बागलुङको बुर्तिबाङ अस्पतालमा बिहीबार फेरी भेटौँला र स्वागत कार्यक्रम सम्पन्न भएको छ । बुर्तिबाङ अस्पतालमा कार्यरत कार्यालय प्रमुख डा.अबिनाश पोखरेलको बिदाइ गरिएको छ भने डा.विज्ञान लामिछानेलाई बुर्तिबाङ अस्पतालमा स्वागत गरिएको छ । बिदाइ भएर सरुवा भइ मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जान लाग्नु भएका डा. पोखरेलले आफ्नो करिब सभा एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको र आफु आउदाको सुरुवाती चरणमा कर्मचारी व्यवस्थापन नभएको अवस्था, औषधी र ल्यावको स्टक, बजेटको अभाव भएको अवस्थामा, सामान्य अप्रेसन समेत नहुने अवस्था र सर्वसाधरणले अस्पतालप्रति विश्वास नगर्ने अवस्थामा पनि आफुलाई सहयोग गर्ने कर्मचारी, डाक्टर, बुर्तिबाङमा अवस्थित विभिन्न संघसस्था, व्यवस्थापन समितिका पदाधिकारी लगायतलाई धन्यवाद दिनुभएको थियो । अहिले यी सबै समस्यामा सुधार आएको उहाँले बताउनुभयो । आफ्नै कार्यकालमा यस अस्पतालमा प्रेगनेन्सी सल्यक्रिया, ल्याव व्यवस्थापन, एनएसआइ, औषधी व्यवस्थापन लगायतका धैरै काममा स्तरउन्नति भएको बताउनुभएको छ । अझै पनि सरसफाइ व्यवस्थापन, विद्युतीय सेवा, अझै विशिष्टिकृत अप्रेसन सेवा लगायतका कामहरुमा सुधार हुने अपेक्षासहित सुझाव दिनुभएको थियो ।
त्यस्तै बुर्तिबाङ अस्पतालमा आउनु भएका डा. विज्ञान लामिछानेले मुस्कान सहितको सेवा दिनका लागि आफु यहाँ आएको बताउनु भएको छ । टिममा काम गरेमा सफल हुने भएकाले अस्पतालका सम्पूर्ण टिमले मिलेर काम गरौँ , मिलेर काम गर्ने हो र बुर्तिबाङ अस्पताललाई अझ माथि उकास्नका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । अस्पतालमा आउने बिरामीलाई सकेसम्म रेफर नगर्ने तरिकाले कार्य गर्ने बताउनुभएको छ ।
त्यस्तै व्यवस्थापन समितिका अध्यक्ष कमल भुसालले बुर्तिबाङ अस्पताललाई स्तरउन्नति गर्नका लागि अहोरात्र खटिने डा. अबिनाश पोखरेल सहतिको टिमलाई आभार व्यक्त गर्नुभएको थियो । दादुरा जस्तो महामारीमा पनि डा. पोखरेलको समूहले उदाहरणीय काम गरेको भन्दै आगामी कार्यकाल तथा सुखद बसाइको कामना गर्नुभएको थियो भने भर्खरै आउनुभएका डा. लामिछानेलाई पनि उदाहरणी कार्य गर्नका लागि सुझाव दिनुकोसाथै व्यवस्थापन समितिको तर्फबाट भरपुर सहयोग रहने बताउनुभएको थियो ।
कार्यक्रममा अस्पतालका पूर्व व्यवस्थापन समिति अध्यक्ष टंक पौडेल, ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्मा लगायतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा लायन्स क्लव अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्ति, इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रमुख तिलक मानन्धर, अस्पतालका डाक्टर, नर्स, अन्य कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
बुर्तिबाङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुसालको अध्यक्षता र प्रशासन शाखाका प्रमुख झम र्सिपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बुर्तिबाङ अस्पतालद्वारा फेरी भेटौँला र स्वागत कार्यक्रम सम्पन्न ।

















