अध्यक्ष नेपालीसहित ७ जना अझै फरार
बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ गरेको हो।
बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ परेकी कोषाध्यक्ष सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङलाई बुझाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष नेपाली जेठदेखि फरार छन्।मेयर नेपाली र उनकी श्रीमती तिब्बती मुलकी नेपाली नागरिक छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भएको थियो।
यस प्रकरणमा चित्रबहादुर भण्डारी, लालमति रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर यसअघि नै पक्राउ परेका थिए।
उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । पक्राउ परेका ५ जनाले अदालतमा सहकारीमा आफूहरुको कुनै हात नभएको बयान दिएका छन् ।
गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । नियमित बचतमार्फत दैनिक कमाइ जम्मा गरेका सयौंको रकम सो सहकारीमा डुबेको छ ।
अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए । बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए । ‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुर्पुदगी गर्छ,’ डिएसपी केसीले भने, ‘उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवस्यक छ ।’
उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।
सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन् । त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ ।