जेठ २१ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकालाई पोषण मैत्री पालिका बनाउने उद्देश्य स्वरुप विभिन्न सूचकका आधारमा कार्यक्रम अगाडि बढाइएको छ । आगामी दुई वर्ष भित्र नगरपालिकालाई पोषण मैत्री पालिका बनाउने गरी कार्यक्रम अगाडि बढाइएको ढोरपाटन नगरपालिका बहुक्षेत्रीय पोषण मैत्री कार्यक्रम फोकल पर्सन केशव थापाले बताउनु भयो ।

नगरपालिकाले आथिर्क वर्ष २०८१÷०८२ को सरकारले लिएको लक्ष्य अनुरूप स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, कृषि, पशु, महिला सचेतना र शुसासन सम्बन्धी क्षेत्रमा रहेर काम गरिरहेको पाइएको छ ।
अझैपनि चेतनाको अभावका कारण स्वास्थ्यको पहुँचमा नरहेका, सरसफाइ सम्बन्धी चेतना नभएका नागरिकलाई सचेतना गराउने, एक हजार दिन भित्रका आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर राख्दै पौष्टिक आहारको प्रयोग, गर्भ अवस्थामा नियमित परिक्षण, बालबालिकालाई दिइने पूर्ण खोपको सुनिश्चितता संगै खानपान जीवनशैली, वातावरण संरक्षण र सरसफाइमा समेत ध्यान दिएर कार्यक्रम अगाडि बढाइएको थापाको भनाई छ ।
यस बर्ष बजार क्षेत्रमा जोखिम खानेपानी ट्याङ्कीमा पानी शुद्धिकरण विधि अपनाइएको, विद्यालयमा अध्ययनरत किशोरीहरूलाई बालविवाह रोकथाम सचेतना, महिनावारी स्वच्छता सम्बन्धी अभिभुखिकरण, सरसफाइ सम्बन्धी सूचकलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रमा घरघरमा सूचक टाँस गरी सचेतना मूलक कार्यक्रम गरिएको पाइएको छ । दुई बर्ष सम्म सञ्चालन हुने कार्यक्रम अन्र्तगत कृषि, स्वास्थ्य, शिक्षा संगै एक हजार दिने आमाहरूलाई कुखुराको चल्ला वितरण, अण्डा वितरण, टनेल निर्माण कार्यक्रममा सहजिकरण, बिउबिजन वितरण लगायतका कार्यक्रम अगाडि बढाइएको जनाइएको छ ।

त्यस्तै बजार क्षेत्रमा सरसफाइ कार्यक्रमलाई व्यवस्थित बनाउन फोहोर मलाई लेखिएको बाल्टी राख्ने काम लगायतका गतिविधि भएको हो । यो कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउँदै जाँदा चेतना वृद्धि, सरसफाइ, कुपोषणको अन्त्य र स्वास्थ्य संस्थामा पुग्ने दरमा बृद्धि भइरहेको पाइएको हो ।










