
बागलुङ — १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना आरोप लागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध १ हजार ५ सय ४३ जनाले जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दिएका छन् ।
सहकारी पीडितले सरकारी वकिलको कार्यालयमार्फत उक्त मुद्दा दर्ता गरेका हुन् । मुद्दा दर्ताका बेला पीडितले बुझाएका फाइल र प्रहरीले बरामद गरेको जिन्सी सामान बुझ्न कर्मचारीलाई भ्याइनभ्याइ भएको छ । बचतकर्ताको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिनापछि भागेका नेपाली दुई महिना पुग्न लाग्दा पनि सम्पर्कमा नआएको, प्रहरीले पनि अहिलेसम्म पक्राउ गर्न नसकेपछि पीडितहरू सहकारी ठगी मुद्दा लिएर अदालत पुगेका हुन् । ‘यो मुद्दापछि पक्राउ पुर्जी जारी हुने आस गरेका छौं,’ पीडितमध्येका डिलबहादुर कार्कीले भने, ‘जहाँ भए पनि खोजेर ल्याउने र जायजेथा बेचेर भए पनि हामीहरूको पैसा फिर्ता गरिनुपर्छ ।’ पीडितले यस अघि प्रहरीमा जाहेरी पनि दिएका थिए ।
नेपाली बेपत्ता भएपछि बचतकर्ताहरू कहिले प्रहरीमा, कहिले सडकमा आन्दोलनमा छन् । अधिकांश पीडितले नेपालीविरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन राज्यको ध्यानाकर्षण गरेका छन् । आर्थिक अपराधको मुद्दा लगाएर इन्टरपोलमार्फत पक्राउ गर्न पनि उनीहरूले स्थानीय प्रशासनसँग माग गरे । महिना दिनसम्म आन्दोलन गरेका पीडितले हदम्यादको अन्तिम दिन गत सोमबार अदालत पुगेर मुद्दा दर्ता गरेका थिए । अदालतले भने थप दुई दिन लगाएर मात्र मुद्दाको मिसिल रुजु भ्याएको हो ।
बागलुङ सदरमुकामसहित गलकोट, बुर्तिवाङ र पोखरामा पनि शाखा रहेको इमेज सहकारीमा आकर्षक ब्याज दिने आश्वासनका कारण सयौंले बचत गरेका थिए । शेयर सदस्य नभएकाहरू धेरैसँग सहकारीले कारोवार गरेको थियो । गत वैशाख ६ को सञ्चालक समितिको बैठकको निर्णय भन्दै त्यसको भोलिपल्टदेखि सहकारी संस्था बन्द छ । सुरुमा तरलता अभाव भनिए पनि त्यसपछि सहकारी खुलेको छैन । जेठ पहिलो सातादेखि भने सहकारीका अध्यक्ष नेपाली भागेका हुन् ।