ढोरपाटन नगरपालिका २ स्थित धर्मशाला देखि लक्ष्मी कुण्ड पुल सम्मको सालझण्डी सडक आयोजनाले नदेखेको अधुरो सडक चालु आर्थिक बर्ष बाटै कालोपत्र सुरु हुने भएको छ ।
सालझण्डी –ढोरपाटन सडक खण्ड अन्तरगत पर्ने उक्त करिब २ किलोमिटर सडक खण्ड हालसम्म स्तरोन्नति नहुँदा ढोरपाटन नगरपालिका २ का धर्मशाला, टारिखेत लगायत ग्रामीण क्षेत्रका नागरिक सहित उक्त सडक प्रयोग गर्ने यात्रु समस्यामा पर्दै आएका थिए ।

साँघुरो र अव्यवस्थित सडक भएका कारण उक्त क्षेत्रमा सवारीका साधन कम चल्दा सुनसान जस्तै बन्दै गएको थियो । गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको पहलमा उक्त खण्ड सहित निसीखोला गाउँपालिका १ मा पर्ने बतासेडाँडा –देविस्थान खण्ड सहित दुई खण्डमा ५ किलोमिटर कालोपत्रे हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बहुवर्षीय ठेक्का प्रकृया मार्फत काम सक्ने गरी ४५ करोड बजेट सुनिश्चित भएको सांसद दोर्ण कुमार कुवँरले बताउनु भयो ।
लामो समय सम्म पनी सडक सञ्जालले पूर्णता नपाएको सालझण्डी –ढोरपाटन सडक खण्डमा पछिल्लो समय निरन्तर काम भइरहेको छ । बागलुङ खण्डको बुर्तिबाङ–ढोरपाटन सडक २२ किलोमिटर खण्डमा समेत यस बर्ष काम सक्ने गरी अगाडि बढिएको निर्माण कम्पनीका प्रतिनिधि दाल बहादुर कुवँरले बताउनु भयो ।

हालसम्म ६५ प्रतिशत बढि काम भइसकेको पाइएको छ । चालु आर्थिक वर्षको असार मसान्त सम्म स्टान्डर्ड ग्राभेलिङ गर्ने गरी ठेक्का थप भएको हो ।










