झाडापखालाबाट परिवारका ३ सदस्य गुमाएका बुचन सदा कर्जा खोजेर गर्दैछन् किरिया ।।

२०८२ कार्तिक १७ बुर्तिबाङ,
एकपछि अर्को गर्दै परिवारका तीन सदस्य आठ दिनको अन्तरालमा मृत्यु हुँदाको चोट कस्तो हुन्छ रु सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलका ३३ वर्षीय बुचन सदालाई सोधे थाहा हुन्छ । कुनै भवितव्य पनि होइन । कुनै प्राकृतिक विपत्ति पनि होइन ।

झाडापखालाबाट बुवा, चार वर्षकी छोरी र एक वर्षको छोरा गुमाउँदाको गहिरो चोट उनको अनुहारमा प्रस्टै देखिन्छ गरिबीको मार यति गहिरो छ कि ६ दिनदेखि ऐलानी जग्गामा बनेको झुपडीमा बुवाको किरिया बसिरहेका उनीसँग किरिया खर्च त छैन नै, बाँचेका दुई छोरी र एक छोरालाई के खुवाउने भन्ने पिरलोले समेत अहिले उनलाई सताइरहेको छ । झाडापखालासँग जुधिरहेकी २६ वर्षीया श्रीमती पार्वतीदेवीको स्वास्थ्य के हुने हो भन्ने चिन्ताले पनि उनलाई थप सताइरहेको छ ।

बुचनको घरको आँगन भर्खर धान रोप्न ठिक्क पारिएको खेतजस्तो देखिन्छ । केही दिनको झरीले त्यहाँ हिलाम्मे भएको छ । त्यही हिलैहिलो आँगनको एक छेउमा उनी बुवा, छोरा र छोरीको किरिया बसिरहेका छन् ।

९० घरधुरीको बसोबास रहेको सदा टोल १४ दिनदेखि झाडापखालाको महामारीसँग जुधिरहेको छ । अहिले टोलमा एक दर्जनभन्दा धेरै छाडापखालाका कारण बिरामी परेका छन् । सदा टोलमा यस्तो अवस्था कसरी आयो र यसको मारमा विपन्न समुदाय कसरी परिरहेको छ त रु
दुई साताअघिको कुरा हो । बुचनकी श्रीमती पार्वतीदेवीले देवर देवनन्दले दिएको एक पाउ माछा आफूले र परिवारका सदस्यलाई खुवाएकी थिइन् । त्यसैको भोलिपल्ट पार्वतीसहित १ वर्षीय छोरा र ६६ वर्षीय ससुरा लक्ष्मणलाई पखाला चल्यो । पखाला सुरु भएको तेस्रो दिन धेरै नै कमजोरी भएपछि बल्ल पार्वतीले घरनजिकको क्लिनिकबाट औषधि किनेर खाइन् ।परिवारका सबै सदस्य झाडापखालाबाट ग्रस्त भएका बेला बुचन पन्जाबमा मजदुरी गर्दै थिए । उनले भाइ देवानन्दलाई अनुरोध गरेर बुवा लक्ष्मण र छोरा संजीवलाइ सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याएका थिए । देवानन्दका अनुसार तीन दिनसम्म अस्पतालमा उपचार गराउँदा पनि सुधार हुने सम्भावना नदेखिएपछि र भएभरको पैसा सकिएपछि आफू बिरामीसहित घर फर्केको उनले बताए ।

त्यतिबेलासम्म बुचनले पन्जाबबाट कमाएर जम्मा गरी पठाएको १० हजारसहित २६ हजार रुपैयाँ खर्च भइसकेको थियो । देवानन्दले सुनाए, ुअस्पतालबाट फर्किंदा मेरो गोजीमा जम्मा २ सय बाँकी थियो ।ु उनले भाउजूको माइती पक्षले थप उपचारका निम्ति लाहान लैजाने भनेपछि आफूहरु त्यसका निम्ति तयार भइरहेका बेला कार्तिक ६ गते भतिज संजीवको मृत्यु भएको सुनाए । नवजात छोराको मृत्यु भएपछि पन्जाबाबाट हतारिँदै बुचन फर्किए । तर उनी फर्किएको पाँचौं दिन उनका बुवाको पनि मृत्यु भयो । गाउँलेसँग सरसापटी गरेर उनले बुवाको किरिया सुरु गरे । किरिया बसेको पाँचौं दिन गत शुक्रबार छोरी राघिनीको पनि मृत्यु भयो । बुचनको घरमा शोकमाथि शोक खप्टियो ।

एकपछि अर्को गर्दै खप्टिएको शोक अहिले बुचनले झेलिरहेका छन् । श्रीमती अनि ८ वर्षीय छोरा अनि ५ र ३ वर्षीय छोरालाई कसरी खानाको जोहो गर्ने भन्ने चिन्ताले उनलाई उत्तिकै पिरोलिरहेको छ । बुचनले छरछिमेकीसँग सापट मागेर किरिया खर्च त धानिरहेका छन् तर अझै पनि खर्चको समस्या उस्तै रहेको उनले सुनाए ।

उनको घरमा समस्या कति चर्को छ भने बुचन पन्जाब भएका बेला खर्च जुटाउनका निम्ति भाइ देवानन्दले स्थानीय एक पसलमा दुईवटा मोबाइल बन्धकी राखेर ५ हजार रुपैयाँ कर्जा लिएका थिए । देवानन्दका अनुसार उनले यसो दैनिक ३० रुपैयाँ ब्याज तिर्ने सर्तमा मोबाइल बन्धकी राखेर कर्जा लिएका हुन् । त्यो पैसा पनि उपचारमै सकिएपछि उनले स्थानीय अर्का एक जनासँग ३ हजार थप कर्जा लिएको बताए । देवानन्दले बाबुले भनेको सम्झिँदै सुनाए, ुबुबाले जाँच गरायो भने धेरै रोग देखिन्छ । किन उपचार गर्ने भन्दै गाली गर्नुहुन्थ्यो । औषधि खाने बेला पनि पैसा सकियो तर निको भएन भन्नुहुन्थ्यो ।ु

सदा टोलमा झाडापखाला फैलिएको ८ दिनपछि शुक्रबार राति मात्रै गाउँपालिकाले घटनाबारे बल्ल थाहा पायो । जबकि सदा टोलबाट स्वास्थ्यचौकी करिब १ किलोमिटरको दूरीमा छ । शनिबार बिहान खटिएका स्वास्थ्यकर्मीको टोलीले गाउँका ५४ जनालाई जीवनजल र मेट्रोन ट्याब्लेट लगायतका औषधि बाँढ्यो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दीपेन्द्रप्रसाद यादवले झाडापखालाबाट तीन जनाको मृत्यु भएको बताउँदै के कारणले फैलियो भनेर यकिन भन्न सकिने अवस्था नरहेको बताए ।

आइतबारदेखि मात्र गाउँपालिकाले दिसाको नमुना संकलन गरेको छ । पालिकाका अनुसार १५ परिवारका एक–एक जना सदस्यको नमुना संकलन गर्नका लागि बट्टा दिए पनि ४(५ परिवारबाट मात्रै नमुना प्राप्त भएको उनले बताए । कान्तिपुर अलाइन

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img