२० वर्षमा ४५ अर्बको काम हुनुपर्नेमा १ अर्बको पनि भएन काम
छविलाल पाण्डे बागलुङ

नेपाल सरकारले २०६९ सालदेखि मध्ये पहाडी लोकमार्ग अन्तरगत पर्ने विभिन्न शहरलाई व्यवस्थित बनाउँदै उक्त सहरभित्र एक लाख मानिस बस्न सक्ने गरी विकास निर्माण र आवश्यक भौतिक पूर्वाधार तयार गर्ने लक्ष्य अनुरूप सुरु भएको बुर्तिबाङ शहरमा नयाँ शहर आयोजना सञ्चालन भएको १२ वर्ष लाग्दै गर्दा जम्मा पाँच प्रतिशत हाराहारीमा मात्र भौतिक प्रगति भएको पाइएको छ ।
विक्रम सम्वत् २०६९ सालदेखि २०९० सम्म सम्म सञ्चालन हुने गरी सञ्चालनमा आएको नयाँ शहर आयोजना बुर्तिबाङमा अपेक्षाकृत बजेट प्राप्त हुन नसकेपछि अपेक्षाकृत प्रगति समेत हुन नसकेको हो । साविक बुर्तिबाङ गाविस वडा नम्बर १ देखि ५ सम्म विकास गर्ने लक्ष्य लिएको आयोजनाले स्थानीय तह पुन संरचरना पश्चात ढोरपाटन नगरपालिका १ देखि ३ नम्बर वडा सम्म कार्यक्षेत्र बनाएर भौतिक विकासको काम गरिरहेको छ ।

१२ वर्षसम्म कुल ७८ करोड बजेट प्राप्त भएकोमा हालसम्म जम्मा ५० करोडको मात्रै कार्यसम्पादन भएको नयाँ शहर आयोजना कार्यालयका सूचना अधिकृत कोमल शाहले बताए ।
आर्थिक वर्ष २०६९÷०७० देखि सुरु भएको आयोजनाले हालसम्म सडक निर्माण, सडक ढलान, नालि निर्माण, जग्गा खरिद, पार्क निर्माण, पदमार्ग निर्माण, बसपार्क निर्माण, सभाहल निर्माण सौर्यबत्ती जडान, र नयाँ शहर आयोजनाको एकीकृत भवन निर्माणको काम गरेको हो । कर्मचारी व्यवस्थापन र आन्तरिक समस्याको कारण कुनै बर्ष सबै बजेट फिर्ता भएको आयोजनामा हालसम्म ३६ प्रतिशत बजेट काम नभइकन फिर्ता भएको पाइएको छ ।
ल्यान्ड पुलिन, चौतारो, अस्पताल निर्माण, सार्वजनिक विद्यालय, कलेज निर्माण, सडक, खानेपानी, पार्क, खेलमैदान सभाहल लगाएत व्यवस्थित पूर्वाधार तयार पारी २०९० सालसम्म यहाँ एक लाख जनसङ्ख्या बस्न मिल्ने बस्तीको विकास गर्ने र यहाँबाट हुने बसाइसराइ लाई रोक्ने उद्देश्यका साथ आयोजना सञ्चालन भएको हो । मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने विभिन्न १० स्थानमा शहर बसाउने उद्देश्य स्वरुप अगाडि बढाइएको सरकारको लक्ष्यले पूर्णता पाउने अपेक्षा कम देखिएको छ । १२ वर्षसम्म पनि अपेक्षाकृत विकास हुन नसक्नु र अन्य क्षेत्रमा समेत सहर
विस्तार गरी बजेट कतौटी हुँदै गर्दा अपेक्षाकृत विकासले गति लिन नसकेको स्थानीय नागरिकको भनाई रहेको छ ।
आयोजनाले हालसम्म गरेको उपलब्धि
आयोजनाले हालसम्म १६.३ किलोमिटर सडक ढलान, ६.३ किलोमिटर नाला निर्माण, ५ किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, भब्रेटा मा सभाहल निर्माण, कुतथ्याप्ला मा एकीकृत भवन निर्माण, मनोरञ्जन पार्क निर्माण, २७२ स्थानमा सौर्य बत्ती जडान, ५६ रोपनी जग्गा खरिद, बसपार्क निर्माण र टर्मिनल भवन निर्माण संगै टारीखेतमा ल्यान्ड पुलिको काम समेत भइरहेको सूचना अधिकारी शाहको भनाई छ ।
त्यस्तै चालु आर्थिक वर्ष २०८१÷०८२ मा ९ करोड ९५ लाख बजेट विनीयोजन भएकोमा बसबार्क निर्माण र टर्मिनल भवन निर्माणको काम तिन करोड, तारिखेत देखि कुत्थ्याप्ला पहुँचमार्ग निर्माण र पार्क निर्माण तर्फ तिन करोड, कर्वडहल देखि दुले नजिक सम्म सडक निर्माण र भब्रेटा खेलकुद मैदान निर्माण, ३ करोड ३५ लाख र सभाहल निर्माण ५० लाख बराबरको काम भइरहेको जनाइएको हो ।
अन्य क्षेत्रमा काम भइरहे पनि सभाहल ढोरपाटन निर्माण सेवाले जिम्मा पाएको भएपनी उक्त बाँकी रहेको संरचना निर्माणमा निर्माण कम्पनीले तदारुकताका साथ काम नगरेको पाइएको छ ।
कहिलेबाट भयो त सुरुवात र कस्ले गर्यो नेतृत्व
२०६९ ÷०७० मा सुरुवात भएको नयाँ शहर आयोजना कार्यालयमा नगरविकास समितीको रुपमा तुल्सीराम अर्यालले दुई बर्ष २०७०÷ ०७१ देखि २०७१ ÷ ०७२ सम्म अध्यक्षको रुपमा काम गर्नुभयो ।
त्यस्तै २०७२÷०७३ देखि ७३ ÷७४ सम्म अर्जुन शेरचनले काम गर्नुभयो । त्यपछि ०७४÷०७५ मा मेशलाल शर्माले अध्यक्षको रुपमा काम गर्दे गर्दा स्थानीय तहको पुनर संरचना पछि स्थानीय तहको प्रमुख नै नगरविकास समितीको अध्यक्ष हुने प्रावधान पछि ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीको मातहतमा करिब ६ बर्ष आयोजना चल्यो र. पछिल्लो समय मेयर नेपाली सहकारी प्रकरणमा कारागार पश्चात कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा नयाँ समिती गठन गरेर नयाँ शहर आयोजना बुर्तिबाको रेखदेख र योजना बनाएर अगाडि बढ्न थालिएको हो ।
गत फागुन महिनामा गठित समितीले आर्थिक वर्ष २०८२÷०८३ को योजनाको माग शहरी विकास मन्त्रलयमा पठाइसकेको हो । आयोजना कार्यालयले उपलब्ध गराएको डाटा अनुसार कुन वर्षमा कति बजेट नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङमा १२ वर्ष सञ्चालन भएपनी कुनै वर्ष बजेटनै प्राप्त नभएको र कुनै वर्ष न्यून मात्रामा बजेट प्राप्त भएको पाइएको छ ।
आर्थिक बर्ष २०६९÷०७० मा आयोजना कार्यालय सुरुवात गर्दे कुत्थाप्लामा जग्गा खरिद र बुर्तिबाङ बजारमा ढल निर्माण गरिएको थियो आयोजना कार्यालयमा उक्त आर्थिक श्रेष्टा फेला नपरेको जनाइएको छ । त्यस्तै २०७०÷०७१ र २०७१÷०७२ मा दुबै बर्ष कुनै काम नभइकन बजेट फ्रिज गएको आयोजना कार्यालयले जनाएको हो ।
२०७२÷०७३ मा चालु र पूजीगत तर्फ ४ करोड ४७ लाख प्राप्त भएकोमा २ करोड ८३ लाख लाख खर्च भएको छ । २०७३÷०७४ मा ८ करोड २२ लाख लाख मध्य ५ करोड १५ लाख खर्च भएको छ । २०७४÷०७५ मा सबैभन्दा बढि १६ करोड ४० लाख बजेट प्राप्त भएको छ जसमा १६ करोड ११ लाख खर्च भएको छ । २०७५÷०७६ मा बजेट ह्वात्तै घटेको पाइन्छ जसमा १ करोड ३० लाख प्राप्त हुँदा जम्मा ६२ लाख खर्च भएको छ । २०७६÷०७७ मा आउँदा ७ करोड ५७ लाख प्राप्त भएको छ सोही वर्ष ७ करोड २१ लाख खर्च भएको हो ।
२०७७÷०७८ मा ६ करोड ७३ लाख प्राप्त भएको छ जसमा ६ करोड ३१ लाख खर्च भएको हो । आर्थिक वर्ष २०७८÷०७९ देखि केहि बजेट बढेर आएको पाइन्छ जसमा १२ करोड ६ लाख प्राप्त भएकोमा ९ करोड १४ लाख खर्च भएको छ । २०७९÷०८० मा १५ करोड ३३ लाख मध्ये १० करोड ९३ लाख खर्च भएको छ । २०८०÷०८१ मा ७ करोड ८१ लाख मध्ये ५ करोड १२ लाख खर्च भएको छ । चालु आर्थिक वर्षमा १० करोड ९५ लाख बजेट प्राप्त भइ काम भइरहेको हो ।

कति बजेट प्राप्त भयो र कति भयो खर्च
कार्यालयले उपलब्ध गराएको डाटा अनुसार आर्थिक बर्ष २०६९÷०७० को बजेट नदेखिएपनी अन्य बजेट प्राप्त हुँदाको बजेट हालसम्म ९० करोड ८३ लाख प्राप्त भएको छ । जसमध्ये आलु आर्थिक बर्षको काम भइरहेका कारण अन्य वर्षमा ६३ करोड ४२ लाख बजेट खर्च भएको पाइएको हो ।
कहाँ गयो बाँकी प्राप्त बजेट नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङका प्रमुख रामकृष्ण गिरीका अनुसार पुँजीगत बजेटको रकम ठेक्का प्रकृयामा प्रतिशप्रर्धामा केहि प्रतिशत छोडेर निर्माण कम्पनीले ठेक्का सम्झौता गर्ने र सोही बजेट कार्यालयमा नराखि सिधै मन्त्रालयमा पठाउनु पर्ने भएका कारण फिर्ता भएको बताउनु भयो । कहिँकतै काम पुरा नभएका र ठेक्का प्रकृया टेण्डर मार्फत गराइने भएका कारण टेण्डरबाट प्राप्त भएको रकम फिर्ता गएको जनाइएको हो ।
बजेट घट्नुका कारण ः सरकारले मध्येपहाडी लोकमार्ग आसपासमा पर्ने विभिन्न १० स्थानलाई नयाँ शहरका रुपमा घोषणा गर्दे आधुनिक शहर र विकासका पूर्वाधार भित्राउने लक्ष्य लिएपनी पछिल्लो समय देशका विभिन्न स्थानमा गरी ५८ वटा नयाँ शहर निर्माण गर्ने गरी सरकारले घोषणा गरेर काम अगाडि बढाएको छ ।
मध्येपहाडी लोकमार्गमा १२, हुलाकी लोकमार्ग क्षेत्रमा १०, तराई मधेशमा ५ गरी कुल २७ शरहमा काम अगाडि बढेको छ । अन्य क्षेत्रमा समेत सरकारले शहर तोकेर काम अगाडि बढाइरहेको हो ।
यसरी धेरै क्षेत्रमा शहर बनाउँदै जाँदा निश्चित क्षेत्रमा पुग्नुपर्ने बजेट धेरै शरहमा पठाउँदा बजेट घट्दै गएको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताउनु भयो ।
१२ वर्षमा मात्र करिब ५ प्रतिशत भौतिक प्रगति हुनु सामाजिक र सांस्कृतिक रूपमा पनि चिन्ताजनक छ । यो अवस्था हुनुमा स्थानीय सामुदाय र कार्यालयको मात्र कमजोरी नभई लक्ष्य अनुसार विकाश गर्नका निम्ती राज्यले आवस्यकताको अधारमा बजेट व्यवस्थापन गर्न नसक्नु पनी हो ।
नयाँ शहर आयोजना कार्यालयले केहि मात्रामा काम गर्दापनी बुर्तिबाङ शहरमा विकासले गति लिएको देखिन्छ राज्यले लिएको अपेक्षालाई गम्भिरता पूर्वक लिएर आवस्कयताको आधारमा बजेट विनीयोजन गर्ने र स्थानीय सहयोग समोन्य भएमा नयाँ शहरले राम्रो गति लिने देखिन्छ ।
यदि परियोजनाले स्थानीय समुदायको सामाजिक संरचना, शिक्षा, स्वास्थ्य, आवास, र सांस्कृतिक जीवनशैलीमा रूपान्तरण गर्ने लक्ष्य लिएको हो भने, त्यसलाई सफल पार्न सरकार र स्थानीय तहबीच स्पष्ट नीति, निरन्तरता, जवाफदेहिता र जनसहभागिता अत्यावश्यक छ।










