Home Blog Page 5

नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै

0

प्रतीकात्मक तस्बिर

नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक तथ्याङ्कअनुसार २०८१ सालमा २ हजार ६०० जनाको शल्यक्रिया भएकोमा २०८२ सालमा यो सङ्ख्या ३ हजार पुगेको छ । यो तथ्याङ्क नेपालभरका २० भन्दा धेरै न्युरो केन्द्रको अध्ययनमा आधारित हो ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामीमध्ये सबैभन्दा धेरै ३० देखि ५० वर्ष उमेर समूहका छन् । उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो ।

स्टेज १ र २ मा शल्यक्रियामार्फत उपचार सम्भव हुने भए पनि स्टेज ३ र ४ मा शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ । निरन्तर टाउको दुख्नु, बिहान उठ्नासाथ वान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन् ।

वीर अस्पतालले दुई वर्षदेखि प्रदान गर्दै आएको निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जुन महिनासम्म उपलब्ध रहने डा. झाले जानकारी दिनुभयो ।

विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा ’प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने रहेको छ ।

प्रभा माविलाई कम्प्युटर हस्तान्तरण, फलफूलका विरुवा समेत उपलब्ध

0

बागलुङको निसीखोला गाउँपालिका–३ स्थित प्रभा माध्यमिक विद्यालयलाई कम्प्युटर सामग्री हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ भादगाउँ काठमाडौंको सहयोगमा विद्यालयलाई ८ थान कम्प्युटर सेट हस्तान्तरण गरिएको हो ।

रोटरी क्लबका सदस्य तथा नेपाली कांग्रेसका नेता टेकराज पौडेलको पहलमा उक्त कम्प्युटर विद्यालयलाई उपलब्ध गराइएको हो । विद्यालयमा रहेको कम्प्युटर ल्याबलाई थप व्यवस्थित बनाउने उद्देश्यले आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गरिएको पौडेलले बताउनुभयो ।

यस्तै, दुवर्ड ग्रुपका अध्यक्ष मतिलाल दुवर्डमार्फत उपलब्ध गराइएको विभिन्न जातका फलदिने विरुवासमेत विद्यालयलाई हस्तान्तरण गरिएको छ । जिल्लाका आवश्यकता भएका अधिकांश विद्यालयमा मागअनुसार फलफूलजन्य विरुवा उपलब्ध गराउने कार्यक्रम रहेको पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमका अवसरमा विद्यालयले सहयोग तथा समन्वय गरेको भन्दै नेता पौडेललाई सम्मान समेत गरेको थियो । कम्प्युटर तथा विरुवा सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने विद्यालयले जनाएको छ

ढोरपाटन–३ चाचलघाट पुलका लागि ७ करोड ४३ लाख बजेट सुनिश्चित, नागरिकको वर्षौँदेखिको सपना पूरा हुँदै

0

बागलुङको ढोरपाटन नगरपालिका–३ स्थित चाचलघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित भएको छ । लामो समयदेखि स्थानीय नागरिकको माग र अपेक्षाको रुपमा रहेको उक्त पुल आगामी आर्थिक वर्षमा निर्माण सुरु हुने भएको हो ।

संघीय सरकारको स्थानीय पूर्वाधार विकास विभागमार्फत ७ करोड ४३ लाख रुपैयाँ लागतमा पुल निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुँवरको पहलमा संघीय सरकारमार्फत बजेट व्यवस्थापन भएको बताइएको छ ।

पुल निर्माण भएपछि ढोरपाटन नगरपालिका–३ का घोसा, सामा, कालापोल तथा वडा नम्बर ५ का नाथुरी, भैँसिखर्क लगायत आधा दर्जनभन्दा बढी गाउँका नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

लामो समयदेखि पुल अभावका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले पटक–पटक निर्वाचित जनप्रतिनिधिहरूसँग पुल निर्माणको माग गर्दै आएका थिए । अब भने बजेट सुनिश्चित भएसँगै नागरिकको वर्षौँदेखिको सपना पूरा हुने अपेक्षा गरिएको छ ।

तमानखोला नदीमाथि निर्माण हुने उक्त पुल ३१ मिटर लामो हुने बताइएको छ । पुल निर्माणका लागि छिट्टै टेन्डर प्रक्रिया अघि बढाइने गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवरले जानकारी दिनुभयो ।

देविस्थान माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्वस तथा अभिभावक दिवस सम्पन्न ।

0

२६ जेठ २०८३ ।
देविस्थान माध्यमिक विद्यालय, निसीखोला गाउँपालिका–१, देविस्थानको ६७ औँ वार्षिकोत्वस तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । गत जेठ १८ गतेबाट आन्तरिक तथा बाह्य कार्यक्रम सहित सुरु भएको कार्यक्रमको सोमबार निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्ति मगरको प्रमुख आतित्थ्यतामा भव्य कार्यक्रमका बिचमा सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि घर्तिले बोल्दै देविस्थान माध्यमिक विद्यालयले पछिल्लो समयमा शैक्षिक तथा भौतिक क्षेत्रमा निकै उल्लेखनीय प्रगति गरेकाले यसको सिको अन्य विद्यालयले पनि गर्न आवश्यक रहेको बताउनु भएको थियो । विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै सरोकारवालाले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । विद्यालयलाई अझ व्यवस्थित, गुणस्तरीय र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्नका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको हो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै दुरदराजमा रहेका विद्यालयले पनि दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमता राख्न सक्ने र त्यो क्षमता यहाँको विद्यालयले गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको थियो । यसका साथै सोमबार नै जनस्तरबाट निर्माण गरिएको विद्यालयको आवासीय भवनको सहयोगी चन्दादाताबाट नै दिप प्रज्वलन गरी उद्घाटन गरिएको हो । त्यस्तै विद्यालयको वेवसाइटको हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भएको छ । वेवसाइट निर्माणमा आर्थिक सहयोग गर्नुहुने विद्यालयका पूर्व प्रधानाध्यपक किरण पौडेल र आइटी इन्जिनियर विजय पौडेलले विद्याल परिवारलाई वेवसाइट हस्तान्तरण गर्नुभएको हो । वेवसाइट निर्माण भएपछि अब विद्यालयको हरेक गतिविधि वेसाइटमा गएर हेर्न सकिने भएको छ ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झग बहादुर क्षेत्रीले विद्यालयको आय–व्यय विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको समग्र विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र योगदान पुर्याउनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आर्थिक समिति शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी, शुभेच्छुक, सहयोगदाता, विभिन्न विद्यालयहरुबाट पाल्नुभएका विद्यालय प्रमुख तथा प्रतिनिधिहरु, अतिथि तथा स्थानीय समुदायप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो । सबैको अमूल्य साथ, सहयोग, सुझाव र सद्भावकै कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासका लागि यस्तै सहयोग र सद्भाव प्राप्त भइरहने अपेक्षा रहेको प्रधाध्यापक क्षेत्रीले बताउनुभयो ।

वार्षिकोत्वको अवसरमा विद्यालयको भवन निर्माणमा सहयोग गर्ने चन्दादातालाई फूल माला, अविर, मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै कार्य सम्पादनमा उत्कृष्ट कार्य गर्ने विद्यालयका शिक्षकहरुलाई मायाको चिनो र नगदसहित सम्मान गरिएको थियो भने विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तिलाई समेत मायाको चिनो प्रदान गरिएको हो ।
वार्षिकोत्सव अवसरमा सोमबार नै निसीखोला गाउँपालिका भित्रका विद्यालयहरुको कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको सामूहिक नृत्य पनि सम्पन्न भएको हो । जसमा प्रभा मा.वि. निसीखोला ३ प्रथम, देविस्थान मा.वि. निसीखोला १ द्वितीय र ज्ञानेन्द्र मा.वि. निसीखोला ५ ले तृतीय स्थान हासिल गर्न सफल भएका हुन् ।


कार्यक्रमा गण्डकी प्रदेश सभाका पूर्व सदस्य खिमविक्रम शाही, निसीखोला गाउँपालिकाका पूर्व अध्यक्ष तारानाथ पौडेल, निसीखोला गाउँपालिकाका प्रशासकीय अधिकृत दिलिप कुमार चन्द, जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । निसीखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष चन्द्रसिह रामजाली, निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद न्यौपाने लगायतको शुभकामना मन्तव्य रहेको थियो । शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिव वि.क.को स्वागत मन्तव्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत पुनको अध्यक्षता र विद्यालयका शिक्षक विनोद पौडेल र तिलक मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयकाे वेवसाइट : devisthanmavi.edu.np

 

बुर्तिबाङ नयाँ शहरलाई १३ करोड ९७ लाख बजेट, चालु आ.व.मा ३ करोड रुपैयाँ बराबरको मात्रै काम हुँदै।

0

बुर्तिबाङ, बागलुङ

मध्यपहाडी लोकमार्ग अन्तर्गतका १० नमुना शहरमध्ये एक बुर्तिबाङ नयाँ शहर आयोजनाका लागि आगामी आर्थिक वर्षमा १३ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङका लागि विभिन्न पूर्वाधार विकास योजनामा उक्त बजेट छुट्याइएको हो।

ढोरपाटन नगर विकास समितिले प्रस्ताव गरेका ३७ करोड बजेट योजनामध्ये करिब १४ करोड रुपैयाँ बराबरका योजना छनोट भएको समितिका संयोजक तथा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत ले जानकारी दिनुभयो।

चालु आर्थिक वर्षमा १६ करोड रुपैयाँ बजेट विनियोजन गरिए पनि जेएनजी आन्दोलन तथा निर्वाचनका कारण अधिकांश बजेट कटौती हुँदा
चालु आर्थिक बर्षमा ३ करोड बराबरको काम गर्ने गरी केही मात्र योजनाको निर्माण अगाडी बढाइएको छ । जसअन्र्तगत बुर्तिबाङ कवर्डहल देखि माथिल्लो बजार सम्मको सडक निर्माण, नयाँ शहर आयोजनाको कार्यालय आसपासमा पार्क निर्माण, भब्रेटामा खेल मैदान निर्माण र बसपार्कको बाँकी रहेको काम गर्ने गरी योजना सम्झौता भएर काम भइरहेको नयाँ शहर आयोजना कार्यालयले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि ११ करोड बराबरको नयाँ कार्यक्रम र २ करोड ९७ लाखको क्रमगत योजनालाई प्राथमिकता दिइएको छ । वडा नं। १ को भगवतीटोल–घम्सिन–स्वरवोट–भब्रेटा सडक, वडा नं। ३ को चाचलघाट–घोसा–छरछरे–विसमोर सडक तथा वडा नं। २ को रिनाम–भ्यालखर्क–तारिखेत–खल्बाङ–बयचौर सडक स्तरोन्नतिका लागि एकमुष्ट ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यसैगरी भब्रेटामा खेलमैदान, पार्क तथा सभाहल निर्माणको बाँकी काम सम्पन्न गर्न ३ करोड रुपैयाँ, वडा नं। १ बुर्तिबाङ क्षेत्रको सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। भब्रेटा सभाहल, आसपासको पार्क निर्माण तथा कर्भडहलदेखि उपल्लो बजार जोड्ने सडक निर्माणका लागि १ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ।

आगामी बर्षका लागि बजेट तथा कार्यक्रम यस प्रकार रहेका छन ।

 

नयाँ शहर आयोजनाको सभाहल निर्माण दोस्रो चरणका लागि ९७ लाख रुपैयाँ, चाचलघाट–घोसा–कालापोल सडक स्तरोन्नतिका लागि ३० लाख रुपैयाँ, बसपार्कको बाँकी पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ तथा कुत्थाप्ला पार्क र तारिखेत पहुँचमार्ग निर्माणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। नगरविकास समिती मार्फत अन्य योजनाको विषयमा बजेट माग गरिएपनी कतिपय योजनामा बजेट कटौटी गरि कम मात्रामा बजेट समावेश गरिएको पाइएको छ ।

वि सं २०६९ सालदेखि सञ्चालनमा आएको बुर्तिबाङ नयाँ शहर आयोजना २०९० सालसम्म एक लाख जनसंख्यालाई सेवा दिन सक्ने योजनासहित अघि बढाइएको हो। आयोजनामार्फत सडक, पार्क, सभाहल, बसपार्क, पदमार्ग, ढल व्यवस्थापन तथा अन्य शहरी पूर्वाधार निर्माणका काम हुँदै आएका छन्।
आयोजनाले ढोरपाटन २ तारिखेतमा एकिकृत बस्ति विकासका निम्ती जग्गा व्यवस्थापनमा प्रयास अगाडी बढाएपनी यसबर्ष बजेट कटौटी हुँदा उक्त कार्यक्रम अगाडी बढ्न नसक्ने देखिएको हो ।

यद्यपि हरेक वर्ष बजेट घट्दै जानु तथा सरकारले नयाँ शहरको संख्या विस्तार गर्दै जानुले बुर्तिबाङ नयाँ शहर आयोजनाले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरी बुर्तिबाङलाई वास्तविक नमुना शहरका रूपमा विकास गर्नुपर्ने माग गरेका छन्।

तमानखोला गाउँपालिका कप सम्पन्न : वडा नं. १ पुरुष भलिबलमा च्याम्पियन

0

बागलुङ, तमानखोला

तमानखोला गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको दोस्रो गाउँपालिका कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। गत जेठ २२ गतेदेखि वडा नं. ५ स्थित शान्ति माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित विविध खेलकुद कार्यक्रम तीन दिनसम्म सञ्चालन गरिएको हो।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष बुढाले गाउँपालिका कपले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्न तथा खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगिताअन्तर्गत सञ्चालन गरिएको खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा वडा नं. १ प्रथम तथा वडा नं. ५ द्वितीय हुन सफल भएका छन्।

त्यसैगरी शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा शिक्षक टोली प्रथम स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ।

विद्यालयस्तरीय खेलकुदअन्तर्गत कक्षा ९ र १० का छात्र–छात्रा भलिबल प्रतियोगितामा तीन विद्यालयको सहभागिता रहेको थियो। साथै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि रिले दौड, कक्षा ४ र ५ का लागि म्युजिकल चियर तथा कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि मिठाई तान्ने प्रतियोगिता सञ्चालन गरिएको युवा, खेलकुद तथा शिक्षा विकास शाखाका प्रमुख दुर्गादत्त घिमिरेले जानकारी दिनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, सामाजिक विकास समिति संयोजक झकबहादुर बुढा, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो।

प्रतियोगिताको समापन कार्यक्रम सामाजिक विकास समिति संयोजक झकबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। गाउँपालिकाले यस्ता खेलकुद कार्यक्रमले युवाहरूमा खेलप्रतिको आकर्षण बढाउनुका साथै सामाजिक एकता र आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

बुर्तिबाङमा “विशेष रक्तिम साँझ–२०८३” सम्पन्न

0

बागलुङ, बुर्तिबाङ

रक्तिम साँस्कृतिक अभियान केन्द्रिय समितीको आयोजनामा “विशेष रक्तिम साँझ–२०८३” शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ।

गत जेठ १६ गते काठमाडौंबाट सुरु गरिएको उक्त विशेष कार्यक्रमले कला, साहित्य र राष्ट्रिय पहिचानलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित देशका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सचिब सहविन अर्गेजाका अनुसार कार्यक्रमले राष्ट्रिय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

“राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा परम्परागत तथा आधुनिक सिर्जनालाई एकै ठाउँमा प्रस्तुत गर्दै सांस्कृतिक एकताको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य, नाटक तथा विविध सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए।

बुर्तिबाङमा आयोजित कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विशेषगरी युवा सर्जक तथा कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरिएको कार्यक्रममा नेपाली मौलिक कला, भाषा र संस्कृतिको संरक्षणमा जोड दिइएको थियो।

देशको समसामयिक अवस्था र सामाजिक यथार्थलाई झल्काउने नृत्य तथा कलात्मक प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्दै राष्ट्रिय संस्कृति संरक्षण र प्रवर्द्धनमा रक्तिम साँस्कृतिक अभियानको सक्रिय भूमिकालाई थप मजबुत बनाएका थिए। देशका विभिन्न सहरमा कार्यक्रम जारी रहेको छ ।

फलामे पाइपले च्यापेर ताराखोलामा मजदुरको मृत्यु

0

निर्माणाधीन मध्य ताराखोला जलविद्युत आयोजनाको पाइपलाइन जडानको क्रममा फलामे पाईपले च्यापेर एक मजदुरको मृत्यु भएको छ ।

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ धस्मर स्थित विद्युतको टर्नेल पाईपमा काम गर्ने क्रममा पाइपले च्यापेर आज बिहान ११ बजे रोल्पा जिल्लाको सुनछाहरी गाउँपालिका–३ घरभएका दिल बिक गम्भिर घाइते हुनुभएको थियो ।

घाइतेको उद्दार गरी गलकोट स्थित इमर्जेन्सी अस्पताल प्रा.लि.मा लगिएकामा चिकित्सकले मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभयो । वेल्डिङको काम गरिरहेका मजदुरमाथी पाइपले च्यापेको थियो ।

निसीखोला गाउँपालिकामा बढ्दो विवाद : जनप्रतिनिधि–कर्मचारी टकराव

0

बागलुङको निसीखोला गाउँपालिका मा जनप्रतिनिधि र कर्मचारीबीचको बढ्दो विवादले सेवा प्रवाह, विकास निर्माण तथा सुशासनमा गम्भीर चुनौती देखिएको छ।

लामो समयदेखि गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच समन्वय अभाव रहँदै आएको अवस्थामा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षबीचको टकरावले पालिकाको प्रशासनिक वातावरण थप असहज बनेको छ।

चालु आर्थिक वर्षको हिउँदे गाउँसभामा समेत उपाध्यक्षको अनुपस्थितिले नेतृत्व तहभित्रको असमझदारी सार्वजनिक भएको थियो। त्यसयता पालिकाभित्र देखिएका विवादका घटनाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध थप चिसिँदै गएको स्थानीयहरू बताउँछन्।

गत जेठ २१ गते बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच चर्काचर्की भएको तथा उपाध्यक्षले पानीको बोतल लगायतका सामग्री प्रहार गरेको आरोप लागेको छ। उक्त घटनापछि पालिकाभित्रको विवाद थप उत्कर्षमा पुगेको बताइन्छ।

केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षबीच भएको अशोभनीय शब्द प्रयोगसहितको टेलिफोन संवाद सार्वजनिक भएपछि विवादले नयाँ मोड लिएको थियो।

पालिका स्रोतका अनुसार अध्यक्षले  अभिभावकिय भुमिका सहित  समन्वयकारी भूमिका निर्वाह गर्न नसक्नु, उपाध्यक्षको आक्रामक व्यवहार तथा प्रमुख प्रशासकीय अधिकृतमाथि पक्षपातपूर्ण ढंगले काम गरेको आरोप लाग्दै जाँदा अधिकांश प्रशासनिक काम प्रभावित बन्न थालेका छन्। एक वडा अध्यक्षले नाम उल्लेख नगर्ने सर्तमा पालिकाका निर्णय प्रक्रिया, योजना कार्यान्वयन र सेवा प्रवाहमा समेत यसको असर देखिन थालेको बताएका छन्।

विवादको अर्को केन्द्र स्वास्थ्य शाखा प्रमुख नियुक्तिको विषय बनेको छ। हाल स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा जुनी घर्ती रहेकी छन्। यद्यपि पूर्व स्वास्थ्य शाखा प्रमुख टोपबहादुर चन्दले आफू सातौं तहको वरिष्ठ कर्मचारी भएकाले वरिष्ठताको आधारमा जिम्मेवारी पाउनुपर्ने माग गर्दै न्यायिक समितिमा उजुरी दिएका छन्।

यही विषयमा कार्यपालिका बैठकमा छलफल हुँदा अन्य असन्तुष्टिका विषय समेत जोडिएर विवाद चर्किएको छ।

स्थानीय सरोकारवालाहरूका अनुसार पालिकाभित्र नीति, विधि र संस्थागत मर्यादाभन्दा व्यक्तिगत टकराव हाबी हुँदा कर्मचारी र जनप्रतिनिधिबीच अविश्वास बढिरहेको छ। यसको प्रत्यक्ष असर विकास निर्माण, सेवा प्रवाह र सुशासनमा परेको उनीहरूको भनाइ छ।

पटक–पटक सार्वजनिक रूपमा विवाद दोहोरिनु, जिम्मेवार पदमा रहेका व्यक्तिबीच नै आरोप–प्रत्यारोप बढ्नु र समन्वयको अभाव रहनुले स्थानीय सरकारप्रतिको नागरिक विश्वास कमजोर बन्दै गएको देखिन्छ। नागरिकहरूले जनप्रतिनिधि र कर्मचारीबीच देखिएको विवादलाई संवाद, छलफल र संस्थागत प्रक्रियामार्फत समाधान गर्दै पालिकाको कामकारबाहीलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

पालिकाको चालु आर्थिक बर्षका कार्यक्रम सम्पादन गर्नुपर्ने र आगामी बर्षका निम्ती निती कार्यक्रम तथा बजेट ल्याउनुपर्ने समयमा यस्ता विवाद लम्बिँदा थप क्षती हुने देखिन्छ ।

 

ढोरपाटनमा न्यायिक सेवा र मेलमिलापबारे अन्तरक्रिया, स्थानीयस्तरमै विवाद समाधानमा जोड

0

बुर्तिबाङ, जेठ २२ — बागलुङको ढोरपाटन नगरपालिका कार्यालयमा उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीशहरूसँग न्यायिक सेवा, न्याय निरूपण तथा मेलमिलापसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश नातीबाबु लमिछाने, माननीय न्यायाधीश सरला कुमारी पाण्डे, डण्डपाणी शर्मा तथा बालकृष्ण गैरे को सहभागिता रहेको थियो।

त्यसैगरी ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत कल्याण, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, वडा अध्यक्षहरू, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख धनबहादुर कायत कल्याणले साना तथा सामान्य प्रकृतिका विवादहरू स्थानीय स्तरमै समाधान गर्न सके समय र खर्च दुवैको बचत हुने बताउनुभयो। उहाँले स्थानीय तहबाट समाधान हुन सक्ने विषयमा अनावश्यक रूपमा जिल्ला वा माथिल्लो निकायसम्म पुग्नुभन्दा मेलमिलाप र सहमतिका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

अन्तरक्रियाका क्रममा सहभागीहरूले न्याय सम्पादन प्रक्रिया, मेलमिलापको प्रभावकारिता, पीडितले न्याय प्राप्त गर्ने प्रक्रिया तथा न्यायाधीशहरूले दबाब र प्रभावबाट मुक्त रही कसरी निष्पक्ष निर्णय गर्छन् भन्ने विषयमा जिज्ञासा राखेका थिए। त्यसको जवाफ दिँदै न्यायाधीशहरूले संविधान, कानुन, प्रमाण तथा स्थापित न्यायिक सिद्धान्तका आधारमा निष्पक्ष रूपमा न्याय सम्पादन हुने स्पष्ट पारे।

कार्यक्रममा न्यायपालिकाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने, स्थानीय स्तरमा विवाद समाधानलाई प्रोत्साहन गर्ने तथा न्यायमा आम नागरिकको पहुँच सहज बनाउने विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले न्यायिक प्रणालीबारे जनचेतना अभिवृद्धि गर्न र न्यायप्रतिको विश्वास मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।