ढोरपाटनमा रोपियो १२ सय स्याउका बिरुवा

बागलुङ — प्राकृतिक रुपमा फलेका स्याउको बजारीकरण नभएर खेर गइरहेका बेला ढोरपाटनमा स्याउका बिरुवा रोपिएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर ९ को नवी गाउँका किसानले व्यवसायिक स्याउ खेतीको तयारी पनि गरेका छन् । मुस्ताङबाट ल्याइएका १ हजार २ सय स्याउका बिरुवा रोपेर किसानले व्यवसायिक कामको थालनी गरेको बताए ।

इन्द्रबहादुर सुनारको नेतृत्वमा स्थानीय १० जना किसानको ८० रोपनी जमिनमा स्याउ लगाएका हुन् । तीमध्ये सबैभन्दा धेरै इन्द्रबहादुरको बारीमा १ सय बिरुवा रोपिएका छन् । अरु किसानले २५ देखि ५० बोट लगाएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चक्लाबन्दीमा जग्गा लिएर व्यवसायिक उत्पादनका लागि स्याउको बिरुवामा अनुदान दिएको हो । परियोजनाले १० लाख रुपैयाँ लगानी गरेको हो भने किसानले खाडल खन्ने, मल हाल्ने लगायत काममा थप ५ लाख खर्चेको बताए । साथै उनीहरुले सिँचाइका लागि ४ वटा ठूला ड्रम पनि राखेका छन् ।

पहिलो चरणमा रोपिएका १ हजार २ सय स्याउका बिरुवा राम्रो भएकोले आगामी वर्ष पनि थप गर्ने योजना बनेको परियोजना बागलुङ कार्यालयका प्रमुख सुजित पौडेलले बताए । ‘ढोरपाटनमा स्याउ फलाएर बजारीकरणमा समेत साथ दिने लक्ष्य छ’ पौडेलले भने, ‘प्रसस्त स्याउ फल्छ, अब बजार खोजेर किसानलाई धनी बनाउने काममा पनि साथ दिन्छौं ।’ पहिलो चरणमा रोपिएका बिरुवा हुर्किसकेका छन् । आगामी वर्षपनि बिरुवा लगाउने उद्देश्यले स्थानीय किसानले खाडल खनेर राखेका छन् ।

अमिलो भएकोले बजारीकरण नभएको गुनासो गरेका किसानले यो पटक भने मुस्ताङको गोल्डेन र रोयल जातको स्याउ रोपेका हुन् । ती स्याउबाट मिठो फल फल्ने स्थानीयको भनाइ छ । ‘सडक आएकोले बजारीकरणमा पनि सहज हुने विश्वास लिएका छौं’ स्थानीय देबबहादुर सुनारले भने, ‘आगामी वर्ष स्याउ बढाएर लगाउने सोच छ ।’ परियोजनाले सहयोग नगरेपनि बिरुवा मगाएर थप्ने लक्ष्य रहेको उनले सुनाए । रोपिएका सबै बिरुवा सारेर बगैंचा हरियाली भैसकेको छ ।

२ हजार ९ सय मिटर उचाइभन्दा माथि भएकाले ढोरपाटनमा स्याउको व्यावसायिक उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । बागलुङकै गलकोटको निलुवा, निसेल ढोर र तमानखोलाको लामेलामा पनि स्याउ लगाएर किसानलाई आत्मनिर्भर बनाउन सकिने उनले बताए । परियोजनाले भने पहिलो पटक परीक्षणको रुपमा लगाएको हो । ढोरपाटनमा परम्परागत स्याउका बोटमा तुलनात्मक साना दाना मात्रै फल्दै आएको छ । अमिलो भएकोले किसानले बजारमा नपठाएको पनि बताए ।

ढोरपाटनमा हिउँदमा हिउँ समेत पर्छ । चिसो मौसम भएकोले स्याउका लागि उपयोगी हुने पौडेलको भनाइ छ । ‘यसअघिका बोटमा गोडमेल नभएको र कुन जातको हो भन्ने पनि यकिन नभएकोले उत्पादन राम्रो थिएन’ पौडेलले भने, ‘मल पानीको व्यवस्था र स्याहार भएमा रोपिएका बिरुवाबाट किसानले राम्रो कमाइ गर्न सक्छन् । स्याउ धेरै फलेमा ढोरपाटनमै स्टोर निर्माण गरेर बजारीकरणमा पनि साथ दिने उनले बताएका छन् ।

स्याउको व्यवसायिक उत्पादन सफल भएमा लाखौं बिरुवा थप गर्न सकिने स्थानीय स्वास्थ्यकर्मी दिपक थापाले बताए । ‘यहाँ त लाखौं रोपनी जमिन छ, जता पनि लगाएर फाइदा लिन सकिन्छ’ थापाले भने, ‘किसान पनि अहिले त बिरुवा लगाउनमा हौसिएका छन् ।’ कलमी बिरुवा ल्याएर लगाइएकोले आगामी वर्षदेखि नै केही दाना फल्ने किसानले बताए ।कान्तिपुर

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित