बागलुङ — नेपाली कांग्रेस बागलुङका नेता तथा गण्डकी प्रदेशसभा सदस्य द्रोण कुमार कुँवरले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका कुँवरले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय प्रतिनिधिका रूपमा भारी मतसहित विजयी हुनुभएको थियो।
पश्चिम बागलुङको विकास र सामाजिक क्षेत्रमा सक्रिय नेताका रूपमा स्थापित कुँवरले अब पार्टीको केन्द्रीय नेतृत्वमा रहेर आफ्नो राजनीतिक अनुभव र भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताउनुभएको छ।
कुँवरले आफ्नो उम्मेदवारीबारे जानकारी दिँदै पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूबाट सहयोग र समर्थनको अपेक्षा गर्नुभएको छ। उहाँले आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउनका लागि सबै मतदातासँग सहयोगको अपिलसमेत गर्नुभएको छ।

गण्डकी प्रदेशसभामा रहेर पश्चिम बागलुङका विभिन्न विकास तथा जनसरोकारका विषयमा आवाज उठाउँदै आउनुभएका कुँवरको केन्द्रीय सदस्य पदमा उम्मेदवारीलाई बागलुङ कांग्रेसभित्र चासोका साथ हेरिएको छ।

















