छविलाल पाण्डे बैशाख २७ गते ढोरपाटन
उमेरले ७४ वर्ष पार गरिसक्दा समेत पुर्खौली पेशा अँगालेका वीर बहादुर विकले अझैपनि घरखर्च आफूले सञ्चालन गर्दे आएको आरन व्यवसायबाट चलाउँदै आउनु भएको छ ।

बाबु बाजेले गर्दे आएको आरन व्यवसाय आफूले थाहा पाउँदा देखि गर्दे आउनुभएका उहाँलाई आरनमा नबस्दा सम्म मनले मान्दैन ।
बागलुङको ढोरपाटन नगरपालिका २ सलाम कोटका वीर बहादुर बिक. २००८ सालमा जन्मनु भयो । जन्मिएर आफूले जान्ने हुँदै गर्दा बाउ बाजेले आरन व्यवसाय गरिरहेको देख्नुभयो घरायसी भाँडाकुँडा हँसिया, कुटो, कोदालो, चुलेसी, बन्चरो, खुकुरी लगायत हतियार बनाउँदै आएका विर बहादुर का बाउ बाजेले गाउँका मानिसहरूले आडर गरेबमोजिम फलामबाट निर्मित भाँडा तयार गरिदिने र आफूले गरेको श्रम अनुसार गाउँबाट अन्न लिएर जीवीका चलाउँदै आउनु हुन्थ्यो ।

बाउ बाजेले गरेको व्यवसायबाट सन्तुष्ट हुँदै आफूले समेत सोही पेशा अँगाल्दै आउनु भएका उहाँ अहिलेपनि उहीँ आरन व्यवसायमै व्यस्त देखिनुहुन्छ । बैँस उमेरमा केही वर्ष भारत रोजगारीको निम्ती पुगेपनि उहाँलाई आफ्नो पुर्खौली पेशा छोड्न भने मनले मानेन भारतबाट फर्किएपछि पुनः आरन व्यवसायमा लाग्नुभएका उहाँले आफ्नो व्यवसायबाट ३ छोरा र ४ छोरीलाई हुर्काई बढाई राम्रो शिक्षा समेत दिनुभयो । अहिले छोराहरूले यो पेशालाई रोजेपनि आफूले भने छोड्न नसकिएको उहाँको भनाई छ ।

पहिले र अहिले आरन व्यवसायको अवस्था
पहिले केहि बर्ष अगाडि सम्म गाउँका नागरिकको वर्षभरी हतियार निर्माण गरि वार्षिक रुपमा ज्यालाको रुपमा कोदो , मकै, धान लगायतका अन्न लिने चलन थियो ।
पछिल्लो समय गाउँका मानिसहरूले समेत प्रसस्त मात्रामा खेतीबाली लगाउन छोडेपछि नगदमा कारोबार हुन थालेको उहाँ बताउनु हुन्छ ।गाउँका नागरिकले खरिद गर्ने सँगै नजिकैको बुर्तिबाङ बजारमा समेत उहाँले उत्पादन गरेका सामान बिक्री हुने गर्दछन् ।
विर बहादुर भन्नुहुन्छ “छोराहरूलाई कोहीलाई सरकारी जागिरे बनाइयो, कोही विदेश छन । छोरीहरूको घरजम भयो उमेरले विश्राम गर्ने समय भएपनि आफूलाई आफूले गरिरहेको काम नगर्दा सम्म मनले मान्दैन त्यसैले अझैपनि काम गर्दे आएको छु । ”पछिल्लो समय आरन व्यवसाय गर्नेको सँख्या घट्दो क्रममा छ ।
आधुनिक प्रकारका हतियार बजारमा पाइनु यूवाले यस पेशामा चासो नदिनु र आरनका निम्ती आवस्यक गोल बनाउन वन क्षेत्रमा बन्देज गरीएका कारण पनी यो पेशा संकटमा पर्न थालेको वीर बहादुर बताउनु हुन्छ ।










