ढोरपाटन साउन १ गते
मालपोत कार्यालय बुर्तिबाङले आर्थिक बर्ष २०८१÷०८२ मा घरजग्गा पूँजिगत र अन्य करबाट कुल दुई करोड ३४ लाख २० हजार चारसय छयासी रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।
कार्यालयले गत आर्थिक बर्ष २०८०÷०८१ को तुलनामा ४३.७३ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको हो ।
पालिकागत रुपमा ढोरपाटन नगरपालिका ९१ लाख ३६ हजार १ सय ९१, निसीखोला गाउँपालिका १४ लाख ६६ हजार २ सय ६२, बडिगाड गाउँपालिका १२ लाख ९५ हजार ५५८ र तमानखोला गाउँपालिकाको ३ लाख १४ हजार ५०९ रुपैयाँ राजश्व सँकलन भएको मालपोत कार्यालय बुर्तिबाङका प्रमुख काशीराम खड्काले बताउनु भयो ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र वडिगाड गाउँपालिका कार्यक्षेत्र रहेको कार्यालयमा आर्थिक बर्ष २०८१÷०८२ मा पूँजिगत कर ६३ लाख ५३ हजार ७५९ रुपैयाँ र अन्य मोठ, मुद्धा, धितो बापत ४८ लाख ५४ हजार २०७ रुपैयाँ गरी कुल १ करोड १२ लाख सात हजार ९ सय ६६ रुपैयाँ संकलन भएको छ ।
संकलित रकममध्ये पालिकागत राजश्वको ६० प्रतिशत सम्बन्धित पालिकालाई र ४० प्रतिशत गण्डकी प्रदेश सरकारमा जाने भएको हो । त्यस्तै पुँजिगत कर संघिय सरकार र मोठ, मुद्धा, धितो वापत संकलित रकम प्रदेश सरकारलाई जाने गरेको हो ।










