२०८२ कार्तिक २५ बुर्तिबाङ,
भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकामा सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माण हुने भएको छ ।
बडिगाड गाउँपालिका–७ गिठे भन्ने स्थानमा भिमगिठे स्वास्थ्यचौकीको भवन निर्माणका लागि रु. चार करोड ७ लाख बजेट उपलब्ध गराउने भारतीय राजदुतावास र बागलुङको बडिगाड गाउँपालिका बीच सोमबार सम्झौता भएको छ ।

भारतीय राजदुतावासको विकास साझेदारी तथा पुननिर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाको सात नम्बर वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माणका लागि सम्झौता भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले जानकारी दिनुभयो ।
सोमबार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दुतावास काउन्सलर अविनाश कुमार सिंहबीच भवन निर्माणमा रकम उपलब्ध गराउने सम्झौता भएको हो । स्थानीयले स्वास्थ्यचौकीको नाममा पाँच रोपनी जग्गा चन्दा संकलन गरेर खरिद गरिएको थियो ।

उक्त जग्गामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गर्ने र भारतबाट आउने रकममा गाउँपालिकाले ५ प्रतिशत रकम साझेदारी गर्ने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो










