कार्तिक १३ गते बुर्तिबाङ
रोटरी क्लबको आयोजनामा सञ्चालन गरिएको निःशुल्क महिला स्वास्थ्य शिविर विहीबार सम्पन्न भएको छ ।
कार्तिक १० गतेदेखि सुरु भएको चारदिने शिविरमा कुल ८२६ महिलाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
जसमध्ये ३८४ जनाको भिआइए परिक्षण गरिएको छ । जसमा पाठ्यघरको समस्या देखिएका १४ जनाको शल्यक्रिया गरिएको हो । २० जनाको भिआइए पोजेटिभ देखिएको पाइएको छ । त्यस्तै २३ जनालाई थप उपचारका निम्ती निःशुल्क उपचार र एक जना कुरुवा सहित आवतजावत खर्च व्यवस्थापन गरेर पोखरा रिफर गरिएको आयोजकले जनाएको छ ।

महिला स्वास्थ्य सम्बन्धी समस्या पाठेघर खसेको, पाठेघरको मुखको समस्या तथा स्तन सम्बन्धी समस्या भएका विरामीको चेकजाँच तथा उपचार गरिएको थियो । शिविरमा बागलुङको ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सहित छिमेकी जिल्ला गूल्मी, रुकुम बाट सम्बन्धित विरामीले सेवा लिएका छन ।
आज भएको समापन सत्रको कार्यक्रम रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष धुर्व सुवेदीको अध्यक्षता , ढोरपाटन नगर कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी कायतले रोटरी क्लबले स्वास्थ्य, शिक्षा, सचेतना र सामाजिक सेवामा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै दुर्गम क्षेत्रमा नागरिकका समस्यालाई प्राथमिकता दिएर शिविर सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले यस्ता शिविरहरूले ग्रामीण महिलालाई घरमै स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, विशिष्ट अतिथी डा. केशवराज भुर्तेलले आर्थिक अभावका कारण उपचारबाट वञ्चित महिलाका लागि यस्ता शिविरहरू अत्यन्तै उपयोगी हुने बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवा राज्यसँगै सामाजिक संस्था र समुदायको सहकार्यमा सहज रूपमा विस्तार गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रम रोटरी क्लब अफ फिस्टल पोखराका अध्यक्ष कमला गिरी, बुर्तिबाङ अस्पत्तालका प्रमुख डा. अविनाश पोख्रेल, डा.शान्तराज शर्मा, डा. केशवराज भुर्तेल लगाएतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम ज्ञान बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।










