निसीखोला गाउँपालिका गाउँसभाको १७ औँ अधिवेशन मङ्गलबार सम्पन्न भएको छ । गाउँपालिकाको १७ औँ सभाबाट १८ लाख बराबरको बजेट योजना तथा कार्यक्रम संसोधन रकमान्तर गरिएको छ ।
गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति द्धारा प्रस्तुत अर्धवार्षिक प्रगति विवरण अनुसार चालु आर्थिक वर्षको कुल ४० करोड ९९ लाख ६५ हजार ९५६ रुपैयाँ मध्ये ३६.९४ प्रतिशत र पूँजीगत तर्फ १२ करोड ७१ लाख २८ हजार ७६ रुपैयाँ मध्ये ८.९२ प्रतिशत बजेट खर्च भएको पाइएको छ ।
हालसम्मको पालिकामा वित्तिय प्रगति ३०.३ प्रतिशत बजेट खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको हो । गाउँपालिकामा बेरोजगारलाई सूचिकृत गरी श्रम मुलक रोजगारी दिने निती अनुसार २२०९ जना सूचिकृत भएको पाइएको छ । गाउँपालिका मार्फत कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक लगायत पूर्वाधारको विकासमा महत्वपूर्ण भूमिका रहेको बताइएको हो ।

गाउँसभा सदस्य, राजनैतिक दलका प्रतिनिधि , कर्मचारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, गाउँसभा सदस्यले पालिकालाई समृद्ध बनाउन, अधुरा रहेका काम पुरा गर्न जनताको हित हुने गरी पालिकाले काम गर्नुपर्नेमा सुझाब दिएका छन ।
मङ्गलबार आयोजित गाउँसभा गाउँपालिका उपाध्यक्ष सहित नेपाली कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधिले बहिष्कार गरेका हुन ।










