४० वर्षमुनिका युवा उम्मेदवारको संख्या अघिल्लो संसदीय निर्वाचनमा ३४.८४ प्रतिशत र गत स्थानीय निर्वाचनमा ४१ प्रतिशत रहेकामा यसपालि ३० प्रतिशत मात्रै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ युवा उम्मेदवारको संख्या थप घटेको छ ।
प्रमुख राजनीतिक दलले आकांक्षी युवालाई टिकटमा वञ्चित गर्दा २०७४ को संसदीय र गत स्थानीय निर्वाचनमा भन्दा कम युवाको उम्मेदवारी परेको हो । प्रतिनिधिसभाको १ सय ६५ सिटमा २ हजार ५ सय ३१ र प्रदेशसभाको ३ सय ३० सिटमा ३ हजार ४ सय ८१ गरी ६ हजार १२ जना उम्मेदवार छन्, जसमध्ये २५ देखि ४० वर्षसम्म उमेर समूहका १ हजार ८ सय ५३ जना अर्थात् ३० दशमलव ८२ प्रतिशत मात्रै युवा छन् । २०७४ को निर्वाचनमा ३४.८५ प्रतिशत युवा उम्मेदवार थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका ५ हजार १ सय ९० जनामध्ये १ हजार ८ सय ९ अर्थात् ३४ दशमलव ८५ प्रतिशत ४० वर्षमुनिका थिए ।
पाँच महिनाअघि भएको स्थानीय तहको निर्वाचनमा १ लाख ४५ हजार १३ उम्मेदवारमध्ये ५९ हजार ४ सय ७२ जना अर्थात् ४१ प्रतिशत युवा थिए । स्थानीय तहमा ४० वर्षभन्दा कम उमेरका १४ हजार ४ सय ४ जना निर्वाचित भएका छन्, जुन बहालमध्ये ४० प्रतिशत हो । यस पटक प्रतिनिधिसभा सदस्यमा २५ देखि ४० वर्षसम्म उमेर समूहका ७ सय ८३ जना उम्मेदवार छन् । २५ वर्षका उम्मेदवार २० जना छन् । ४१ देखि ९९ वर्ष उमेरसम्मका १ हजार ७ सय ४८ जना अर्थात् ६९ प्रतिशत छन् ।
८० वर्षदेखि ९९ वर्षसम्मका १० जना छन् । ९९ वर्षीय टीकादत्त पोखरेलले गोरखा–२ मा नेपाली कांग्रेस बीपीका तर्फबाट उम्मेदवारी दिएका छन् । राप्रपाका ८७ वर्षीय युवराम गौतमले तेह्रथुम, ८० वर्षका लोसपाका महन्थ ठाकुरले महोत्तरी–३, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बागलुङ १, स्वतन्त्रबाट हृदयनारायण प्रसाद बरैले पर्सा–१ बाट उम्मेदवारी दिएका छन् । यस्तै, माओवादीबाट ८५ वर्षीय महिन्द्रराय यादवले सर्लाही ३, स्वतन्त्रबाट ८५ वर्षकै विष्णुप्रसाद ढकालले काठमाडौं–६ र ८४ वर्षीय पशुपतिनाथ तिमिल्सिनाले स्वतन्त्रबाट कास्की–३ मा उम्मेदवारी दिएका छन् । त्यस्तै डडेलधुरामा ८४ वर्षकै कर्णसिंह रावल र ८१ वर्षका कृष्णराज गिरीले बारा–१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेशसभामा २५ देखि ४० वर्षसम्मका १ हजार ७० युवाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्, यो कुल उम्मेदवारीको ३०.७३ प्रतिशत हो । २५ वर्षका उम्मेदवार ३२ जना छन् । ४० वर्षमाथिका उम्मेदवार २ हजार ४ सय ११ र ८० वर्षभन्दा माथिका ४ जना उम्मेदवार छन् । पर्वत १ (२) बाट राप्रपाका ८५ वर्षीय बालकृष्ण पौडेलले उम्मेदवारी दिएका छन् । म्याग्दी १ (२) मा ८१ वर्षीय झलकबहादुर बानियाँले राप्रपाबाटै उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । ८० वर्षका जयप्रसाद चौलागाईंले झापा–४ (२) मा स्वतन्त्र र दिलबहादुर सोदेम्बाले तेह्रथुम–१ (२) लोसपाबाट उम्मेदवारी दिएका छन् । प्रदेशसभाका उम्मेदवारमध्ये सबैभन्दा बढी ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ६८ जना छन् । ६० देखि ६९ उमेर समूहका ४ सय ८ जना छन् ।
प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षतर्फ राप्रपाका १ सय ४५, एमालेका १ सय ४४, राष्ट्रिय स्वतन्त्र पार्टीका १ सय ३३, कांग्रेसका ९२, लोसपाका ५३, माओवादीका ४७, जसपाका ३४ र एकीकृत समाजवादीका २५ जना उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि ९ सय ४४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्यमा स्वतन्त्र १ हजार २ सय ७८, राप्रपाका २ सय ८२, एमालेका २ सय ८६, कांग्रेसका १ सय ८७, माओवादीका १ सय १६, जसपाका १ सय ४५, एकीकृत समाजवादीका ८५ र लोसपाका ७८ जना उम्मेदवार छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महिला उम्मेदवार २ सय ३५ जना अर्थात् ९.२८ प्रतिशत मात्रै छन् । कांग्रेसले ६, एमालेले १२, माओवादीले ८, एकीकृत समाजवादीले १ जना महिलालाई मात्र टिकट दिएका छन् । सबैभन्दा बढी उम्मेदवार उठाएको राप्रपाले पनि ८ जना महिला मात्र समेटेको छ । जसपाबाट ७ जना र लोसपाबाट ३ जना महिला उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिने महिला ८५ जना छन् ।
प्रदेशमा ३ हजार १ सय ८३ पुरुष र २ सय ९७ जना महिला उम्मेदवार छन् । प्रदेशमा ८.५३ प्रतिशत मात्रै महिला उम्मेदवारी परेको हो । कांग्रेसले ५, एमालेले ११, माओवादीले ९, एकीकृत समाजवादीले ७, लोसपाले ८, जसपाले १३, राप्रपाले १८ महिला उम्मेदवार उठाएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका महिला १ सय ८ जना छन् । दुवै सभामा गरी पुरुष उम्मेदवार ५ हजार ४ सय ७९ (९१.१३ प्रतिशत) र महिला ५ सय ३२ (८.८४) छन् । तेस्रो लिंगी (प्रदेशसभा) एक जना छन् । सर्लाही–२ (२) मा नेपाली जनता पार्टीबाट उम्मेदवारी दिएका महेन्द्र साह तेली तेस्रो लिंगी हुन् ।
आमनिर्वाचनमा युवा उम्मेदवारको संख्या विगतमा भन्दा कम भए पनि राजनीतिप्रति सचेतना र जागरण बढेको राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेत दाबी गर्छन् । ‘उम्मेदवारी दिनेको संख्या स्थानीय तहको निर्वाचनमा भन्दा कमी हो,’ उनले भने, ‘पुरानो पुस्तामा युवाको दबदबा बढेको छ तर उम्मेदवारी दिनेको संख्या अझै सन्तोषजनक छैन । कानुनमै युवा कति प्रतिशत हुने भन्ने यकिन नभएसम्म यस्तै हुन्छ । दलहरूले युवालाई मार्ग प्रशस्त्र नगरेका कारण स्वतन्त्र उम्मेदवारी पर्ने गरेको छ ।’ उनले भनेजस्तै स्वतन्त्रबाट उम्मेदवारी दिने ४० वर्षभन्दा कम उमेरका ३ सय ७३ जना छन् ।
युवा परिषद्का पूर्वउपाध्यक्ष माधव ढुंगेलले दलले विश्वास नगरेकै कारण युवा उम्मेदवार कम भएको बताए । ‘युवा उम्मेदवार कम्तीमा ४० प्रतिशत हुनुपर्थ्यो । नयाँ पुस्ता युवा प्रवेशले परिवर्तनमा आशा जगाउन सक्छ । तर युवा दलको विश्वासमा पर्न सकेनन्,’ उनले भने ।