विद्यालय, पठन संस्कृति र चिन्तन

प्रकाश अधिकारी पौष २ गते

प्रज्ञा¬ नेपाली वृहत् शव्दकोश भन्छ, ‘कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराकासमिष्टि नाम संस्कृति हो’। देश, काल, परिवेश, समयको बेग र हुङ्कार बुझन् संस्कृति बुझ्नु पर्छ । संस्कृति बुझ्ने कला भनेको पढ्ने कला हो । पढ्ने कला अर्थात पठन संस्कृति । समान्यतया पढ्ने बानी वा संस्कारलाई पठन संस्कृति भनेर बुझ्दा पनि हुन्छ । नेपाली समाजमा अझै पनि पाठ्यपुस्तकइतर पुस्तक पढ्नुलाई समयको बर्बादीका रुपमा बुझिन्छ । पुस्तक पढ्नु समयको बर्बादी होइन् । पुस्तक पढ्नु एक आनन्द, प्रेरणा र ऊर्जाको स्रोत पहिल्याउनु हो । पुस्तक पढ्नु भनेको जीवन पढ्नु हो । पुस्तक पढ्नुका अनेक लाभ छन् धेरै शोधबाट पुष्टि भएको छ कि पुस्तक पढ्ने बानीले मानसिक रोगको भय कम हुन्छ । दिमागी तनाव कम गर्नका लागि पुस्तक पढ्नु निकै उपयोगी हुन्छ । सन् २००९ मा यू.के.के सेसेक्स युनिभर्सिटीका वैज्ञानिकले हार्ट रेट र मसल टेन्सन मनिटरिङको माध्यमले जाँच गर्दा पठन पाठनले तनावको स्तर घट्छ भन्ने तथ्य पत्ता लगाए । ‘रिडिङ इज टु द माइन्ड ह्वाट एक्सरसाइज इज टु द बडी’ । मलाई प्रख्यात अंग्रेजी साहित्यकार जोसफ एडिसन उहिल्यै भनेको याद आयो । यो कुरा हामीले कहिले बुझ्ने ? कहिले बुझाउने ?

विद्यालय र शिक्षण–संस्कृति
पठन संस्कृतिको विकासमा सिकारु स्वयम्, घरपरिबार र विद्यालय भूमिका अपरिहार्य हुन्छ । अहिले सिक्ने ठाउँ विद्यालय मात्र हो, सिकाउने शिक्षकले मात्र हो भ्रम छ । यो पठन संस्कृतिको कन्तबिजोग छ भन्ने प्रमाण हो ।
सिकाई मुटुको धड्कन वम नाइल नदीको वहावजतिकै निरन्तर हुनपुर्छ भन्ने धारणा विद्यालयले दिन सकेन । आजको शिक्षा व्यवस्थाले विद्यार्थीलाई परीक्षामुखी मात्र बनायो । “रुखको डालीमा बसेको चरीलाई रुख ढल्न लाग्यो भनेर कुनै चिन्ता हुँदैन, किनकी उसलाई रुखको होइन् पखेंटाको विश्वास हुन्छ ।” भन्ने न त विद्यालयले जान्यो, सिकायो, न त शिक्षक–अभिभावकले पठन संस्कृतिप्रति चासो राखे ।

आजभोली ‘पढने सीप’ यान्त्रिक कौशलका रुपमा विकास भएको छ । एउटा उदाहरण हेरौँ, वि.स. २०७८ मा पहिलोपटक म माध्यमिक तहको सामाजिक शिक्षक भएर पश्चिम म्याग्दीको देविस्थानमा पुगेको थिएँ । म हरेक पहाडमा बाटो देख्नुपर्छ भन्ने मान्यता बोकेर टोनी हागेनको नजरमा संसारकै सुन्दर उपत्यका पोखराबाट विकट गाँउ छिरेको थिएँ । मैले त्यहाँ हरेक बाटोमा पहाड भेटे जस्तो अनुभूती गरेँ । तपाईं पनि देशका अपबाद बाहेका विद्यालय पुग्नुभयो भने यस्तै अवस्था भेट्नुहुनेछ । पहिलो कक्षाका नानीबाबुहरु अक्षरका आकृतिसँग खेल्दैछन् । तिनको ‘नाम’ कण्ठ पार्दैछन् । क–ख–ग–घ अथवा क–का–कि–की रटिरहेका छन् । अक्षर र ध्वनिका बीच सम्बन्ध स्थापित गरिरहेछन् । शिक्षा विज्ञानका दृष्टिले हेर्ने हो भने यो तरीका पूर्णतः अवैज्ञानिक छ । कसले बुझ्ने बुझाउने ? अनुगमन कस्ले गर्ने ?

शिक्षक तालिमको ‘हाइडोज’ले थलिएका विद्यार्थीहरु । यसरी पाइला–पाइलामा रटेर याद गर्नु अर्थात् पहिले अक्षरको आकृति, त्यसपछि वर्णमाला, अक्षरको क्रम, ध्वनिहरू, अक्षर र ध्वनिका बीचको तालमेल अनि मात्राहरू कण्ठ गर्नु, त्यसपछि बल्ल अक्षरहरू मिलाएर शब्द पढ्ने मौका पाउनु, जस्तै क–म–ल, पहिलो कक्षाका बच्चाहरूका निम्ति एक प्रकारको यातना नै हो । पढ्न सिकाउने यस्ता पारम्परिक विधिले बच्चालाई स्कूलप्रति निरुत्साहित बनाउँछन् । निरुत्साहित मात्रै बनाउदैन निराश र अरूका दृष्टिमा बदनाम पनि गर्छ । त्यती मात्रै होईन् नेपालका सिन्जा, मगरात,नेवा ,मिथिला, किराँत र थारू सभ्यताहरु छन् । यी सभ्यता वारे नेपालीलाई नै थाहा नहुने अवस्था भैसकेको छ । त्यस्तै गरी भाषा र संस्कृति पनि विस्तारै ओझेलमा परिसकेको छन् । मानव सभ्यता, संस्कार र संस्कृतिको वारेमा पढ्ने विद्यार्थी छैनन् । ती सभ्यता शिक्षाले बुझाउन सकेन । व्यवहारिक ज्ञान दिलाउन सकेन ।

हाल यो पंत्तिकार बागलुङको तमानखोलामा कार्यरत छ । यहाँको हालत पनि ठया्कै उस्तै छ । मलाई एकदम पीडाबोध भयो । पालिकाभर २१ विद्यालय छन् । जहाँ शिक्षक निर्देशित शिक्षण सिकाई, लेख्य रुपमा मात्र होमवर्क र कलास वर्क दिने ‘पुरातन चलन’ छ । अध्ययन गर्नू दिनु गृहकार्य मानिदैन् । ‘केही विद्यालय’ र पालिकामा एउटा पुस्तकालय भएपनि पठन संस्कृतिको विकास भएको खासै देखिदैन् । न वडास्तरीय वाचनालय छ न कुनै सामुदायीक पुस्तकालय, न सामुदायीक सुचना केन्द्रले पठन संस्कृतिबारे काम गर्दछ । यसरी हेर्दा जुन सांस्कृतिक स्थितिका बीच हाम्रा स्कूलहरू चलिरहेका छन्, त्यहाँ केटाकेटीले पाठ्य पुस्तक ‘इतर’ पढ्नुलाई उति राम्रो कुरै मानिंदैन ।

विद्यालयमा पठन सीपको विकास गर्न नसकेकै कारण सुरुचीपूण पठनपाठन नहुने, पढाइमा गहिरो ध्यान नहुने सकेसम्म पढाइवाट उम्कने प्रवृति विद्यार्थीमा देखिन्छ । सफल हुन,ज्ञानको प्राप्तीका लागि पढ्ने भन्दा वार्षिक परीक्षामा पास हुनैका लागि मात्र पढ्ने विद्यार्थीहरु हामीले उत्पादन गरिरहेका छौँ । यसको मूल कारण पठन सीप विकासलाई उचित महत्व नदिनु नै हो । यसले विद्यार्थीहरुको सिकाइ नतिजा मात्र कमजोर नभइ समग्र शिक्षा प्रणालीको सफलता माथि समेत प्रश्न चिन्ह तेस्राएको छ । वर्तमान् समयमा हामीले बटुलेका साराका सारा ज्ञानहरूको उद्गमबिन्दु हाम्रै पठन संस्कृति हो । अहिले कम पढेका व्यक्तिहरू नै राज्यको उच्च निकायमा छन् र उनीहरूले नै देश हाँकिरहेका छन् । राम्रोसँग पढेलेखेको योग्य जनशक्ति आफ्नो भविष्य देशभित्र नदेखेर दिन प्रतिदिन विदेशतिर पलायन भइरहेको छ । राजनीतिक क्षेत्रमा अध्ययनशील व्यक्तित्वको उपस्थिति अत्यन्त न्यून रहनु भनेको राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय हो । जनप्रतिनिधि भएपछि पनि पढ्नुपर्छ र निरन्तर अध्ययनशील हुनुपर्छ भन्ने संस्कार हामीकहाँ विकसित नै हुन सकेन । जसका कारण नीतिनिर्माण तहमा बस्ने हाम्रा जनप्रतिनिधिहरूमा पढाइप्रतिको उपेक्षाभावले गर्दा सर्वसाधारण नागरिकहरूमा पढाइप्रति अभिरुचि जगाउन सकिएन ।

सूचना–प्रविधि र पठन संस्कृति
प्राचीन समयमा गुरुका मुखबाट सुनेकै भरमा ज्ञान आर्जन गरिन्थ्यो । त्यसैले वेदलाई श्रुति भनिएको होला । कथ्यज्ञान र श्रुतज्ञानलाई लिपिबद्ध गर्दै जाने सन्दर्भमा लेखोट युगको प्रारम्भ भएको होला । आदिकवि भानुभक्त आचार्यका पालामा हातैले लेखेर प्रतिलिपिहरू तयार पार्दै ज्ञानको विस्तार गरिन्थ्यो । २००७ सालमा प्रजातन्त्र आएसंगै नेपालमा सर्वसाधारण जनतामा समेत पठन संस्कृतिको प्रारम्भ भएको हो । त्यसपछि करिब छ दशकसम्म नेपालमा पठन संस्कृतिको द्रुततर विकास भयो । पछिल्लो डेढ दशकदेखि नेपालमा भएको सूचना प्रविधिको द्रुततर विकासले गर्दा पुस्तकलाई नै अध्ययनको मूल आधार बनाउने पाठकहरूको संख्या निरन्तर घट्दो छ ।

सूचना प्रविधिअन्तर्गत विशेषतः फेसबुक र युट्युबले गर्दा धेरै पाठकहरूको अध्ययनशीलतामा ह्रास आएको छ । आफ्नो ज्ञानलाई अद्यावधिक गर्न सूचना र प्रविधिले सघाउँछ भनेर त्यसको सदुपयोग गर्ने शिक्षक तथा प्राध्यापकहरू पनि कम छन् भने आफ्नो कक्षागत पिरियड सकिने बित्तिकै पुस्तकलाई भन्दा मोबाइललाई साथी बनाउने गुरुहरूको कमी छैन । गुरुहरूकै सिको गरेर मात्र होइन घरमा आफ्नै आमाबुवा पनि मोबाइलमै घोप्टिएको देखेर इन्टरनेटको पहुँच भएका ठाउँमा आजका धेरैजसो विद्यार्थीहरू मोबाइल र ल्यापटपमा घोप्टिरहने रोगले ग्रस्त भएका छन् । इन्टरनेटले सबैलाई चलाख मात्र बनाएको छैन सिर्जनात्मक शक्तिमा पनि धेरैलाई कमजोर बनाएको छ ।

पठन संस्कृतिको विकास गर्ने कसरी ?
पठन संस्कृतिको विकासका लागि विद्यालय र पालिकाको भूमिका अपरिहार्य हुन्छ । विद्यालयले निर्देषित कार्यमा लगाएर लर्नरलाई कन्ट्रोल गर्ने होइन्, असल पाठक र ज्ञानको अध्येताको रुपमा विकास गर्ने सोच राख्नुपर्छ । परीक्षामा राम्रो नतिजा दिने हिसावले मात्र नभइ ज्ञानको खोजीमा अभ्यस्त हुने चिन्तनशील लर्नरको उत्पादन र विकास गर्ने लक्ष्य लिनुपर्छ । विद्यार्थीहरुको सिकाइ नतिजा कमजोर हुनुभनेको समग्र शिक्षा प्रणालीको असफलता समेत हो । आफु खुशी पढ्ने र सिक्ने विद्यार्थीको विकास नै शिक्षा प्रणालीको सफलता हो । प्रत्येक शिक्षण संस्थाहरूमा विद्यार्थी केन्द्रित ससाना पुस्तकालय स्थापना गर्ने, तिनको व्यवस्थापन र पाठ्यक्रमभन्दा अतिरिक्त पुस्तकहरू पनि पढ्नुपर्छ भन्ने चिन्तनतर्फ हाम्रा शिक्षण संस्थाहरूको ध्यान आकृष्ट गर्न जरुरी छ । तबमात्रै विषयगत पुस्तकका अलावा अन्य विषयका पुस्तकहरूको पठनमा रूझान राखेको खण्डमा विधार्थीहरूले किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान पनि सँगसँगै आर्जन गर्न सक्छन्।
त्यसको लागि तमानखोलाका प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीलाई प्रत्येक हप्ताको कुनै एकदिन पुस्तकालयको उपयोग गरेर स्वतन्त्र लेखनका लागि प्रोत्साहन गर्न सक्छन् ? पुस्तकालयप्रति जनचेतना अभिवृद्धि गरी के पढ्ने ? किन पढ्ने ? बहस छलफल आयोजना गर्न सक्छन् ? विद्यालयले ‘रिडिङ क्लब’को स्थापना गरी ‘नयाँ पुस्तकमा के छ ?’ जस्ता समीक्षात्मक भिडियोहरू फेसबुक युट्युवमा राखेर विद्यार्थीलाई नयाँ पुस्तक पढ्न प्रेरित गर्न सक्छ ?
वा कि कुनै भित्रे पत्रिका वा जर्नल प्रकाशन गरि प्रतिभावान् विद्यार्थीका सिर्जनालाई प्रकाशन प्रसारण गर्ने ल्याकत राख्छन् ? कि पालिकाको सामाजिक विकास शाखाले पुस्तकालय सञ्चालकहरूकै अग्रसरतामा जनप्रतिनिधिलाई जनताले हप्तामा न्यूनतम एकघण्टा भए पनि पुस्तकालयमा रहेर अध्ययन गर्न सकेमा जनसेवा प्रभावकारी हुन्छ भन्ने अभियान चलाउन सक्छ ?
वा पालिकाले हरेक वडामा वाचनालय स्थापना गरी नयाँ पुस्तक पढ्न प्रेरित गर्न सक्छ ? सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि पठन संस्कृति विकास गर्न के पालिकाले एक विद्यालय एक पुस्ताकालय, एक गाँउ एक वाचनालय र पठन संस्कृति अभियान र कार्यशाला संचालन गर्न सक्छ ? जनचेतना र ज्ञानको विस्तार गर्ने उद्देश्यले निर्मित गाँउपालिका अध्यक्ष पुस्तकालयले पठन संस्कृतिको विकास स्वं सिकाइमा अभ्यस्त गराउन सक्छन् ?
मैले माथि कतै भनेको छु आफु खुशी पढ्ने र सिक्ने विद्यार्थीको विकास नै शिक्षा प्रणालीको सफलता हो । मन लगाएर पढ्न ध्यान दिने वच्चाले विद्यालय शिक्षामा राम्रो गर्न सक्छ ।वालवलिकाहरु आफै पढ्न र सिक्न इच्छुक नभएसम्म न उनीहरु सिकाइको विंगहम संसारमा प्रवेश गर्न सक्दछन् । नत नै जीवनको मार्गमा सफलता चुम्न सक्छन् ।

निष्कर्ष
पठन संस्कृतिले प्रत्येक व्यक्तिको सोच्ने शक्तिलाई फराकिलो बनाउँछ । पठन संस्कृतिमा रमाउने व्यक्ति सबैका दृष्टिमा सम्मानित हुन्छ । ज्ञानको प्रसारण, ज्ञानको उत्पादन र ज्ञानको विनिर्माणमा अहोरात्र डट्न सक्ने विद्यार्थीहरुको विकासको आधार भनेकै पठन संस्कृतिको विकास हो । पठन संस्कृतिको विकासको आधार भनेकै पठनसीपको विकास हो । पठनसीपको विकासको आधार भनेकै अध्ययन अध्यापनमा पठनसीपले केन्द्रीय स्थान प्राप्त गर्नु हो । सिकाउनेले सिक्नेलाई सिकेका कुरा व्यवहारमा प्रयोग गर्न लगाउन सके मात्र सिकाइ सार्थक हुन्छ । अनि मात्र त्यस्तो सिकाइलाई प्रभावकारी मान्न सकिन्छ । सिकाइमा जति सिकारु जागरुक हुन्छ त्यति नै बढी जान्ने र बुझ्ने हुन्छ । सिकाइलाई प्रभावकारी बनाउन जति–जति नयाँ प्रविधि र विधि प्रयोग गरिन्छ, त्यति नै सिकारुमा सिक्ने इच्छा र चासो बढ्छ । आजको सिकाइ प्रक्रिया विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने नै हो । यसैले समग्र शिक्षण सिकाइमा पठन सीपलाई केन्द्रमा राख्ने शिक्षण सिकाइ प्रक्रियाको विकास गरौं । पठन संस्कृतिमा अग्रसर हुन थालेपछि शिक्षकहरूले घोकाउन अनि विद्यार्थीले घोक्न रुचाउँदैनन् । पठन संस्कृतिले व्यक्ति स्वयंको मात्र होइन उसको परिवार, समाज र समग्र देशकै बौद्धिकस्तरको वृद्धिमा महत्वपूर्ण सहयोग पुर्रयाउँछ । के तपाईं मेरो कुरामा सहमत हुनुहुन्छ ? यदी सहमत हुनुहुन्छ भने, तपाईंले आफ्नो ठाँउबाट पठन संस्कृतिको विकासमा के पहल गर्ने त ?

(लेखक तथा पत्रकार अधिकारी हाल बुद्ध आवि, तमानखोला १, स्याउलामा कार्यरत छन् । )

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित