पौष २२ गते बुर्तिबाङ
बडिगाड गाउँपालिका गाउँ सभाको १८ औँ अधिवेशन मङ्गलबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा भएको अधिवेशनबाट बजेट तथा वार्षिक कार्यक्रम माथिको संसोधन बजेट सहित आर्थिक विधयक सभाबाट पास गरिएको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा द्धारा प्रस्तुत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
पालिकाले चालु आर्थिक बर्षमा कुल बजेट तर्फ हालसम्म प्राप्त आम्दानी ३५ करोड ९ लाख ५५ हजार रहेको पाइएको छ । कुल बजेटको ४९.६७ प्रतिशत बजेट प्राप्त भएको मध्यबाट चालु तर्फ २६.९ प्रतिशत र पूँजीगत तर्फ १०.६५ प्रतिशत बजेट खर्च भएको पाइएको हो । पालिकाको चालु आर्थिक वर्षको आन्तरिक आय २९ लाख ९४ हजार ९ सय ६९ रुपैयाँ रहेको पाइएको छ । वडा तहबाटै योजनाको सम्झौता, प्राविधिक टोल टोलमा घटाएर योजनाको लागत स्टेमिट र मूल्याङ्कन जस्ता कामहरू सहज रुपमा भइरहेको बताइएको हो ।

त्यस्तै बहुक्षेत्रीय पोषण मैत्री कार्यक्रम अन्र्तगत ६९ वटा टोलमा पूर्ण सरसफाई तथा पोषण मैत्री टोल घोषणा गरिएको जनाइएको छ । गाउँपालिका उपाध्यक्ष भिमसेन वन द्धारा प्रस्तुत आर्थिक बर्ष २०८२÷०८३ को बजेट तथा वार्षिक कार्यक्रम माथिको १ करोड ४१ लाख ११ हजार रुपैयाँ बराबरको संशोधित बजेट सभामा पेश गर्नुभएको हो । सभाले विधायन समितिका संयोजक जंग बहादुर बलायर थापा द्धारा प्रस्तुत आर्थिक विधयक र संशोधित बजेट तथा कार्यक्रम सभाले पारित गरेको हो ।
कार्यक्रममा सभा सदस्य ईश्वरमान वि.क., राजु थापा, बिष्णु माया अर्याल, लाल बहादुर छन्त्याल द्धारा वडामा अधुरा रहेका सडक योजना गुणस्तरीय बनाउनु पर्ने, स्वास्थ्य संस्थाको विस्तार गर्नुपर्ने विषयमा धारणा पेश गर्नुभएको हो । सभा सदस्यबाट आएका जिज्ञासाको विषयमा सभा अध्यक्ष गण्डकी थापा द्धारा आर्थिक श्रोत, जन अपेक्षा र आवश्यकता आधारमा काम भइरहेको बताउँदै बजेट व्यवस्थापन गरेर आगामी दिनमा त्यस्ता अपुरा, अधुरा योजनालाई समेत पुरा गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदश्य, कर्मचारी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।










