२५ सयभन्दा बढी बालबालिकाले पूरा गरे १३ प्रकारका खोपको मात्रा
बागलुङ, जेठ १३ — ढोरपाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको छ। बुधबार नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो।
ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माका अनुसार राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाले लगाउनुपर्ने १३ प्रकारका खोपको सम्पूर्ण मात्रा पूरा गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
नगरपालिकाभित्र १५ महिनामुनिका ६२२ जना बालबालिकाले नियमित खोप सेवा लिइरहेका छन् भने १६ महिनादेखि ५ वर्षमुनिका १ हजार ९९६ जना लक्षित उमेर समूहका बालबालिकासहित कुल २ हजार ६ सयभन्दा बढी बालबालिकाले पूर्ण खोपको मात्रा पूरा गरेका छन्। स्वास्थ्य शाखाका अनुसार पालिकामा एक जना बालबालिकाले हालसम्म कुनै पनि खोप नलगाएको र १९ जनाले सबै प्रकारका नियमित खोप पूरा नगरेको तथ्यांक रहेको छ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले राष्ट्रिय खोप तालिकाअनुसार तोकिएको उमेर समूहका बालबालिकाले आवश्यक सम्पूर्ण खोपको मात्रा पूरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक प्रक्रिया सम्पन्न गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताउनुभयो।
स्वास्थ्य कार्यालयका अनुसार १५ महिनादेखि ५ वर्षसम्मका बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगविरुद्ध प्रदान गरिने १३ प्रकारका खोपको सम्पूर्ण मात्रा प्राप्त गरेका छन्।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक प्रविण शर्मा ले पूर्ण खोप सुनिश्चितताको दिगोपनालाई निरन्तरता दिन सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले दादुरा–रुबेला महामारी नियन्त्रणमा समेत नगरपालिकाले सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै स्वास्थ्यकर्मी तथा स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा अभियानमा सहयोग पुर्याउने स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ, बुर्तिबाङ अस्पताल, विभिन्न संघसंस्था, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। खोप लगाउन आनाकानी गर्ने अभिभावक तथा परिवारलाई घरदैलोमै पुगेर सचेतनामूलक अभियान सञ्चालन गरी खोप कार्यक्रममा सहभागी गराइएको जानकारी समेत दिइएको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण केशव थापाले गर्नुभएको थियो।








