बागलुङ ।
बागलुङ नगरपालिका–३ रातमाटामा दुई वटा जिप एक आपसमा ठोक्किँदा चार जना विद्यार्थी घाइते भएका छन् । बुधबार दिउँसो करिब २ बजे बागलुङ बजारदेखि बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा एसईई ग्रेड वृद्धि परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते हुनेमा निसीखोला गाउँपालिका–४ की १६ वर्षीया रेनु विक, सोही ठाउँकी १७ वर्षीया लक्ष्मी सुनार, १७ वर्षीया दिलमाया रसाईली र निसीखोला गाउँपालिका–३ बोहोरागाउँका १५ वर्षीय हिमाल शाही ठकुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार घाइते विद्यार्थीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

दुर्घटनापछि प्रहरीले दुवै जिपका चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लु १ ज २७३९ नम्बरको जिप चालक ३५ वर्षीय सन्तोष थापा र लु २ च ६२०५ नम्बरको बोलेरो चालक २४ वर्षीय अनिललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















