विज्ञान शिक्षक समाज, निसीखोला, बागलुङद्वारा आयोजित आधारभूत तथा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता निसीखोला गाउँपालिका वडा नं. २ मा अवस्थित श्री रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयमा असोज १ अर्थात् मंगल बार सम्पन्न भएको छ । “विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यका साथ १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित “विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि” विषयक वक्तृत्वकला प्रतियोगिताको अवसमा शिक्षा युवा तथा खेलकुद विकास समिति संयोजक तथा वडा नं. १ वडा अध्यक्ष चन्द्रसिंह रामजालीको प्रमुख आतिथ्यता, वडा नं. २ का वडा अध्यक्ष कुबिर वि.क., निसीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद न्यौपाने, रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर के.सी को विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि रामजालीले विज्ञान शिक्षक समाज, निसीखोलाले पालिकामा नै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेकाले खुशी व्यक्त गर्दैै धन्यावाद व्यक्त गर्नुभएको थियो ।
विज्ञान प्रविधिले फड्को मार्दै गइरहेको अवसरमा अव शिक्षकले सैद्धान्तिक ज्ञानलाई भन्दा पनि व्यवहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड दिनुपर्ने बताउनुभएको थियो । साथै कार्यक्रमका विशिष्ट अतिथि तथा निसीखोला शिक्षा शाखा प्रमुख विष्णु प्रसाद न्यौपानेले विज्ञान प्रविधिको क्षेत्रमा अझैँ पनि हामी पछाडि रहेकाले यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई विज्ञानसँग नजिक भएर बोल्न तथा खोज अनुसन्धान कार्यमा सहयोग पुर्याउने बताउनुभएको थियो ।
त्यस्तै वडा नं. २ का अध्यक्ष कुविर बि.क.ले हिजोको शिक्षा र आजको शिक्षामा धेरै फरक भएकाले विज्ञान प्रविधिलाई जोड दिइएर शिक्षा क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।
विज्ञान शिक्षक समाज, नेपालमा वि.सं. २०६६ सालमा स्थापना भएता पनि निसीखोलामा भने गत वर्ष मात्रै विज्ञान शिक्षक समाजको गठन भएको समाजका अध्यक्ष एवम् देविस्थान माध्यमिक विद्यालयका विज्ञान शिक्षक नइन्द्र बहादुर क्षेत्रीले बताउनुभयो ।
यो समाजको पहिलो कार्यक्रम भएको र आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढ्नुको साथै विज्ञान विषयसँग सम्बन्धीत प्रर्दशनी कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
आयोजित वक्तृत्वकला प्रतियोगितामा निसीखोला गाउँपालिका भित्रका आधारभूत तथा माध्यमिक विद्यालयका १४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जसमा प्रत्येक विद्यालयबाट १ जना छात्र र १ जना छात्राले कार्यक्रममा सहभागिता जनाउन पाउने व्यवस्था रहेको थियो । जस अन्तर्गत प्रभा माध्यमिक विद्यालय, निसीखोला गाउँपालिका वडा नं. ३ की छात्रा आशिका आचार्य प्रथम र सोही विद्यालयका छात्र केशव चालिसेले द्वितीय स्थान हासिल गर्न सफल भएका छन्, भने देविस्थान माध्यमिक विद्यालय, निसीखोला गाउँपालिका वडा नं. १ की छात्रा अमिता वि.क.ले तृतीय स्थान हासिल गर्न सफल भएको कार्यक्रम संयोजक तथा देविस्थान माध्यमिक विद्यालयका शिक्षक तिलक मल्लले बताउनुभयो ।
कार्यक्रमममा बिजेता हुनेले क्रमशः २ हजार, १ हजार ५ सय, र १ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । आयोजित कार्यक्रमममा निसीखोला गाउँपालिका भित्र रहेका आधारभूत तथा माध्यमिक विद्यालयका विज्ञान शिक्षक तथा विद्यार्थीको सहगागिता रहेको थियो भने मूल्याङ्कनको भूमीका श्री उत्तर गंगा नमुना माध्यमिक विद्यालय ढोरपाटन नगरपालिकाका शिक्षक हिरा पौडल, भिमगिठे माध्यमिक विद्यालय, बडिगाड गा.पा.का शिक्षक पूर्णपति कंडेल र शिव शक्ति आधारभूत विद्यालय, निसीखोलाका शिक्षक चोपलाल रेग्मीले गर्नुभएको थियो ।
आयोजित कार्यक्रम समाजका अध्यक्ष नइन्द्र बहादुर क्षेत्रीको अध्यक्षता, रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयका विज्ञान शिक्षक सागर घर्तिको स्वागत मन्तव्य र समाजका सचिव तथा जन जीवराज सुशीला माध्यमिक विद्यालयका विज्ञान शिक्षक हिरासिंह घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।