बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका भित्र कार्यरत संघीय बालविकास केन्द्रका बाल विकास केन्द्रका शिक्षक र कार्यालय सहयोगीहरुको खाईपाई आएको सेवासुविधा कटौती गरिएको भन्दै नगरपालिकालाई बिहीबार ध्यानआर्कषण पत्र बुझाइएको छ । नगरपालिका अन्तर्गतका विद्यालय तथा प्रारम्भिक बालविकास केन्द्रहरुमा कार्यरत बाल विकास केन्द्रका शिक्षक र कार्यालय सहयोगीहरूले बालबालिकाको सिकाइ, हेरचाह तथा विद्यालयको प्रशासनिक र भौतिक व्यवस्थापनमा निरन्तर निष्ठापूर्वक र इमान्दारीताका साथ सेवा प्रदान गर्दै आएको तर नगरपालिकाले आफ्नो पारिश्रमिक कटौती गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
नेपाल सरकार तथा स्थानीय तहको साझेदारीमा बाल विकास केन्द्र शिक्षक र कार्यालय सहयोगीहरुलाई उपलब्ध गराइदै आएको न्युनतम पारिश्रमिक भत्ता मध्ये हाल ढोरपाटन नगरपालिकाबाट हामीले पूर्वःवत रुपमा खाइपाई आएको रकम कटौती भएको प्रति हामी सम्पुर्ण बाल–विकास शिक्षक र कार्यालय सहयोगीहरु गम्भिर चिन्तित बनेका छौँ, ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
अहोरात्र विद्यालय र बालबालिकाको सेवामा समर्पित न्युन बैतनिक कर्मचारीहरुको सेवासुविधा वृद्धि हुनु पर्नेमा उल्टै खाइपाई आएको रकम कटौती हँुदा कर्मचारीहरुको मनोवल खस्कनुको साथै बर्तमान महङ्गीको समयमा दैनिक जीवन यापनमा समेत ठुलो समस्या सृजना भएको उनीहरुको गुणानो रहेको छ ।
दुबै पदका कर्मचारीहरुको योगदानको उचित कदर गर्दै विगतमा खाइपाई आएको सम्पूर्ण रकम सुविधा यथावत रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइदिनका लागि नगरपालिका समक्ष ध्यानाकार्षण पत्र मार्फत जोडदार माग गरिएको छ । न्याययोचित मागहरुलाई सिघ्र सम्बोधन नगरिएमा कानुनी तथा चरणबद्ध विरोधका कार्यक्रम अगाडि बढाउने कार्यालय सहयोगी र बालविकास केन्द्रमा कार्यरत सहजकर्ताहरुको संयुक्त टोलीका संयोजक जीवन गैरेले बताउनुभयो । ध्यानकार्षण पत्र कार्यबाहक नगरप्रमुख र शिक्षा शाखाका प्रमुखलाई हस्तान्तरण गरिएको छ ।
यता नगरपालिकाले भने स्रोतको अभावका कारण तलवको समायोजन गरिएको बताएको छ । नगरपालिकाले आफ्नो स्रोतबाट थप गरेको तलबमा मात्र समायोजन गरेको बताएको छ । संघीय सरकारले दिदै आएको तलबमा बालविकास सहजकर्तालाई नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ७ हजार थप गरेकोमा यसपालिको आर्थिक वर्षमा आर्थिक स्रोतको अभावका कारण ४ हजार मात्रै थप गरिएको बताएको छ । शसर्त अनुदानबाट आएको बजेटले नगरपालिकामा कार्यरत अन्य नगर अनुदानका शिक्षक तथा कर्मचारीको तलब व्यवस्थापन गर्नु परेको र यो कानुनी रुपमा मान्यता नभएता पनि नगरपालिकाको पहलमा पारिश्रमिक उपलब्ध गराउदै आएको नगरपालिकाका कार्यबाहक नगरप्रमुख धन बहादुर कायत कल्याणले बताउनुभएको छ । आगामी कार्यपालिकाको बैठकबाट केही निर्णय भएमा मात्र संघीय तहबाट तलब भत्ता बुझ्दै आउनुभएको कर्मचारीको बारेमा केही सोच्न सकिने बताउनुभएको छ । त्यस्तै विद्यालयमा कार्यरत कार्यालय सहयोगीको संघीय सरकारबाट आएको अघिल्लो आवमा मासिक १० हजार रुपैँया र यसपटक थप गरेको ५ हजार गरी मासिक १५ हजार रुपैयाँ तलबमा नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा कक्षा १–५ चलेको हकमा मासिक ७ हजार, ६–८ चलेकोमा ७ हजार ५ सय र कक्षा ९–१२ सञ्चालन भएको विद्यालयका कार्यालय सहयोगीलाई ८ हजार रुपैयाँका दरले थप पारिश्रमिक उपलब्ध गराएको नगरपालिकाले यस आर्थिक वर्षदेखि भने सबै तहका कर्मचारीलाई ५ हजार ५ सय रुपैयाँ मात्र थप गरेको छ । तर बालविकास सहजकर्ता र कार्यालय सहयोगीले भने अघिल्लो आर्थिक वर्षमा जति थप गरिएको थियो त्यो रकम यथावत हुनुपर्ने माग गरेका छन् ।
संघीय सरकारले अघिल्लो आर्थिक वर्षमा बालविकास सहजकर्तालाई मासिक १२ हजार दिदै आएकोमा यस पटक ५ हजार रुपैयाँ थप गरेर १७ हजार पु¥याएको छ र यसमा नगरपालिकाले ४ हजार थप गरेर २१ हजार रुपैयाँ पु¥याएको छ । तर उनीहले अघिल्लो वर्षमा थप गरेरको ७ हजार रुपैयाँ यथावत् राखेर मासिक २४ हजार रुपैँया हुनुपर्ने माग राखेका हुन् ।
संघीय तहका बालविकास केन्द्रहरु २४ ओटा रहेका छन् भने नगरपालिकाले सञ्चालन गरेका बाल विकास केन्द्रहरु ४२ वटा रहेका छन् । जसमा १९ हजार रुपैयाँ मासिक पारिश्रमिक उपलब्ध गराइएको छ । त्यस्तै प्राथमिक तहमा कार्यरत नगरअनुदान शिक्षक २८ जनालाई मासिक तलव २१ हजार, आधारभूत तह कक्षा ६–८ चलेका विद्यालयमा कार्यरत शिक्षकलाई मासिक २३ हजार, कक्षा ९–१२ चलेका विद्यालयमा कार्यरत शिक्षकको ३४ हजार र कक्षा ११–१२ सञ्चालन भएका विद्यालयमा कार्यरत नगर अनुदानका शिक्षकलाई मासिक ४७ हजार पाँच सयका दरले पारिश्रमिक उपलब्ध गराउँदा नगरपालिकालाई आर्थिक भार थपिएको नगरप्रमुख कायतले बताउनुभएको छ । स्रोतको सुनिश्चिता भएको खण्डमा मात्र आन्दोलनरत शिक्षक तथा कर्मचारीको माग पुरा गर्न सकिने नगर प्रमुख कायतले बताउनुभएको छ । ध्यानकार्षण पत्र बुझाउने कार्यक्रममा कार्यबाहक नगरप्रमुख धन बहादुर कायत, शिक्षा शाखा प्रमुख शितल पाण्डे, शिक्षा अधिकृत सातौँ पुष्पक दाहाल, शिक्षा अधिकृत छैठौँ ज्ञानेन्द्र सापकोटा, शिक्षक तथा कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

















