पौष २९ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिका नगर सभाको १८ औँ अधिवेशन मङ्गलबार सम्पन्न भएको छ ।

नगरसभाले १७ औँ सभाबाट पारित भएका कुल ३ करोड २८ लाख ७५ हजार बजेट बराबरको ३८ वटा कार्यक्रम, योजना संसोधन रकमान्तर गर्दे ५३ वटा संशोधित योजना ल्याइएको हो । कुल ६१ करोड २८ लाख १७ हजार ५ सय २९ रुपैयाँको चालु आर्थिक वर्षमा बजेट लिएको पालिकाले हालसम्म २८ प्रतिशत वित्तिय प्रगति गर्न सफल भएको छ ।
नगरपालिकाको लागि जग्गा खरिद गर्न, लोकसेवा तयारी कक्षा , मेसिनरी औजार खरिद लगाएका ३८ वटा योजनालाई संसोधन र रकमान्तर गरिएको नगर सभाका अध्यक्ष धन बहादुर कायत द्धारा प्रस्तुत निती कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापन स्थलको व्यवस्था, ढोरपाटन क्षेत्रको विकास, सडक निर्माण र स्तरोन्नति, खानेपानी, सिँढी निर्माण, विभिन्न भवन निर्माण लगायतका क्षेत्रमा बजेट स्थानान्तरण गरेको पाइएको छ । कार्यक्रममा नगरसभाका सदस्य दिलिप थापाले बोल्दै उत्तर गंगा माध्यमिक विद्यालयमा शौचालयको निम्ती बजेट व्यवस्थापन गरिएको तर सोही विद्यालय सहित अधिकांश सामुदायिक विद्यालयमा सरसफाइ नभएको ,शौचालय निकै दुर्गन्ध रहेका कारण सरसफाइ सचेतना गराउन आवश्यक रहेको विषयमा सुझाव दिनुभयो ।
ज्ञान बहादुर भण्डारी द्धारा वडा नम्बर ६ मा रहेको जन चाहना आधारभुत विद्यालयमा पालिकाको तर्फदेखि अनुगमन हुन नसकेको , विद्यालय व्यवस्थित बन्न नसकेको र प्रअको भूमिका जिम्मेवारी पूर्ण नरहेको विषयमा ध्यानाकर्षण गराउनु भयो । त्यस्तै रुपान घर्ति द्धारा नमुना आधारभुत विद्यालयमा २ वटा प्रधानाध्यापक रहेको र कसलाई आधिकारिक मान्ने विषयमा नगरसभामा ध्यानाकर्षण गराउनु भएको हो ।
वडा नम्बर २ का सदस्य चुडामणि जैसीले बोल्दै सबै वडामा नर्सरी व्यवस्थापन गर्ने भनी विनियोजन गरिएको बजेट किन संसोधन गरिएको र टोलमा राँगो वितरण हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउनु भयो । नवीन शेरचन द्धारा बुर्तिबाङ अस्पताललाई पुनह बजेट किन विनियोजन गरिएको भन्ने विषयमा जिज्ञासा राख्नु भएको हो । सभाका सदस्यबाट उठेका प्रश्न जिज्ञासाको विषयमा सभा अध्यक्ष धन बहादुर कायत ले प्रस्ट पार्नुभएको हो ।
सामुदायिक विद्यालयमा सरसफाइ र शौचालय सरसफाइको विषयमा सम्बन्धित विद्यालयलाई अनुगमन मार्फत ध्यानाकर्षण गराउने र सबै जनप्रतिनिधि, विद्यालय व्यवस्थापनको जिम्मेवारी रहेको बताउनु भयो । जनचाहना आधारभुत विद्यालयमा भइरहेको गैर जिम्मेवारीका विषयमा नगरपालिका गम्भिर रुपमा अगाडि बढेको र कारवाही प्रकृया समेत अगाडि बढाइएको बताउनु भयो ।
त्यस्तै बुर्तिबाङ अस्पतालमा पर्याप्त स्वास्थ्य कर्मी अझैपनि नहुँदा र करारका कर्मचारीलाई पारिश्रमिक भुक्तान गर्द बाँकी रहेको अवस्थामा यसै क्षेत्रका नागरीकले सेवा लिने अस्पत्ताल भएका कारण अस्पत्तालको निवेदनका आधारमा ४ लाख बजेट भुक्तान गर्ने गरी बजेट व्यवस्था गरिएको बताउनु भयो ।
त्यस्तै नमुना आधारभुत विद्यालयमा दुई जना शिक्षकले प्रधानाध्यापक दावी गरीरहेको अवस्थामा अधालतबाट आएको फैसला कार्यान्यन हुने र विद्यालय व्यवस्थापन समिती गठन भइसकेका कारण समितीले चाँडै टुँगो लगाउने र पालिकाले सहजिकरण गर्नुे बताउनु भयो ।
नर्सरी सबै वडा तहमा निर्माण गर्ने गरी कार्यक्रम ल्याइएपनी १ वटा मात्र निवेदन परेका कारण कार्यक्रम संसोधन रकमान्तर गरिएको बताउँदै वडा नम्बर २ रिनाम गाउँमा अनुदानमा राँगो उपलब्ध गराउन सकिने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा नगरसभा सदस्य, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।










