमकुमारी कुवँर स्मृति आफन्तजन छात्रवृत्ति परियोजना’ अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला, विद्यालय पोशाक, स्टेशनरी लगायतका सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयका अनुसार उक्त सामग्री वितरणमा करिब पाँच लाख रुपैयाँ बराबरको खर्च भएको छ ।

विगत लामो समयदेखि कर्मफलाईट्स फाउन्डेशन पोखराले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा स्टिचिङ वाम नेष्ट फाउन्डेशन एण्ड युनिका फाउन्डेशन द नेदरल्याण्ड नेपालका प्रमुख रमेश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष कुविर विश्वकर्मा, वडा सदस्य निमकुमारी वि.क., खानेपानी तथा सरसफाई योजना प्रमुख, नेपाल रेडक्रस सोसाइटी कास्कीका प्रमुख कल्पना ज्ञवाली, कर्मफलाईट्स फाउन्डेशन पोखराका कार्यक्रम संयोजक प्रेमबहादुर कुवँर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता सहयोग कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्नुका साथै उनीहरूको आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक ईश्वर सिर्पालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक दिपक वि.क.ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

ढोरपाटन ५ प्याङखोलामा ट्याकटर दुर्घटना चालकको ज्यान गयो ।

0

बागलुङको ढोरपाटन नगरपालिका ५ प्याङखोलामा शुक्रबार राती ट्याक्टर दुर्घटना भएको छ ।

बोबाङ देखि सालझण्डी ढोरपाटन सडक खण्डको वैकल्पिक मार्ग प्याङखोला मस्ति हुँदै बुर्तिबाङ आउने क्रममा ग १ त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । प्याङखोला नजिकै घुम्तिमा भएको दुर्घटनामा चालक  ढोरपाटन नगरपालिका ६ चामिदुरवारका १८ बर्षिय आशिष घर्तिको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बताउनु भयो ।
रातको १ बजेतिर घटना घटेका कारण घटनाको कारण र थप क्षतीबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल अर्काे घुम्तिमा अड्किएको र चालक ७० मिटर तल भेटिएको पाइएको छ ।

तमानखोला गाउँपालिकाद्वारा १५ जना श्रमिक सम्मानित

0

 

 

 

ढोरपाटन–३ बगरको क्रसरबाट गिटी, बालुवा र ढुंगा ओसारपसार रोक्ने निर्णय

0

बुर्तिबाङ, बागलुङ ।
ढोरपाटन नगरपालिका–३ बगरमा रहेको क्रसरबाट गिटी, बालुवा तथा ढुंगा बाहिर ओसारपसार गर्न रोक लगाउने निर्णय गरिएको छ । बुर्तिबाङ–बोङगादोभान सडक खण्डको निर्माण कार्य प्रभावित भइरहेको र क्रसरबाट निर्माण सामग्री अन्यत्र लैजाने कार्य भइरहेको भन्दै रोक लगाउने निर्णय गरिएको हो ।

बिहीबार ढोरपाटन नगरपालिका कार्यालयमा भएको छलफलमा नगरपालिका, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीच भएको बैठकले उक्त निर्णय गरेको हो । बैठकले बगरस्थित क्रसरबाट गिटी, ढुंगा र बालुवा बाहिर लैजाने कार्य रोक्न इलाका प्रहरी कार्यालय बुर्तिबाङलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले नगरपालिकाले उक्त क्रसर सञ्चालनका लागि अनुमति नदिएको र सम्बन्धित स्थानभन्दा बाहिर निर्माण सामग्री प्रयोग भइरहेको पाइएकाले रोक लगाउने निर्णय गरिएको बताउनुभयो ।

उहाँले सडक निर्माणको कामले अपेक्षित गति लिन नसकिरहेको अवस्थामा निर्माण सामग्रीको उचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

छलफलमा नेपाली कांग्रेसका विनोद भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका हेमेन्द्र घर्ती, नेकपाका हरिबहादुर कुँवर, नेकपा एमालेका चुना बहादुर घर्ती, स्थानीय रामप्रसाद आचार्य, योगेन्द्र परियार, ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेलगायतको सहभागिता रहेको थियो ।

सालझण्डी–ढोरपाटन सडक निर्माणमा बेनामे उजुरीको बिगबिगी

0

बुर्तिबाङ, बागलुङ ।
बागलुङको बुर्तिबाङदेखि ढोरपाटन जोड्ने बहुचर्चित सालझण्डी–ढोरपाटन सडक खण्ड निर्माणका क्रममा पछिल्लो समय बेनामे उजुरीको समस्या बढेको छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकमा धमाधम निर्माण कार्य भइरहेका बेला पटक–पटक अख्तियारमा उजुरी परेपछि काम प्रभावित बनेको निर्माण पक्षले जनाएको छ ।

सडक खण्डअन्तर्गत २२ किलोमिटर स्ट्यान्डर्ड ग्राभेलिङसहितको काम अन्तिम चरणमा पुगेको छ । उक्त निर्माण प्रक्रियामा हालसम्म ४ वटा बेनामे उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बताइएको छ । उजुरीका कारण आवश्यक काम अघि बढाउन तथा कार्यसम्पादनमा असहजता सिर्जना भएको निर्माण पक्षको भनाइ छ ।

यसैबीच, सालझण्डी–ढोरपाटन सडकअन्तर्गत फल्लेघरदेखि देउरालीतर्फ जोड्ने करिब ३ किलोमिटर सडक खण्डको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । तर उक्त आयोजनामा समेत बेनामे उजुरी परेपछि निर्माण कार्यमा समस्या देखिएको छ ।

करिब एक दशकदेखि अलपत्र अवस्थामा रहेको सडक खण्डमा पछिल्लो समय कामले गति लिँदै गर्दा अनावश्यक उजुरीले विकास निर्माण प्रभावित भएको भन्दै स्थानीय सरकार, राजनीतिक दल तथा सडक निर्माण संघर्ष समितिले चासो देखाएका छन् ।

बिहीबार ढोरपाटन नगरपालिका कार्यालयमा भएको छलफलमा राजनीतिक दलका प्रतिनिधि, सडक निर्माण संघर्ष समितिका पदाधिकारी तथा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत सहभागी भएका थिए । बैठकले सडक आयोजना निर्माणमा अवरोध सिर्जना गर्ने गतिविधिको पहिचान गर्ने तथा निर्माण कार्य सहज बनाउन सम्बन्धित निकायमा आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

सडकको फल्लेघर–देउराली खण्ड कालोपत्रे गर्ने जिम्मा पाएको पिटिआर अधिकारी कन्ट्रक्सन कम्पनीविरुद्ध वन क्षेत्रमा अवैध क्रसर सञ्चालन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा सब–डिभिजन वन कार्यालय बुर्तिबाङले वन क्षेत्रबाट क्रसर हटाउन ताकेता गरेको जनाएको छ ।

निर्माण कम्पनीले भने सडक निर्माणका क्रममा वन क्षेत्र फँडानी नगरेको र निर्माण प्रयोजनबाहेक अन्यत्र गिटी–बालुवा ओसारपसार नगरेको दाबी गरेको छ । कम्पनीले केही महिनाभित्रै क्रसर हटाउने गरी समन्वय गरिदिन आग्रह गर्दै आएको जनाएको छ ।

छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधि, सडक निर्माण संघर्ष समिति र ढोरपाटन नगरपालिकाले सडक निर्माणलाई निरन्तरता दिन आवश्यक समन्वय गर्ने र सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेका छन् । दशकौंदेखि प्रतीक्षामा रहेको सडक निर्माण सम्पन्न गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।

कादुरी संस्थाद्वारा तमानखोलाको भित्रिवनमा ७६ मिटर लामो झोलुङ्गे पुल निर्माण

0

जेठ २७ गते, बागलुङ ।

बागलुङको तमानखोला गाउँपालिका–६ भित्रिवनमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन, ब्रिटिस गोर्खाज नेपालद्वारा निर्माण गरिएको उक्त पुलको एक कार्यक्रमकाबीच तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले उद्घाटन गर्नुभएको हो ।

भित्रिवन–नर्जा जोड्ने ठुलाचौर खोलामा निर्माण गरिएको उक्त पुल ७६ मिटर लामो रहेको छ । वडा कार्यालय जाने बाटोमा रहेको खोलामा पुल निर्माण भएपछि स्थानीय नागरिकलाई आवतजावतमा सहज हुने भएको छ ।

पुल निर्माणका लागि २०७७ सालमा सिडिआर (विस्तृत अध्ययन) सम्पन्न गरी २०८० सालदेखि निर्माण कार्य सुरु गरिएको थियो । कादुरी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको कादुरी अफिसका प्रोजेक्ट म्यानेजर इन्जिनियर अवधनारायण माझीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पुल निर्माणले स्थानीय पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । उहाँले नागरिकको आवश्यकता र समस्यालाई मध्यनजर गर्दै सहयोग गरेको भन्दै कादुरी संस्थाको टोलीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, वडा अध्यक्ष चित्रबहादुर छन्त्याललगायत जनप्रतिनिधि तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो ।