भल्कोटको माटो र पुर्खाको सुगन्ध: जब प्रकृतिको पाउमा झाँक्रीहरू झुमे…

छविलाल पाण्डे

असारको महिना। आकाशमा बादलहरू मडारिइरहेका थिए, मानौं उनीहरू पृथ्वीलाई अङ्गालो हाल्न हतारिँदै छन्। बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ र ६ का मगर तथा दलित बस्तीहरूमा एउटा बेग्लै चहलपहल थियो। खेतीपातीको काम सकिएर गाउँलेहरू अलि फुर्सदिला देखिन्थे। तर, यो फुर्सद अल्छी मान्नका लागि थिएन, यो त वर्षौंदेखि चल्दै आएको आफ्नो माटो र पुर्खालाई धन्यवाद दिने बेला थियो।

शनिबारको त्यो बिहान, गाउँको शून्यतालाई चिर्दै घोक कटुवालको ठूलो स्वर गुन्जियो। उनले गाउँलेहरूलाई सामूहिक सार्वजनिक सन्देश सुनाए— “आज नाखा पूजा (भूमे पूजा) को दिन हो!” कटुवालको स्वर सुन्नेबित्तिकै भल्कोट र निसीका हरेक घरमा उत्साहको लहर चल्यो।

वन बार्ने दिन र वन बराहको पुकार

गाउँ नजिकै रहेको भूमि बराह र सिद्ध बराहको थान आज दुलहीझैं सिँगारिएको थियो। खाम भाषा बोल्ने यहाँका मगरहरूका लागि देवीदेउता भन्दा ठूला आफ्ना पुर्खा र प्रकृति हुन्। वडा अध्यक्ष हेम बहादुर बुढा ‘सूर्यमान’ थानको नजिकै उभिएर पुराना दिन सम्झँदै भन्दै हुन्थे, “हाम्रा पुर्खाले जङ्गल खोस्रेर खेतीपाती सुरु गरेदेखि नै यो पूजा सुरु भएको हो। वर्षा ऋतु लाग्नुअघि प्रकृति र पितृलाई खुसी पारिएन भने बाढीपहिरो, हुरीबतास र महामारीले गाउँ नै सखाप पार्न सक्छ।”

आज ‘वन बार्ने’ दिन थियो। झाँक्रीले जोख (जोखना) हेरेर बन बारेका थिए। गाउँको कडा नियम थियो— आजको दिन कोही पनि जङ्गल गएर दाउरा-घाँस गर्ने छैन। प्रकृतिलाई विश्राम दिइएको थियो।

झाँक्रीहरूको चाल र घण्टीको आवाज

थोरै समयपछि, थान वरपरको माहोल जुरुक्क उठ्यो। मूल झाँक्री बिर्खमान बुढाको नेतृत्वमा दुई दर्जनभन्दा बढी झाँक्रीहरू मैदानमा उत्रिए। तिनीहरूको शरीरमा घण्टीहरू झुन्डिएका थिए, वन जङ्गलका चराचुरुङ्गीका पखेटाहरू र खाक भिरेका झाँक्रीहरू ढ्याङ्ग्रोको तालमा ताल मिलाएर नाच्न थाले।

“झ्याम्.. झ्याम्.. ट्याङ.. ट्याङ..”

ढ्याङ्ग्रोको आवाजले भल्कोटको भिरपहरा थर्कियो। यो नाच मात्र थिएन, यो त गाउँघरमा लुकेर बसेका भूतप्रेत र भाइरस (रोगव्याधि) लाई मन्त्र बलले भगाउने प्राचीन विधि थियो। गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ती मगरले भुइँ जमिने पूजाको महत्त्व बुझाउँदै थपे, “खेतीपाती गर्दा हाम्रा हातबाट कति कीराफट्याङ्ग्राहरू मरे होलान्। यो पूजा ती जीवहरूसँग क्षमा माग्ने र अन्नबाली सप्रियोस् भनी धर्ती मातासँग आशीर्वाद माग्ने पर्व पनि हो।”

जौको ‘छाङ’ र बाख्रीको भाकल

मैदानको एक कुनामा स्थानीय युवाहरू बडो जाँगरका साथ जुटिरहेका थिए। उनीहरूले जौबाट परम्परागत तरिकाले बनाएको ‘छाङ’ (जाँडको रस) मिचेर तयार पार्दै थिए। यो छाङ भूमे देवतालाई चढाउनु यो पूजाको सबैभन्दा ‘युनिक’ (पृथक) विशेषता थियो। देवतालाई चढाएपछि युवाहरू आफैं पनि त्यो प्रसाद ग्रहण गर्थे। स्थानीय युवा रविन्द्र घर्ती मुस्कुराउँदै भन्थे, “हाम्रो संस्कृति कति मौलिक छ! हामी युवाहरूले यसलाई जोगाउनै पर्छ।”

अर्कोतिर, एउटा बाख्रीलाई डोरीले बाँधेर राखिएको थियो। गाउँलेहरूले घरबाट ल्याएको खरानी, धैँसो (धुवाँको कालो) र धजा-अछेतालाई भुजिपात (एक प्रकारको पात) मा बेरेर बाख्रीको घाँटीमा झुन्ड्याइदिएका थिए। दिनभरि प्रकृतिको नाममा राखिएको त्यो बाख्रीलाई साँझपख झाँक्रीहरूले विधिपूर्वक पूजाअर्चना गरी बलि दिए। यो बलि गाउँमा बाढीपहिरो नआओस् र महामारी नफैलियोस् भन्ने कामनाको प्रतीक थियो।

‘खुकुई’ को रमाइलो र क्लवको जाँगर

पूजाको गम्भीर माहोल चलिरहँदा, अचानक भीडबाट हाँसोको फोहोरा छुट्यो। झाँक्रीहरूको सामूहिक अनुष्ठानको बीचमा सबैलाई हँसाउन ‘खुकुई’ प्रकट भएका थिए। शरीरभरि सेतो कमेरो माटो घसेका, मुखमा कालो मोसो दलेका र हातमा काठको लिङ्ग बोकेका मानिसहरू उफ्रिँदै, विभिन्न अश्लील जस्ता लाग्ने तर रमाइला हर्कतहरू गर्दै सबैलाई हँसाइरहेका थिए। यो वर्षभरिको कामको थकान मेटाउने एउटा अचम्मको माध्यम थियो।

साँझ ढल्दै गयो। प्रकृति र पितृको पूजा सम्पन्न भयो। स्थानीय तिलाचन युवा क्लबका सदस्यहरू कार्यक्रम व्यवस्थापनमा खटिरहेका थिए, जसले यो कला र संस्कृतिलाई जोगाउन अग्रणी भूमिका खेलिरहेका छन्।

भल्कोटका मगर र दलित समुदाय आज ढुक्क थिए। उनीहरूलाई विश्वास थियो— अब आउने वर्षाको भेलले उनीहरूको खेत बगाउने छैन, कीराले अन्नबाली खाने छैन र पुर्खाको आशीर्वादले गाउँ सधैं सुरक्षित रहनेछ। प्रकृति र मानवको यो सुन्दर सम्बन्ध नै भल्कोटको असली पहिचान थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img