बागलुङ — गाँजा भण्डारण र ओसारपसार गरेको मुद्दामा बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले साढे तीन वर्ष जेल सजाय तोकेको छ ।आइतबार न्यायाधीशहरू मदन पोखरेल र माधवेन्द्र रेग्मीको इजलासले जिल्लाको फैसला सदर गरेको हो । गत पुसमा जिल्ला अदालतले घर्तीलाई ५० हजार रुपैयाँ जरिवानासहित साढे तीन वर्ष जेल सजाय तोकेको थियो । केही समय फरार भएर उनले ढिला गरी गाउँपरिषद् सम्पन्न गरेका थिए । जिल्लाको फैसलापछि फरार रहेका घर्तीले उच्चमा पुनरावेदन गरेपछि विभिन्न राजनीतिक र गाउँपालिकाको कार्यक्रममा सहभागी बन्दै आएका थिए ।
२०७७ साल असार १२ गते निसीखोला गाउँपालिका–६ को वडाध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको टोलीले उनलाई गाँजासहित पक्राउ गरेको थियो । गाँजा भण्डारन गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो । पक्राउ परेलगत्तै झन्डै तीन महिना पुर्पक्ष बसेपछि उनी धरौटीमा रिहा भएका थिए ।