ढोरपाटन मंसिर २३ गते
विवाइसी बागलुङ अन्तरगत दिगो पर्यटन प्रवर्धन परियोजना अन्तरगत ढोरपाटन क्षेत्रको विकास र पर्यटन प्रर्वद्धन गर्ने उदेश्य सहित १५ दिने आधारभूत पथ प्रदर्शक ट्रेकिङ गाइड तालिम ढोरपाटनमा सम्पन्न भएको छ ।

विवाइसी कार्यसमिति सदस्य प्रेम के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क.सी.ले बोल्दै पर्यटक पथ प्रदर्शकको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पर्यटकलाई सही जानकारी दिने पथ प्रदर्शक नै खास पर्यटनदूत हुन् । उनीहरूले पर्यटकलाई गर्ने व्यवहार र सूचनाले नै नेपालबारे उनीहरूको दृष्टिकोण बन्छ । ढोरपाटनको छवि कस्तो बनाउने भन्ने कुरा पनि जोडिन्छ । त्यसैले यो तालिम आफंैमा महत्वपूर्ण छ ।’ तालिमबाट पथ प्रदर्शकले थुप्रै व्यावहारिक ज्ञान र पर्यटनका नयाँ आयामबारे जानकारी प्राप्त गरेको क.सी.ले बताउनुभयो ।

ढोरपाटन सिकार आरक्षका सहायक संरक्षण अधिकृत पशुपति अधिकारीले बोल्दै परियोजनाले प्रदान गर्ने तालिमले ढोरपाटन क्षेत्रको पर्यटन क्षेत्रमा जनशक्ति उत्पादन भएको भन्दै तालिमबाट सम्बन्धित क्षेत्रमा काम गरिरहेका व्यक्तिको व्यक्तित्व विकासका साथै नयाँ परिवर्तनबारे जानकारी हुने बताउनुभयो ।
तालिममा ढोरपाटन उपत्यका सहित बुकि पाटनहरुमा ४ दिन सम्म प्रयोगात्मक सीप विकास संगै सिकाइएको छ । स्थानीय २६ जनाले तालिम हासिल गरेका हुन । परियोजनाले कुक तालिम, बेकरी तथा कफि बनाउने, होम स्टे सञ्चालन व्यवस्थापन, पथ प्रदर्शक ट्रेकिङ गाइड तालिम लगाएतका सिप विकास र उद्यम संग जोड्नका निम्ती सीप विकास उपलब्ध गराउँदै आएको छ ।
ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको परियोजनाले ढोरपाटन क्षेत्रको दिगो विकास, पर्यटन पर्वदन र उद्यम संग जोड्न भूमिका खेल्दै आएको दिगो पर्यटन पर्वदन परियोजनाका प्रतिनिधी विष्णु पौडेलले बताउनु भयो ।
ृ ृ ृ










