बागलुङ । निसीखोला गाउँपालिकाले गत असोज १० र ११ गते आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाएका र घर संरचना गुमाएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।
गाउँ कार्यपालिकाको हिजो बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाले आज झिवाखोला बजारमा प्रभावित परिवारलाई राहत रकम उपलब्ध गराएको हो ।
गाउँपालिकाले बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिमृतक ५० हजार रुपैयाँ र सोही परिवारमा थप मृत्यु भएको अवस्थामा प्रतिमृतक २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको जनाएको छ ।
निसीखोला गाउँपालिका–३ मा आमा र तीन सन्तानसहित परिवारका सदस्य गुमाएका ओमलाल विकको परिवारलाई कुल १ लाख २५ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ ।

त्यस्तै, पूर्णरूपमा घर तथा संरचना क्षति भएका ३९ परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँका दरले तथा उच्च जोखिममा रहेका २३ परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको गाउँपालिका–२ का वडाध्यक्ष कुबिर विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती, उपाध्यक्ष प्रेम घर्ती, वडा अध्यक्ष टिकानिधि पौडेललगायतको उपस्थितिमा प्रभावित परिवारलाई राहत रकम वितरण गरिएको जनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ झिवाखोला बजार र कानावगर बजारमा भौतिक संरचनामा ठुलो क्षती पुर्याएको हो ।
अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण निसीखोलाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको थियो ।

















