छविलाल पाण्डे बागलुङ ।
बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयले परम्परागत भूमे पूजा अर्थात् नाखा पूजा धुमधामका साथ मनाएका छन् । मगर समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको भूमे पूजा निसीखोला क्षेत्रका मगर तथा दलित समुदायले शनिबार सामूहिक रूपमा मनाएका हुन् ।
पितृ र प्रकृतिको पूजा गरेमा अन्नबाली राम्रो हुने, रोगव्याधि नलाग्ने तथा बाढीपहिरो, हुरीबतास लगायतका प्राकृतिक विपद्बाट जोगिन सकिने जनविश्वासका साथ पुस्तौंदेखि यो पूजा गर्ने गरिएको निसीखोला गाउँपालिका–६ का वडा अध्यक्ष हेमबहादुर बुढा सूर्यमानले बताउनुभयो ।
“भूमे पूजा हाम्रो पुर्खादेखि चलिआएको संस्कार हो । भूमि, प्रकृति र पितृप्रति सम्मान प्रकट गर्दै राम्रो खेतीपाती र गाउँको सुरक्षाको कामना गरिन्छ,” उहाँले भन्नुभयो ।
गाउँ नजिक रहेका भूमि बराह र सिद्ध बराहको पूजा गर्दै मनाइने यो पर्वलाई भूमि अर्थात् जमिनसँग जोडिएको पर्वका रूपमा लिइन्छ । ‘भूमे’ शब्द भूमि शब्दबाट अपभ्रंश हुँदै आएको स्थानीयको भनाइ छ । खाम क्षेत्रका मगर समुदायले देवीदेवताभन्दा बढी आफ्ना पुर्खा र प्रकृतिलाई सम्मान गर्ने परम्परा राख्दै आएका छन् ।

वर्षायाम सुरु हुनुअघि बालीनाली लगाएपछि मनाइने भूमे पर्वमा प्रकृतिको पूजा गर्नुका साथै वर्षभरको खेतीपाती र श्रमको थकानसमेत मेटाउने अवसरका रूपमा लिने गरिन्छ । खेतीबालीमा कीरा नलागोस्, उत्पादन राम्रो होस्, बाढीपहिरो तथा प्राकृतिक विपद्ले क्षति नगरोस् भन्ने कामनासहित भूमि, वनजंगल, सूर्य र चन्द्रको पूजा गर्ने चलन रहेको छ ।
निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार खेतीपातीका क्रममा अनजानमा जीवजन्तु तथा प्रकृतिमा पुगेको क्षतिका लागि क्षमा माग्दै राम्रो उत्पादन र सुख–शान्तिको कामना गर्ने परम्परा भूमे पूजासँग जोडिएको छ ।
“खेती गर्दा केही कीरा फट्याङ्ग्रा वा जीवजन्तुको क्षति हुन सक्छ । त्यसप्रति क्षमा माग्दै प्रकृति र भूमिसँग आशीर्वाद माग्ने चलन छ,” अध्यक्ष घर्तीले भन्नुभयो ।
भूमे पूजाको मुख्य आकर्षण झाँक्री नाचसमेत हो । भूमे पर्वमा मूल झाँक्रीसहित दुई दर्जनभन्दा बढी झाँक्रीहरू ताल मिलाएर शरीरमा घण्टी, वन्यजन्तुका पखेटा तथा परम्परागत सामग्री धारण गरी नाच्ने गर्छन् । गाउँबस्तीमा अझै पनि यसलाई ‘भुई जमिन पूजा’ भनेर समेत चिनिन्छ ।
उत्पादन भएको अन्नले वर्षभर खान पुगोस, परिवारमा सुख–शान्ति रहोस् र प्राकृतिक विपद्बाट गाउँ सुरक्षित रहोस् भन्ने उद्देश्यले भूमि देवताको पूजा गरिने स्थानीय नैनासिंह बुढामगरले बताउनुभयो ।
“हाम्रा पुर्खाले जंगल फाँडेर खेती सुरु गरेदेखि नै यो पर्व मनाउँदै आएका हुन् । अहिले पनि नयाँ पुस्ताले यसको महत्व बुझ्दै निरन्तरता दिइरहेका छन्,” उहाँले भन्नुभयो ।
भूमे पूजामा बाख्रालाई समेत विशेष विधिअनुसार पूजा गर्ने चलन छ । बाख्रालाई दिनभर डोरीले बाँधेर राखिन्छ र धजा, अक्षेता, घरको खरानी तथा धैँसो राखेर परिवार, खेतीपाती र प्रकृतिमा कुनै विपत्ति नआओस् भन्ने कामना गरिन्छ । साँझपख झाँक्रीले विधिपूर्वक पूजा गरेपछि बलि दिने परम्परा रहेको छ ।
यस पर्वको अर्को विशेषता ‘छाङ चढाउने’ परम्परा हो । युवाहरूले जौबाट बनाइएको छाङ तयार पार्ने, पूजा गर्ने र प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको छ । पूजा अवधिमा झाँक्रीले जोख हेर्ने र जंगल बार्ने परम्परा पनि रहेको छ । जंगल बारिएको दिन दाउरा, घाँस काट्न नपाइने स्थानीय चलन छ ।
भूमे पूजाको अवसरमा बिहानै घोक कटुवालले गाउँभर सुनिने गरी सार्वजनिक सूचना दिने परम्परा पनि रहिआएको छ । झाँक्रीहरूले विभिन्न सांस्कृतिक गतिविधि गर्दै रमाइलो वातावरण सिर्जना गर्छन् । शरीरमा कमेरो लगाउने, मुखमा कालो मासो लगाउने तथा परम्परागत शैलीमा अभिनय गरेर मनोरञ्जन दिने चलनसमेत यस पर्वको हिस्सा बनेको छ ।
मुख्य झाँक्री बिर्खमान बुढाका अनुसार भूमे पूजा पुर्खाहरूले सुरु गरेको मौलिक संस्कृति भएकाले आफूहरूले यसको संरक्षण गर्दै आएको बताउनुभयो ।
“यो हाम्रो पहिचान र संस्कृतिसँग जोडिएको पर्व हो । नयाँ पुस्ताले पनि यसलाई निरन्तरता दिन आवश्यक छ,” उहाँले भन्नुभयो ।
विशेषगरी बूढा मगर समुदायले मनाउँदै आएको भूमे पर्वमा घर्ती मगर तथा अन्य समुदायको समेत सहभागिता रहने गरेको छ । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा तिलाचन युवा क्लबले समेत सक्रिय भूमिका खेल्दै आएको छ । स्थानीय सरकार तथा समुदायको सहकार्यले यस्ता मौलिक संस्कृतिको संरक्षणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।








