माघ ८ गते
महामानव विपी कोईरालाको सम्मान र सम्झनामा तमानखोलामा विपी स्मृति भवन बनाउन ल्याइएको बजेटमा अर्नगल प्रचार गरिएको प्रति तमानखोला गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को दोश्रो गाउँसभाको चौथो अधिवेशनबाट विपी स्मृति भवन बनाउन पालिकाले बजेट विनियोजन गरेकोमा विभिन्न राजनैतिक दल , मिडिया र व्यक्तिले नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको विपी स्मृति भवनमा बजेट राखिएको भन्दै सामाजिक सञ्जालमा प्रस्तुत गरेका समाचार र सामाग्री नागरिकलाई भ्रमित पार्ने , सामाजिक सद्भाव खल्बलाउने उत्तेजित हुने खालका रहेको भन्दै त्यस्ता अफवाह फैल्याउने समाचारबाट सचेत रहन आग्रह गर्दे गाउँपालिका अध्यक्ष जोकलाल बुढाद्धारा हस्ताक्षरित विज्ञप्ति प्रस्तुत गरिएको हो ।
गाउँसभाबाट पारित कार्यक्रम नेपाली नागरिकको स्वतन्त्रता र अधिकारको लागि जहानिया राणा शासनको अन्त्य गरि देशमा प्रजातन्त्र स्थापना गर्दे अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न महत्वपूर्ण योगदान र नेतृत्वदायी भुमिका खेलेका महान व्याक्ति स्व. विपि कोईरालाको सम्मान र सम्झनामा तमानखोला गाउँपालिकामा विपि स्मृति भवन निर्माण गर्न सभाले १४ लाख रुपैयाँ बजेट विनीयोजन गरेको जनाइएको छ ।
उता नेकपा माओबादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा तमानखोलाले विज्ञप्ती मार्फत नेपाली कांग्रेसको जिल्लामा बन्न लागेको विपि स्मृति भवन निर्माणमा बजेट विनीयोजन गरेको भन्दै आन्दोलनका कार्यक्रम अगाडी बढाइएको संयूक्त विज्ञप्ती निकालेका छन ।