इमेज सहकारी ब्युँताउन बुर्तिबाङमा बचतकर्ताको आम भेला: माघ ६ गते विशेष साधारण सभा गरिँदै

पौष २४ गते बुर्तिबाङ

इमेज बचत तथा ऋण सहकारी संस्थालाई ब्युँताउने विषयमा बुर्तिबाङका इमेज पीडितको बैठक तथा छलफल मंगलबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली विगत ८ महिना देखि सहकारी डुबाएर फरार भएसँगै निरन्तर आन्दोलित भएका पीडित बचतकर्ताले सहकारी ब्युँताउने विषयमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशसँगको परामर्श पछि प्रत्ययक शाखामा बैठक बसेर आगामी माघ ६ गते बागलुङमा साधारण सभा गर्ने गरि आवश्यक तयारी अगाडि बढाइएको छ ।

संस्थापक अध्यक्ष नेपालीले बागलुङमा करिब १५ सय जनाको १ अर्ब ६० करोड रुपैयाँ र पोखरामा ५ सय २४ जनाको ६४ करोड ८८ लाख रुपैयाँ हिनामिना गरेको उजुरी परेको थियो। उजुरी परेपछि नेपालीसहित ११ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो।

इमेज बचत तथा ऋण सहकारीमा बचतकर्ताले राखेको २ अर्ब २४ करोड ८८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नेपालीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि राजनीतिक संरक्षणका कारण प्रहरीले पक्राउ नगरेको पीडितको गुनासो छ।

बुर्तिबाङमा मात्रै १४९ जना बचत कर्ताको ११ करोड बढि बचत हिनामिना गरेको आरोप छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशसँगको परामर्शमा सेयर सदस्यहरूको भेला गर्ने तयारी भएको संघर्ष समिति मूल समितका अध्यक्ष दिलबहादुर कार्कीले बताउनु भयो ।

मङ्गलबारको भेलाले एक जनाको नाममा अधिकृत अख्तियारी निर्णय गर्ने, बचत कर्ताको वास्तविक रकम अध्याबधिक गराई फोटो सहित दायाँ बायाँ ल्याप्चे सहित प्रमाणित गर्ने, र माघ ६ गते हुने विशेष साधारण सभामा सदस्यको उपस्थिति गराई हस्ताक्षर गराउने लगायतको विषयमा छलफल गरिएको संघर्ष मूल समिति कोषाध्यक्ष तथा बुर्तिबाङ समितका संयोजक यम बहादुर कुवँरले बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित