बुर्तिबाङ माघ १४ गते
ढोरपाटन नगरपालिकाले फोहोर व्यवस्थापन गर्न प्रभावकारी कार्यक्रम अगाडि बढाएको छ । लामो समय देखि फोहोर व्यवस्थापनका विषयमा व्यापक चासो हुँदै गर्दा नगरपालिकाले जग्गा व्यवस्थापन गरेर दिगो रुपमा फोहोर व्यवस्थापन अवधारण अगाडि बढाइएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बताउनु भयो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा कुल ८७ लाख बजेट विनियोजन गरीएको छ । बहुबर्षिय कार्यक्रम अन्तरगत दुई वर्षमा १ करोड ७४ लाख लगानीमा सुरक्षित रुपमा इआइए डीपीआर गरेर कम्तिमा ६ रोपनी जग्गामा फोहोर व्यवस्थापन गर्ने लक्ष्यका साथ नगरपालिका अगाडि बढेको कार्यवाहक मेयर कायत को भनाई छ ।
पछिल्लो समय जग्गा व्यवस्थापनका निम्ती सूचना प्रकाशन गरेर प्रकृया अगाडि बढाइएको र जग्गा दाताबाट जग्गा उपलब्ध गराउने प्रकृया समेत सुरु भएका कारण फोहोर व्यवस्थापनको काम अगाडि बढ्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो । फोहोरलाई सिसा जन्य, कुहिने र नकुहिने गरी तिन भागमा वर्गीकरण गरिने छ ।

कुहिने मललाई कम्पोस्ट मल बनाउन मिल्ने, नकुहिने प्लास्टिक जन्य फोहोरलाई मेशिन मार्फत प्याकिङ गर्ने र सिसा जन्य वस्तुलाई मेसिन मार्फत व्यवस्थापन गरी सबै प्रकारका फाहोर लाई मोहोर का रुपमा व्यवस्थापन गर्ने लक्ष्य नगरपालिकाको छ । ढोरपाटन २ मा जग्गा दाताबाट जग्गा उपलब्ध गराउने गरी निवेदन समेत पेश भएको छ ।
अब बन्ने फोहोर व्यवस्थापन प्रकृयाले स्थानीय समुदायलाई असर नगर्ने र मेशिन मार्फत व्यवस्थित गरिने भएका कारण जथाभावी फोहोर फाल्ने, जलाउने अवस्था नरहने बताइएको हो । नगरपालिकाले सार्वजनिक खरिद नियमावली चौँठो संसोधन २०६४ अनुसार इपिसी मोडलमा काम गर्ने गरी सूचना प्रकाशन गरेर प्रकृया अगाडि बढाइने बताइएको हो ।
ढोरपाटन नगरपालिकाले हालसम्म बजार क्षेत्र र वडा नम्बर ५,७,८ र ९ का सडक क्षेत्रका वस्ति बाट फोहोर सङ्कलन गरेर वडा नम्बर ३ स्थित हुन्द्रा फेँदी बजार नजिक जलाउँदै आएको छ । यसरी फोहर जथाभावि लगाउँदा र सोही फोहोर नदिमा पुग्दा निकै दुर्गन्धित हुँदै आएको पाइएको छ । चालु आर्थिक वर्षमा ८७ लाख र अर्का बर्ष ८७ लाख बजेटमा काम हुने भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको भनाई छ ।










