बुर्तिबाङ पौष २५ गते
ढोरपाटन नगरपालिकाको वडा नम्बर ७ मा शुक्रबार छातीरोग सम्बन्धी डिजिटल एक्सरे द्धारा छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिकाको आयोजना, प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र बुर्तिबाङ अस्पतालको प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको समन्वयमा ढोरपाटन नगरपालिका ७,८ र ९ का नागरिकलाई लक्षित गर्दे छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम गरीएको हो । कार्यक्रममा स्थानीय ४०२ जना नागरिकले सेवा लिएका छन । जसमध्ये १२ जनामा क्षयरोग पोजेटिभ देखिएपछि आजैदेखि नियमित औषधी सेवन गर्ने गरी आवश्यक परामर्श र औषधी उपलब्ध गराइएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा संयोजक भूमिश्वर शर्माले बताउनु भयो ।
गतबर्ष यस्तै अभियान सुरु गरेको नगरपालिकाले ६०० जनाको परिक्षण गर्दा २१ जनामा क्षयरोग पत्ता लागेको पाइएको छ । यसवर्ष अन्य वडामा समेत डिजिटल एक्सरे द्धारा छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम गरीने जनाइएको छ ।

आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका ७ का अध्यक्ष धन बहादुर अदै को अध्यक्षता गण्डकी प्रदेश स्वास्थ्य मन्त्री कृष्ण पाठकको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य मन्त्री पाठकले बोल्दै स्वास्थ्य क्षेत्रको विकास र दुर्गम ठाउँसम्मका नागरिकको सहज पहुँच वृद्धिका निम्ती गण्डकी प्रदेशले धेरै कामहरू गरिरहेको बताउनु भयो । डिजिटल एक्सरे द्धारा छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम गण्डकी प्रदेशका विभिन्न १३ वटा पालिकामा भइरहेको बताउनु भयो ।
गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले बोल्दै दुर्गम गाउँका स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरीक लाई सहज, सरल र पर्याप्त स्वास्थ्य सेवा दिने गरी आफूहरूले समेत काम गरेको बताउँदै बुर्तिबाङ अस्पतालबाट अव यहाँका नागरिकले थप सेवा सुविधा प्राप्त गर्ने बताउनु भयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै ढोरपाटन नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउँदै नागरिकको स्वास्थ्यका विषयमा नगरपालिका संवेदनशिल भएर लाग्ने बताउनु भयो ।
कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द् गण्डकी प्रदेश पोखरा, बुर्तिबाङ अस्पताल ,प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रतिनिधि, स्वास्थ्य कर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा संयोजकभूमिश्वर शर्मा को सञ्चालनमा सम्पन्न भएको हो ।










