बुर्तिबाङ साउन २२ – बागलुङको निसीखोला गाउँपालिका–३ धाराखर्क निवासी ३९ वर्षीया मिना सुनारको सुत्केरीपछि स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं रिफर गरिएको छ।
सुनारले हिजो बिहान करिब ७ बजे बोहोरा गाउँ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिएकी थिइन्। सुत्केरी भएपछि सुरुमा स्वास्थ्य अवस्था सामान्य देखिए पनि राति अचानक अवस्था जटिल बन्दै गएको थियो। परीक्षणका क्रममा उनको शरीरभित्र अत्यधिक रक्तस्राव (इन्टरनल ब्लिडिङ) भई रगत जमेको पाइएको स्वास्थ्यकर्मीले बताएका छन्।
सुत्केरीको अवस्था थप जटिल बन्दै जान थालेपछि आज बिहान करिब ७ बजे उनलाई थप उपचारका लागि जटिल अवस्थामा बुर्तिबाङ अस्पताल ल्याइए पनि अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक, शल्यक्रियाका लागि आवश्यक उपकरण तथा जनशक्तिको अभावका कारण थप उपचार सम्भव नभएको अस्पतालले जनाएको छ।
बुर्तिबाङ अस्पतालका प्रमुख डा. अविनाश पोख्रेलका अनुसार बिरामीको अवस्था निकै जटिल भएकाले तत्काल विशेषज्ञ उपचार आवश्यक परेको थियो। अस्पतालमा यस्ता जटिल शल्यक्रिया गर्न आवश्यक जनशक्ति र उपकरण उपलब्ध नभएकाले रिफर गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो।

डा. पोख्रेलका अनुसार अस्पतालका डा. सागरसहित स्वास्थ्यकर्मीको निगरानीमा आज बिहान करिब पौने १२ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौंस्थित विशेषज्ञ अस्पतालमा थप उपचारका लागि पठाइएको हो।

















