कर्मफलाईट्स फाउन्डेशन पोखराले अर्नाकोट माध्यमिक विद्यालय निसीखोला गाउँपालिका २ देउरालीका २५० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ ।
कर्मफलाईट्स फाउन्डेशनको ‘भिमकुमारी कुवँर स्मृति आफन्तजन छात्रवृत्ति परियोजना’ अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला, विद्यालय पोशाक, स्टेशनरी लगायतका सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयका अनुसार उक्त सामग्री वितरणमा करिब पाँच लाख रुपैयाँ बराबरको खर्च भएको छ ।
विगत लामो समयदेखि कर्मफलाईट्स फाउन्डेशन पोखराले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा स्टिचिङ वाम नेष्ट फाउन्डेशन एण्ड युनिका फाउन्डेशन द नेदरल्याण्ड नेपालका प्रमुख रमेश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष कुविर विश्वकर्मा, वडा सदस्य निमकुमारी वि.क., खानेपानी तथा सरसफाई योजना प्रमुख, नेपाल रेडक्रस सोसाइटी कास्कीका प्रमुख कल्पना ज्ञवाली, कर्मफलाईट्स फाउन्डेशन पोखराका कार्यक्रम संयोजक प्रेमबहादुर कुवँर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता सहयोग कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्नुका साथै उनीहरूको आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक ईश्वर सिर्पालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक दिपक वि.क.ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।








