असोज २ गते
बुर्तिबाङको उत्तर गंगा नमूना माध्यामिक विद्यालयमा बुधबार देखि तिन दिने प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व व्यवस्थापन उत्प्रेरणा कार्यक्रम सुरु भएको छ ।
बुधबार देखि शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रमको बुटवल रुद्रावती कालीका माध्यमिक विद्यालयका प्रशिक्षक हरिश ओलीले प्रशिक्षण दिनुहुने छ ।
कार्यक्रममा प्रार्थना व्यवस्थापन तथा अनुशासन सम्बन्धी उत्प्रेरणा ,बिहीबार कलाको संरक्षण ,शिक्षक र व्यवस्थापन समितिहरूलाई शैक्षिक उत्प्रेरणा र शुक्रबार अभिभावकत्व उत्प्रेरणा तथा जागरण सम्बन्धी प्रशिक्षण दिने कार्यक्रम तय भएको जनाइएको छ । ढोरपाटन नगरपालिका १ र २ का विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीको कार्यक्रममा सहभागिता रहेको छ ।
उत्तरगंगा माध्यमिक विद्यालयको आयोजनामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, समाजसेवी बुद्धिजीवी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, विद्यालयका प्रधानाध्यपक ईश्वरी प्रसाद पौडेल ,शिक्षक लोकेन्द्र सुनारको मन्तव्य , विद्यालय व्यवस्थापन समितिका सदस्य गोपाल महतको स्वागत मन्तव्य, विद्यालयका सह प्रधानाध्यापक हरिचन पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उत्तर गंगा माविमा प्रार्थना व्यवस्थापन र असल बिद्यार्थी तथा अभिभावकत्व व्यवस्थापन उत्प्रेरणा कार्यक्रम
ऐतिहासिक कोजाग्रत पूर्णिमा मेला कात्तिक १ देखि हुने
असोज २ गते बुर्तिबाङ
पश्चिम बागलुङको बुर्तिबाङ बजारमा परापूर्वकालदेखि लाग्दै आएको ऐतिहासिक कोजाग्रत पूर्णिमा मेला आगामी कात्तिक १ देखि ७ गतेसम्म हुने भएको छ ।
क्लबको २२ औँ वार्षिकोत्सवका अवसरमा कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप सञ्चालन गर्न लागिएको क्लब अध्यक्ष मिथुन विश्वकर्माले बताउनु भयो ।
क्लबले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरी पुरस्कार राशि समेत तय गरेको छ । खुल्ला पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार दुई लाख २ हजार २२२ दिर्तिय १ लाख १ हजार १११ रहेको हो । त्यस्तै खुल्ला सामूहिक नृत्य तर्फ क्रमश ५१,१११ र २५,१११ प्रथम र दिर्तिय पुरस्कार राशि तोकिएको छ ।
खुल्ला एकल नृत्य, पुरुष महिला रस्साकस्सी, पुरुष महिला छेलो, खुल्ला आईटीएफ तेक्वान्डो, ४० बर्ष माथिको भेट्रान्स, कृषि प्रर्दशनी जस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको क्लब अध्यक्ष मिथुन विश्वकर्माले बताउनु भयो ।
क्लबले विभिन्न कार्यक्रमको पुरस्कार तर्फ ६ लाख ६ हजार बराबरको खर्च गर्ने भएको हो ।
विज्ञान शिक्षक समाज, निसीखोला, बागलुङद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।
विज्ञान शिक्षक समाज, निसीखोला, बागलुङद्वारा आयोजित आधारभूत तथा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता निसीखोला गाउँपालिका वडा नं. २ मा अवस्थित श्री रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयमा असोज १ अर्थात् मंगल बार सम्पन्न भएको छ । “विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यका साथ १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित “विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि” विषयक वक्तृत्वकला प्रतियोगिताको अवसमा शिक्षा युवा तथा खेलकुद विकास समिति संयोजक तथा वडा नं. १ वडा अध्यक्ष चन्द्रसिंह रामजालीको प्रमुख आतिथ्यता, वडा नं. २ का वडा अध्यक्ष कुबिर वि.क., निसीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद न्यौपाने, रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर के.सी को विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि रामजालीले विज्ञान शिक्षक समाज, निसीखोलाले पालिकामा नै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेकाले खुशी व्यक्त गर्दैै धन्यावाद व्यक्त गर्नुभएको थियो ।
विज्ञान प्रविधिले फड्को मार्दै गइरहेको अवसरमा अव शिक्षकले सैद्धान्तिक ज्ञानलाई भन्दा पनि व्यवहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड दिनुपर्ने बताउनुभएको थियो । साथै कार्यक्रमका विशिष्ट अतिथि तथा निसीखोला शिक्षा शाखा प्रमुख विष्णु प्रसाद न्यौपानेले विज्ञान प्रविधिको क्षेत्रमा अझैँ पनि हामी पछाडि रहेकाले यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई विज्ञानसँग नजिक भएर बोल्न तथा खोज अनुसन्धान कार्यमा सहयोग पुर्याउने बताउनुभएको थियो ।
त्यस्तै वडा नं. २ का अध्यक्ष कुविर बि.क.ले हिजोको शिक्षा र आजको शिक्षामा धेरै फरक भएकाले विज्ञान प्रविधिलाई जोड दिइएर शिक्षा क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।
विज्ञान शिक्षक समाज, नेपालमा वि.सं. २०६६ सालमा स्थापना भएता पनि निसीखोलामा भने गत वर्ष मात्रै विज्ञान शिक्षक समाजको गठन भएको समाजका अध्यक्ष एवम् देविस्थान माध्यमिक विद्यालयका विज्ञान शिक्षक नइन्द्र बहादुर क्षेत्रीले बताउनुभयो ।
यो समाजको पहिलो कार्यक्रम भएको र आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढ्नुको साथै विज्ञान विषयसँग सम्बन्धीत प्रर्दशनी कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
आयोजित वक्तृत्वकला प्रतियोगितामा निसीखोला गाउँपालिका भित्रका आधारभूत तथा माध्यमिक विद्यालयका १४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जसमा प्रत्येक विद्यालयबाट १ जना छात्र र १ जना छात्राले कार्यक्रममा सहभागिता जनाउन पाउने व्यवस्था रहेको थियो । जस अन्तर्गत प्रभा माध्यमिक विद्यालय, निसीखोला गाउँपालिका वडा नं. ३ की छात्रा आशिका आचार्य प्रथम र सोही विद्यालयका छात्र केशव चालिसेले द्वितीय स्थान हासिल गर्न सफल भएका छन्, भने देविस्थान माध्यमिक विद्यालय, निसीखोला गाउँपालिका वडा नं. १ की छात्रा अमिता वि.क.ले तृतीय स्थान हासिल गर्न सफल भएको कार्यक्रम संयोजक तथा देविस्थान माध्यमिक विद्यालयका शिक्षक तिलक मल्लले बताउनुभयो ।
कार्यक्रमममा बिजेता हुनेले क्रमशः २ हजार, १ हजार ५ सय, र १ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । आयोजित कार्यक्रमममा निसीखोला गाउँपालिका भित्र रहेका आधारभूत तथा माध्यमिक विद्यालयका विज्ञान शिक्षक तथा विद्यार्थीको सहगागिता रहेको थियो भने मूल्याङ्कनको भूमीका श्री उत्तर गंगा नमुना माध्यमिक विद्यालय ढोरपाटन नगरपालिकाका शिक्षक हिरा पौडल, भिमगिठे माध्यमिक विद्यालय, बडिगाड गा.पा.का शिक्षक पूर्णपति कंडेल र शिव शक्ति आधारभूत विद्यालय, निसीखोलाका शिक्षक चोपलाल रेग्मीले गर्नुभएको थियो ।
आयोजित कार्यक्रम समाजका अध्यक्ष नइन्द्र बहादुर क्षेत्रीको अध्यक्षता, रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयका विज्ञान शिक्षक सागर घर्तिको स्वागत मन्तव्य र समाजका सचिव तथा जन जीवराज सुशीला माध्यमिक विद्यालयका विज्ञान शिक्षक हिरासिंह घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासङ्घ शाखा कार्यालय बुर्तिबाङको १३ औं वार्षिकोत्सव सम्पन्न
असोज १ गते बुर्तिबाङ
नेपाल सुनचाँदी व्यावसायी महासङ्घ शाखा कार्यालय बुर्तिबाङको १३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । २०६९ सालमा सुनचाँदी व्यावसायि को हक हित र अधिकार स्थापित गर्ने उद्देश्य सहित स्थापित संस्थाले १३ औं वार्षिकोत्सव औपचारिक कार्यक्रम सहित मङ्गलबार सम्पन्न गरेको हो ।
समितिका अध्यक्ष बोम बहादुर सुनारको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रसासकिय अधिकृत चिरञ्जीवी घिमिरेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि घिमिरेले बोल्दै सुनचाँदी व्यवसाय आफैमा कठिन व्यवसाय भएको बताउँदै व्यावसायिलाई परेका समस्यामा ढोरपाटन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने बताउनु भयो ।
उहाँले थप बोल्दै व्यवसायीको सहहितमा नगरपालिकाले साथ दिने बताउँदै विभिन्न व्यवसायबाट लिइने राजश्वबाट नै नगरपालिकालाई समृद्ध बनाउन टेवा पग्ने बताउँदै व्यवसायिहरु करको दायरामा आउनु पर्ने बताउँदै नगरपालिकामा दर्ता भएका तर कर तिर्न बाँकी रहेका व्यवसायीलाई लक्षित गर्दे नगरपालिकाले पचास प्रतिशत सम्म कर छुटको व्यवस्था गरेको बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यलय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेत, उद्योग वाणिज्य संघ बुर्तिबाङका अध्यक्ष ढालेन्द्र छ्न्त्याल, वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्याल, पत्रकार तथा लायन्स क्लब ढोरपाटनका अध्यक्ष छविलाल पाण्डे, पत्रकार लोकेन्द्र सुनार ,स्थानीय गुञ्ज बहादुर भण्डारी, रोशन विश्वकर्मा, अशोक सुनार, सम्पूर्ण बैङ्कको तर्फबाट नेपाल बैंकका प्रमुख सुनिल चौधरी, रुद्रावती सुनचाँदी व्यवसायी समितिका गोकर्ण पन्थी, एनबी खाती, स्थानीय नर बहादुर गुरुङ, लोक बहादुर बिक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम कृष्ण घतानको स्वागत संस्थाका सचिव सोम बहादुर पौबि को सञ्चालनमा सम्पन्न भएको हो ।
संस्थाले आगामी दिनमा आफ्नै स्वामित्व रहने गरी संस्था स्थापना गर्ने गरी आवश्यक तयारी गरिरहेको सचिव सोम बहादुर पौवीले बताउनु भयो ।
कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, वडा अध्यक्ष, वडा सदस्य लगायत व्यवसायीलाई संस्थाले मायाको चिनो द्धारा सम्मान गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायि पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।
आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा गरिँदै
आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरु बताउँछन् । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने गर्छन् । वास्तु शास्त्र पुस्तकका लेखक एवम् अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा पनि मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण शुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।
बागलुमा समेत विभिन्न ग्यारेज, वर्कसप तथा व्याक्तिले सवारीका साधन तथा फलामबाट बनेका मेशिनहरुको पुजापाठ गरि मनाइरहेका छन । बुर्तिबाङ मोटर पार्टस, बुर्तिबाङ ढोरपाटन यातायात समिती लगाएतले पनी विभिन्न कार्यक्रम गरि विश्वकर्मा पुजा गरेका छन ।
विश्वकर्मा पूजाको दिन तमानखोला गाउँपालिकाले दियो सार्वजनिक बिदा ।
भाद्र ३१ बुर्तिबाङ
तमानखोला गाउँपालिकाले असोज १ गते विश्वकर्मा पूजाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार असोज १ गते विश्वकर्मा पूजाको अवसरमा १ दिन पालिका अन्र्तगतका सरकारी कार्यालय, शिक्षण संस्थाका निम्ती बिदा दिने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताउनु भयो ।
गत जेठ १३ गतेको निर्णय अनुसार बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यको भनाई छ ।
१२ औँ दिनमा बल्यो निसीखोला दोश्रो लघुजलविद्युत आयोजना
भाद्र ३१ बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका ४ मा रहेको निसीखोला दोश्रो लघुजलविद्युत आयोजना सोमबार देखि पुनह सञ्चालनमा आएको छ । गत भाद्र २० गतेको अविरल वर्षापछि १२० किलोवाट क्षमताको विधुत कुलो भत्किएपछि अवरुद्ध आयोजना मर्मत पछि सञ्चालनमा आएको आयोजनाका अध्यक्ष धुव्र रेग्मीले बताउनु भयो ।
एक हजार ३१३ घरधुरीले उपभोग गर्दे आइरहेको उक्त आयोजना अवरुद्ध हुँदा स्थानी उपभोक्ताले विधुत प्रयोग गर्न पाएका थिएनन् ।
नेपाल टेलिकमको टावर, स्थानीय उद्योग, लगायत विद्युतीय सामाग्री प्रयोगमा समस्या भएका थियो । निसीखोला गाउँपालिकाले कुलो निर्माणका निम्ती बजेट व्यवस्थापन गरेको र स्थानीय उपभोक्ताले ८ दिनसम्म श्रमदान गरेपछि विधुत सञ्चालनमा आएको अध्यक्ष रेग्मीको भनाई छ ।
३५ मिटर कुला भत्किएपछि निसीखोला गाउँपालिकाको वडा नम्बर ३,४ र ५ को बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, दुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, वडाचौर लगायत ठाउँका नागरिक मर्कामा परेका थिए ।
लायन्स क्लब अफ ढोरपाटनले गर्यो बृहत स्वास्थ्य शिविर संगै विद्यार्थीलाई स्टेशनरी र पोशाक वितरण ।
भाद्र ३० गते बुर्तिबाङ लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा निसीखोला गाउँपालिका ३ बोहोरागाउँमा निः शुल्क स्वास्थ्य शिविर तथा विद्यार्थीलाई स्टेसनरी पोशाक वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
विगत लामो समयदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दे आइरहेको क्लबले बोहोरागाउँ प्राथमिक विद्यालयमा अध्ययनरत १०९ जना विद्यार्थीको निम्ती स्टेसनरी, गरिव जेहेन्ददार २६ जना विद्यार्थीका निम्ती स्टेसनरी सहित पोशाक र झोला उपलब्ध गराइएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।

क्लबले ५ औँ वार्षिक उत्सवका अवसरमा वृहत निःशुल्क शिविर समेत सञ्चालन गरेको छ । शिविरमा ५५६ जना नागरिकले सेवा लिएका हुन । स्थानीय समुदायलाई लक्षित गरि सञ्चालन गरिएको शिविरमा बालरोग, हाडजोर्नी दुख्ने, छाती पोल्ने, सुगर, प्रेसर, महिनावारी गडबडी, पाठेघर जाँच, भिआइए जाँच, फार्मेसी सेवा, सुगर, पिसाब परिक्षण, आँखा र दाँतको चेकजाँच तथा उपचार गरिएको हो ।

शिविरमा १५० जना बालबालिकाको चेकजाँच तथा उपचार गरिएको छ । बालबालिकामा बढि मात्रामा कान पाक्ने, आँखा र दाँतको समस्या बढि रहेको पाइएको हो । त्यस्तै १ सय जनाको आँखाको चेकजाँच तथा उपचार, ९० जनाको दाँतको चेकजाँच तथा उपचार गरिनुका साथै महिला सम्बन्धी समस्याको उपचार गरिएको हो ।

सुगर, पिसाब साथै मुटुको जाँच समेत गरिएको हो । चेकजाँचका क्रममा महिला सम्बन्धी समस्या , सुगरका समस्या भएका बिरामीको संख्या बढि भएको पाइएको छ । अन्य समस्या भएका बिरामीको चेकजाँच उपचार संगै आवश्यक परामर्श दिइएको हो । गाउँमै निशुल्क शिविर सञ्चालन भएपछि आर्थिक रुपमा कमजोर र अस्पतालमा पुगेर उपचार गराउन नसक्ने जेष्ठनागरिक, महिला, बालबालिकालाई निकै राहात भएको स्थानीयले बोहोरागाउँ प्राथमिक विद्यालयका अध्यक्ष दिपक बहादुर चन्दले बताउनु भयो ।

विद्यालयले आयोजना गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै निसीखोला गाउँपालिका ३ का अध्यक्ष रमेश विक्रम शाहीले लायन्स क्लब अफ ढोरपाटनले यसरी लाखौँ रकम खर्च गरेर शिविर संगै बालबालिकाको निम्ती सहयोग उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्दे यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्नुभएको हो । त्यस्तै गण्डकी प्रदेश पूर्व सदस्य खिम विक्रम शाहीले बोल्दै लायन्स क्लबले विभिन्न समयमा गरिब, विपन्न र समस्यामा परेका नागरिकलाई राहत, उद्धार र स्वास्थ्य उपचार संगै शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दे आएकोमा धन्यबाद ज्ञापन गर्दे बोहोरा गाउँमा गरिएको कार्यक्रम निकै उत्कृष्ट रहेको बताउनु भयो ।
त्यस्तै लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले बोल्दै लायन्स क्लब समाज रूपान्तरण संगै दुखी पिडित र विपन्न नागरिकको सहारा भएको बताउँदै दुर्गम गाउँ बस्तिमा आफुहरुले शिक्षा, स्वास्थ्य, वातावरणीय, विपद जन्य कार्यमा निरन्तर सचेतना संग्ै कार्यक्रम गर्दे आइरहेको बताउनु भयो ।
लायन्स क्लब विश्वभर रहेको र विसुद्ध समाजसेवा गर्ने संस्था रहेको बताउनु भयो । कार्यक्रममा लायन्स क्लब जिल्ला सदस्य राम प्रसाद आर्चायले बोल्दै विभिन्न सहयोगी दाताको सहयोग र सामाजिक अभियान्ताको अभियानमा आफुहरुले यस्ता कार्यक्रम गर्दे आइरहेको बताउँदै अभियानमा सहयोग गर्ने दाताहरुलाई धन्यबाद गर्नुभयो । अभियानमा विभिन्न दाताबाट औषधि, आर्थिक संगै विभिन्न सामाग्रि सौजन्य गर्नुभएको थियो ।
स्थानीय क्लबले समेत समाज रूपान्तरण मुखि अभियानमा लायन्स क्लब संग सम्मोन्य गरेर अगाडी बढ्न आग्रह गर्नुभएको हो । कार्यक्रममा बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकालले बोल्दै समाज रूपान्तरण मुलक अभियानमा लायन्स क्लब अफ ढोरपाटनले सक्रिय भुमिका निर्वाह गर्दे आइरहेको बताउँदै यस्तो महत्वपूर्ण अभियानमा आफुहरुले समेत साथ दिएको बताउनु भयो ।
शिविरमा डा. नविन्द्र ढकाल, अम्रेश महतो, डा. रचना सुवेदी, ,डा. श्री कृष्ण पोखरेल, डा. भावना अधिकारी आँखा रोग विशेषज्ञ रुद्र खत्री सहित स्वास्थ्य कर्मी पार्वती अर्याल, चुडामणी कँडेल, रुमाकान्त श्रीस, देविन्द्र सुनार, मुक्तिनाथ लोहनी, किसान शाही, निसीखोला गाउँपालिका स्वास्थ्य संयोजक टोप बहादु चन्द, बोहोरागाउँ स्वास्थ्य चौकी प्रमुख कशिन्द्र शाही लगायत स्वास्थ्य कर्मीले चेकजाँच तथा उपचार गर्नुभएको हो । कार्यक्रम बोहोरागाउँ प्राथमिक विद्यालयका अध्यक्ष दीपक बहादुर चन्दको अध्यक्षता , विद्यालयका प्रध्यानाध्यापक विक्रम शाहीले सञ्चालन गर्नुभएको थियो ।
बुर्तिबाङमा घर भत्काउने क्रममा पुरिएर एकको मृत्यु, १२ जना घाइते
बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्किदा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।
मृत्यु हुनु भएका विकको आफ्नै घर भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । विकको घर पुनर्निणका लागि भत्काउन थालिएको र काम गरि रहेका १२ जना मजदुर घाइते भएको उहाँको भनाइ छ ।
घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहान नगरपालिका–९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौ महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन नगरपालिका–४ का खडक प्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाईली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय सुभ बुढा मगर, ढोरपाटन नगरपालिका १ का ४० वर्षीया देविसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका–१ ३८ वर्षीया खममाया घर्ति, ३५ वर्षीय टेक बहादुर विक र ५१ वर्षीया टेकमाया रसाईली रहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
घरले पुरिएका सबैको उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको उहाँको भनाइ छ । मृतक विकको अस्पतालमा पु¥याउँदा बित्तिकै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
घाइतेको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र सबैको अवस्थामा सामान्य रहेको बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकालले बताउनु भयो ।
सिवाइसी साकोसको आयोजनामा क्षमता अभिवृद्धि कार्यक्रम बुर्तिबाङमा ।
भाद्र २७
सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बुर्तिबाङमा सेवा केन्द्र स्तरीय नेतृत्वहरूका लागी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको आयोजना , चारतारे युवा क्लबको सहयोगमा सञ्चालित कार्यक्रममा बुर्तिबाङ सेवा केन्द्र, निसीखोला सेवा केन्द्र, बोङ्गादोभान सेवा केन्द्र र भिमगिठे सेवा केन्द्रका ९५ जनाको उपस्थिति रहेको थियो ।
सेवा केन्द्रमा आबद्ध रहेका उपसमिति, विपद व्यवस्थापन समिती कार्यदल, गाउँटोल सम्मोन्य उपसमिति, असल बचतकर्ता, असल उद्यमी, सेवा केन्द्र प्रमुख परामर्शदाताका निम्ती उनीहरूको क्षमता वृद्धि सम्बन्धी तालिम दिइएको हो

आयोजित कार्यक्रमको उद्घाटन सत्रमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै सहकारीको सिद्धान्त र विधिमा टेकेर अगाडी बढिरहेको सिवाइसी सहकारीले सुगम देखि दुर्गमसम्मका नागरिकलाई सहज र सरल सेवा दिइरहेको बताउँदै सिवाईसी ले गरिरहेका असल कामको सबैले प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
राम्रो काम गर्ने सहकारी र सङ्घसंस्थालाई ढोरपाटन नगरपालिकाले सँधै साथ र सहयोग गर्ने बताउँदै सहकारी गरिब र धनी बिचको खाडललाई पुर्दे आयआर्जन र उत्पादनमा जोड्ने माध्यम भएको बताउँदै केही व्यक्तिगत रुपमा सञ्चालन भएका सहकारीको बदमासीका कारण समग्र सहकारीलाई हेर्ने दृष्टिकोण फरक भएको बताउँदै त्यसलाई चिरेर राम्रो काम गर्ने सहकारीलाई सबैले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

बुर्तिबाङ सेवा केन्द्रका संयोजक धनराम पुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद पौडेल, जिल्ला सचिव ज्ञानेन्द्र राज पन्त, कार्यकारी अधिकृत नवराज शर्मा, निवर्तनमान केन्द्रिय सदस्य मेषलाल सर्मा, भिमगिठे सेवा केन्द्र उपसमितीका संयोजक नर बहादुर क्षेत्री, निसीखोला गाउँपालिका सेवा केन्द्र उपसमिति संयोजक हुतराज भुसााल, तमानखोला सेवाकेन्द्र उपसमिति संयोजक धुर्व शेरचन, परामर्शदाता निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, निसीखोला गाउँपालिका ४ अध्यक्ष टिकानिधी पौडेल, तमानखोला गाउँपाकिला १ अध्यक्ष थम बहादुर रोका ,वडिगाड गाउँपालिका ७ अध्यक्ष दिपेन्द्र प्रताप केसी, परामर्श दाता लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नमुना स्वाभिमान सदस्य सेवा केन्द्रका संयोजक नर बहादुर केसीको स्वागत भूमिराज आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । तालिममा सिवाइसी साकोस का केन्द्रिय अध्यक्ष चण्डी प्रसाद पौडेल, कार्यकारी अधिकृत नवराज शर्मा , सुमन जिसी लगायतको प्रस्तुतीकरण रहेको थियो ।
४ वटै सेवा केन्द्रको प्रस्तुतीकरण, सेवा केन्द्रका समस्या र त्यसको व्यवस्थापन, समयको व्यवस्थापन, बैठक सञ्चालन र सेवाकेन्द्र व्यवस्थापनका सन्दर्भमा छलफल र अन्र्तक्रृया समेत गरिएको हो । दोश्रो सत्रको कार्यक्रम सिवाइसी साकोस केन्द्रिय सचिव ज्ञानेन्द्र राज पन्तले सञ्चालन गर्नुभएको थियो ।










