बागलुङको निसीखोला गाउँपालिका मा जनप्रतिनिधि र कर्मचारीबीचको बढ्दो विवादले सेवा प्रवाह, विकास निर्माण तथा सुशासनमा गम्भीर चुनौती देखिएको छ।
लामो समयदेखि गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच समन्वय अभाव रहँदै आएको अवस्थामा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षबीचको टकरावले पालिकाको प्रशासनिक वातावरण थप असहज बनेको छ।
चालु आर्थिक वर्षको हिउँदे गाउँसभामा समेत उपाध्यक्षको अनुपस्थितिले नेतृत्व तहभित्रको असमझदारी सार्वजनिक भएको थियो। त्यसयता पालिकाभित्र देखिएका विवादका घटनाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध थप चिसिँदै गएको स्थानीयहरू बताउँछन्।
गत जेठ २१ गते बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच चर्काचर्की भएको तथा उपाध्यक्षले पानीको बोतल लगायतका सामग्री प्रहार गरेको आरोप लागेको छ। उक्त घटनापछि पालिकाभित्रको विवाद थप उत्कर्षमा पुगेको बताइन्छ।

केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षबीच भएको अशोभनीय शब्द प्रयोगसहितको टेलिफोन संवाद सार्वजनिक भएपछि विवादले नयाँ मोड लिएको थियो।
पालिका स्रोतका अनुसार अध्यक्षले अभिभावकिय भुमिका सहित समन्वयकारी भूमिका निर्वाह गर्न नसक्नु, उपाध्यक्षको आक्रामक व्यवहार तथा प्रमुख प्रशासकीय अधिकृतमाथि पक्षपातपूर्ण ढंगले काम गरेको आरोप लाग्दै जाँदा अधिकांश प्रशासनिक काम प्रभावित बन्न थालेका छन्। एक वडा अध्यक्षले नाम उल्लेख नगर्ने सर्तमा पालिकाका निर्णय प्रक्रिया, योजना कार्यान्वयन र सेवा प्रवाहमा समेत यसको असर देखिन थालेको बताएका छन्।
विवादको अर्को केन्द्र स्वास्थ्य शाखा प्रमुख नियुक्तिको विषय बनेको छ। हाल स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा जुनी घर्ती रहेकी छन्। यद्यपि पूर्व स्वास्थ्य शाखा प्रमुख टोपबहादुर चन्दले आफू सातौं तहको वरिष्ठ कर्मचारी भएकाले वरिष्ठताको आधारमा जिम्मेवारी पाउनुपर्ने माग गर्दै न्यायिक समितिमा उजुरी दिएका छन्।
यही विषयमा कार्यपालिका बैठकमा छलफल हुँदा अन्य असन्तुष्टिका विषय समेत जोडिएर विवाद चर्किएको छ।
स्थानीय सरोकारवालाहरूका अनुसार पालिकाभित्र नीति, विधि र संस्थागत मर्यादाभन्दा व्यक्तिगत टकराव हाबी हुँदा कर्मचारी र जनप्रतिनिधिबीच अविश्वास बढिरहेको छ। यसको प्रत्यक्ष असर विकास निर्माण, सेवा प्रवाह र सुशासनमा परेको उनीहरूको भनाइ छ।
पटक–पटक सार्वजनिक रूपमा विवाद दोहोरिनु, जिम्मेवार पदमा रहेका व्यक्तिबीच नै आरोप–प्रत्यारोप बढ्नु र समन्वयको अभाव रहनुले स्थानीय सरकारप्रतिको नागरिक विश्वास कमजोर बन्दै गएको देखिन्छ। नागरिकहरूले जनप्रतिनिधि र कर्मचारीबीच देखिएको विवादलाई संवाद, छलफल र संस्थागत प्रक्रियामार्फत समाधान गर्दै पालिकाको कामकारबाहीलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
पालिकाको चालु आर्थिक बर्षका कार्यक्रम सम्पादन गर्नुपर्ने र आगामी बर्षका निम्ती निती कार्यक्रम तथा बजेट ल्याउनुपर्ने समयमा यस्ता विवाद लम्बिँदा थप क्षती हुने देखिन्छ ।








