अर्नाकोटमा एक दिने निःशुल्क स्वास्थ्य शिविर

भाद्र २१ गते

निसीखोला–२, अर्नाकोट, बागलुङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर  सञ्चालन भएको छ।  कर्मफ्लाइट्स फाउन्डेशन नेपाल, नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, पोखरा (सशस्त्र प्रहरी बल, नेपाल) को संयुक्त आयोजनामा, निसीखोला गाउँपालिका र वडा नं. २ कार्यालयको स्वीकृति र समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन वडा अध्यक्ष कुबिर विश्वकर्माले गरेका थिए भने तीन जना वडा सदस्यहरू उपस्थित थिए। शिविरको समन्वय कर्माफ्लाइट्सका स्वास्थ्य समन्वयक कृष्ण पाण्डेले गरेका थिए र प्रमुख चिकित्सकको नेतृत्व डा. आकर्षा श्रेष्ठले गरेका थिए।

उनीसँगै तीन जना एपीएफ पैरामेडिक र चार जना अर्नाकोट स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए। अर्नाकोट माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले व्यवस्थापनमा सक्रिय सहयोग गरेका थिए।

शिविरमा करिब २८० जना सेवाग्राही (२०० महिला र ८० पुरुष) ले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि प्राप्त गरेका थिए। तीमध्ये १९० जनाको रक्तमा चिनी (मधुमेह) जाँच गरिएको थियो। अधिकांश सेवाग्राही ज्येष्ठ नागरिक र बालबालिका थिए।

सबैभन्दा वृद्ध प्रतिभागी ९२ वर्षकी महिला घाम्पुबाट तीन घण्टा पैदल यात्रा गरी स्वास्थ्य लाभ लिन आएकी थिइन्। सर्वाधिक पाइएको रोगहरूमा मांसपेशी÷साँधको दुखाइ, बालबालिकामा भाइरल ज्वरो र खोकी, महिलामा पेट दुखाइ, छालासम्बन्धी एलर्जी, मूत्रमार्ग संक्रमण र एपिग्यास्ट्रिक दुखाइ रहेका थिए। केही बिरामीहरूलाई थप उपचारका लागि बर्तिबाङ र पोखरा रेफर गरिएको थियो।

सेवाग्राहीहरू अर्नाकोटसहित छेडा, थुम, सिन्डेरी, डेलढारा, खलबाङ, जडभरा, निन्नेचौर, चौर, घम्पु, पाखापानी तथा ढोरपाटन वडाहरू २, ५ र ७ बाट सहभागी भएका थिए। स्थानीय बासिन्दा ज्ञानबहादुर बिकले वर्षायाममा घरमै सेवा प्राप्त गरेकोमा आभार व्यक्त गर्दै आफ्नो घाँटीमा भएको गाँठाको उपचारका लागि पोखरा अस्पताल जाने सल्लाह दिइएको जानकारी दिए।
शिविर औषधि र सामग्रीमा Indechemie Health Care -P_ Ltd, Nepal Pharmaceutical Lab Pvt Ltd,  Sancho Pharma  को सहयोग थियो।

शिविरको अन्त्यमा नेपाल एपीएफ फिल्ड अस्पतालले थप औषधि दान गरेको थियो भने कर्मफ्लाइट्स फाउन्डेशनले स्थानीय स्वास्थ्य इकाईको क्षमता बढाउन ८० हजार रुपैयाँ बराबरको औषधि उपलब्ध गराएको थियो। स्वास्थ्य इकाई प्रमुख विष्णु कार्की कुँवरका अनुसार, किसानहरूमा एलर्जी समस्या बढी हुने भएकाले भविष्यमा आँखा विशेषज्ञको समेत शिविरमा समावेश गर्न अनुरोध गरिएको छ।
डा. आकर्षा श्रेष्ठले अर्नाकोटमा दोस्रो दुर्गम स्वास्थ्य शिविरमा सेवा दिन पाउँदा सन्तुष्टि महसुस गरेको बताइन्। उनले समुदायलाई पहुँचयोग्य स्वास्थ्य सेवा आवश्यक रहेको र स्थानीयको सरलता तथा आत्मीयताले प्रेरित भएको उल्लेख गरिन्।

कृष्ण पाण्डेले आठ वर्षअघि अर्नाकोटमा पहिलो स्वास्थ्य शिविर सञ्चालन गरेको स्मरण गर्दै यहाँको समुदायसँगको आत्मीय सम्बन्ध विशेष रहेको बताए। उनले क्याल्सियमको कमी र फलफूल अभाव जस्ता चुनौती अझै रहेकामा पनि स्याउ खेतीले भविष्यमा पोषण र स्वास्थ्य सुधारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img