बागलुङको बुर्तिबाङमा सरकारी कार्यालयको भवन निर्माणका निम्ती जग्गा व्यवस्थापन गर्न बनेको समितिले आर्थिक सङ्कलन अभियानलाई सुचारु गर्ने तयारीमा जुटेको छ ।
यहाँस्थित इलाका प्रशासन, मालपोत र नापी कार्यालय हालसम्म भाडाको घरबाट सञ्चालन रहँदै आएको अवस्थामा जसरी पनि जग्गा व्यवस्थापन गर्नुपर्ने ताकेता सृजना भएसँगै जग्गा व्यवस्थापन समितिले करिब ६ महिना लगाएर जग्गा व्यवस्थापन गरेसँगै अब उक्त जग्गा खरिद प्रकृया अगाडि बढाउनका निम्ती आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो ।
आइतबार ढोरपाटन नगरपालिका वडा नम्बर १ को कार्यालयमा जग्गा व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर कुवँरको अध्यक्षतामा वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी बिच बसेको बैठकले विभिन्न स्थानमा जग्गा खरिदका निम्ती खोजिएको जग्गा मध्ये बुर्तिबाङ कर्वड हलको छेउको २२ आना जग्गा र हाल ढोरपाटन नगरपालिका कार्यालय रहेको घरको आडमा रहेको १२ आना जग्गा खरिद बिक्रीका निम्ती योग्य रहेको भन्दै उक्त जग्गा खरिदका निम्ती बजार बासिबाट आर्थिक सङ्कलन गर्ने र जग्गा खरिदका निम्ती अगाडि बढ्ने विषयमा समिति अगाडि बढेको पाइएको छ ।
गुञ्ज बहादुर भण्डारी संयोजक रहेको आर्थिक सङ्कलन समितिले अब तत्काल बजारका सबै घरधुरीबाट आर्थिक सङ्कलन गर्ने र करिब ३ करोड आर्थिक सङ्कलन गरी दुई स्थानमा जग्गा खरिद गर्ने तयारी सुरु भएको जग्गा व्यवस्थापन समिति संयोजक धन बहादुर कुवँरले बताउनु भयो ।
बजार क्षेत्रमा कार्यालय रहने स्थान आसपास र अन्यत्र स्थानमा घर जग्गा भएकालाई फरक फरक मूल्य निर्धारण गरिएको छ । ए प्लस, ए, वि प्लस, वि, सि र डि क्याटेगोरीमा वर्गीकरण गरेर घर र जग्गा भएका व्यक्तिबाट रकम सङ्कलन गर्ने तयारी अगाडि बढिसकेको जनाईएको हो ।
भवन निर्माणका निम्ती जग्गा खरिद गर्न राज्यले बजेट व्यवस्था नगर्ने र लामो समयदेखि भाडामा रहेका सरकारी कार्यालयको भवन बनाउन निरन्तर राज्यबाट दबाब सृजना भइसकेपछि विगत दुई वर्षदेखि जग्गा खरिदको विषयले प्राथमिकता पाएको थियो ।
आर्थिक सङ्कलनका निम्ती बैँक खाता खालेर प्रकृया अगाडि बढिसकेका कारण टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी लगायत रहेको आर्थिक सङ्कलन उपसमिति समेत गठन गरिएको छ ।
मालपोत, नापी र इलाका प्रशासन कार्यालयको भवन निर्माणका निम्ती यसवर्ष जग्गा व्यवस्थापन पुरा गर्ने गरि तयारी अगाडि बढाइएको समितिका सचिव ज्ञान प्रसाद कँडेलले बताउनु भयो ।