बागलुङ । बाढीपहिरोका कारण प्रभावित बनेका निसीखोला गाउँपालिकाका ६५ परिवारलाई कर्मफ्लाइट्स फाउन्डेसन नेपालले खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ ।
गत असोज १० र ११ गते आएको बाढीपहिरोका कारण घर पूर्णरूपमा क्षति भएका तथा उच्च जोखिममा रहेका निसीखोला गाउँपालिका–३ र ४ का परिवारलाई लक्षित गरी राहत वितरण गरिएको हो । सडक अवरुद्ध भई यातायातमा कठिनाइ भइरहेका बेला प्रभावित क्षेत्रमै राहत सामग्री पुर्याइएको जनाइएको छ ।
राहत सामग्रीमा चामल, दाल, नुन, खानेतेल, ब्ल्याङ्केट, त्रिपाललगायतका खाद्यान्न तथा अत्यावश्यक सामग्री रहेका छन् । स्थानीय जनप्रतिनिधि, गाउँ कार्यपालिका र समुदायको समन्वयमा प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
यसैबीच, बाढीपहिरोबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय झिवाखोलामा आश्रय लिएर बसेका सात जना प्रहरी कर्मचारीलाई समेत कर्मफ्लाइट्सले छुट्टै राहत प्याकेज उपलब्ध गराएको छ । उनीहरूका लागि म्याट्रेस, चामल, ब्ल्याङ्केट, खानेतेल, ग्यास चुलो, ग्यास सिलिन्डर, खाना पकाउने भाँडाकुँडा, थाल, गिलासलगायतका सामग्री उपलब्ध गराइएको छ ।


राहत वितरण तथा समन्वयमा निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती, उपाध्यक्ष प्रेमबहादुर घर्ती, वडा नं. ३ का अध्यक्ष रमेश विक्रम शाही, वडा नं. २ का अध्यक्ष कुबिर विकलगायत जनप्रतिनिधि तथा गाउँ कार्यपालिकाका सदस्यहरूको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले विपद्का कारण प्रभावित परिवारलाई तत्काल राहत पुर्याउन स्थानीय सरकार तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग महत्वपूर्ण भएको बताउनुभयो । उहाँले अझै केही प्रभावित परिवार राहतको पहुँचमा आउन बाँकी रहेकाले आगामी चरणमा उनीहरूलाई समेत समेट्न आग्रह गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले सडक अवरुद्धजस्तो कठिन अवस्थामा समेत कर्मफ्लाइट्सले तत्काल राहत सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्रभावित परिवारका आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोगलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

वडा नं. ३ का अध्यक्ष रमेश विक्रम शाहीले कर्मफ्लाइट्सले उपलब्ध गराएको राहत सामग्री परिमाण र गुणस्तरका हिसाबले उल्लेख्य रहेको बताउनुभयो । उहाँका अनुसार विपद्को कठिन समयमा प्राप्त यस सहयोगले प्रभावित समुदायलाई ठूलो राहत पुगेको छ ।
कर्मफ्लाइट्स फाउन्डेसन नेपालको राहत अभियानको स्थानीयस्तरमा अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीको नेतृत्वमा समन्वय गरिएको थियो । ज्ञानबहादुर विक र स्वास्थ्यकर्मी चेबबहादुर कुँवरले लजिस्टिक व्यवस्थापन गर्नुभएको थियो भने निसीखोला–बागलुङ–पोखरा सम्पर्क समाजका सचिव तथा स्थानीय समाजसेवी सन्तोष रेग्मीले गाउँपालिकासँग समन्वय गर्नुभएको थियो ।
कर्मफ्लाइट्सका लजिस्टिक संयोजक ज्ञानबहादुर विकका अनुसार राहत सामग्री, ढुवानी तथा अन्य लजिस्टिक व्यवस्थापनसहित अभियानको कुल लागत करिब ६ लाख रुपैयाँ रहेको छ ।
कर्मफ्लाइट्स फाउन्डेसन नेपालका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले स्थानीय सरकार र समुदायसँग समन्वय गर्दै तत्काल आवश्यकतामा रहेका परिवारसम्म राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । उहाँले आवश्यकताको आधारमा आगामी चरणमा समेत थप सहयोगका लागि समन्वय गरिने जानकारी दिनुभयो ।
यसअघि निसीखोला गाउँपालिकाले समेत बाढीपहिरोमा ज्यान गुमाएका तथा घर संरचना पूर्णरूपमा क्षति भएका र उच्च जोखिममा रहेका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गाउँपालिकाका अनुसार मृतक परिवारलाई प्रतिमृतक ५० हजार रुपैयाँ र थप मृतक भएमा प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले सहयोग गरिएको छ ।
निसीखोला–३ का ओमलाल विकको परिवारलाई १ लाख २५ हजार रुपैयाँ तथा पूर्ण क्षति भएका ३९ परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँ र उच्च जोखिममा रहेका २३ परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आगामी चरणमा राहतको पहुँचमा आउन बाँकी प्रभावित परिवारको पहिचान गरी आवश्यकताका आधारमा थप राहत तथा सहयोगका लागि समन्वय गर्ने जनाएको छ ।

















