Home Blog Page 41

भदौ १ गते देखि निसेलढोरमा ऐतिहासिक गाउँ (नाँखा) पुजा मेला २०८२ सञ्चालन हुने ।

0

साउन २२ गते ।

“हाम्रो मौलिकता नै हाम्रो पहिचान, कला संस्कति बचाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ यहि भदौ १ गतेबाट भूमे पुजाको अवसरमा ऐतिहासिक गाउँ (नाँखा) पुजा मेला २०८२ सञ्चालन हुने भएको छ । निसीखोला गाउँपालिका वडा नं. ५ को ऐतिहासिक पर्यटकीय स्थल निसेलढोरमा गाउँ (नाखा) पुजा व्यवस्थापन समिति, निसीखोला गाउँपालिका ५, निसेलढोरद्वारा यहि भदौ १ गते देखि ६ गतेसम्म विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको समितिका सचिव हिरासिंह घर्ति मगरले बताउनुभयो ।

१ लाख ६ हजार ६ सय ६६ रुपैयाँ प्रथम पुरस्कार राशिको पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । जसमा द्वितीय हुनेले रु ६६६६६।– कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ भने जसको दर्ता शुल्क ७ हजार राखिएको छ । त्यस्तै ५ हजार दर्ता शूल्क रहेको महिला भलिबल प्रतियोगिता पनि सञ्चालन हुने भएको हो । जसमा प्रथम र द्वितीय पुरस्कार क्रमशः ५० हजार र ३० हजार कप, मेडल र प्रमाणपत्र राखिएको छ । ५० हजार प्रथम पुरस्कार रहेको पुरुष फुटसल प्रतियोगिता राखिएको छ भने द्वितीय हुनेले ३० हजार प्राप्त गर्ने क्लवका सचिव घर्ति मगरले जानकारी दिनुभयो । त्यस्तै अन्य कार्यक्रमहरुमा ग्रुप डान्स प्रतियोगिता, पुरुष तथा महिला रस्साकस्सा प्रतियोगिता, दोहोरी गीत, मायाली भाका, पुुरुष र महिला दुबैको ठेलो प्रतियोगिता, एकल डान्स प्रतियोगिता, पुरुष र महिला दुबैको दौड प्रतियोगिता, घैटोफोर प्रतियोगिता र पुरुष भेट्रान्स ठेलो र २५ हजार प्रथम पुरस्कार र १५ हजार द्वितीय पुरस्कार राशिको पुरुष भेट्रान्स भलिबल प्रतियोगिताको आयोजना गरिएको क्लवका सचिव घर्ति मगरले जानकारी दिनुभयो । मेलालाई भव्य सभ्य तरिकाले सम्पन्न गर्नका लागि विभिन्न संघ संस्था तथा व्यक्तिले सहयोग गर्नेक्रम जारी रहेको आयोजकले बताएको छ ।

ऐतिहासिक गाउँ पुजा मेला सञ्चालन गरी पुरानो परम्परा, रिती रिवाज कला सस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्ता हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई पुर्ख्यौली इतिहास बुझाउने र त्यो ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भुमिका खेल्ने र समुन्नत समाज निर्माणका लागि लागी पर्ने साथै यस ठाउँबाट राम्रो कलाकार र खेलाडी उत्पादनमा जोड दिने यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।

खासगरि निसीखोला गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने मगर, छन्त्याल, दलित लगायत अन्य समुदायको सामाजिक सद्भाव कायम गर्ने गरी प्रथाजनिक व्यवस्थामा आधारित रहेर यहाँका व्यवसायी, शिक्षक, विद्यार्थी, कलाकार, खेलाडी, सञ्चारकर्मी सबै सबैलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको गाउँ पुजा व्यवस्थापन समितिका सचिव हिरासिंह घर्ति मगरको भनाइ रहेको छ । परापूर्वकाल देखि नै यस ठाउँमा मेला लाग्दै आएको छ । मेलाको बारेमा थप जानकारीका लागि सचिव घर्ति मगरसँग ९७४१८२२५०१ मा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ ।

के हो त गाउँ (नाखा) पुजा ?

यस्तो छ , पृष्ठभुमी ।

जिल्लाको सदरमुकामबाट करिब १२० कि.मी दुरीमा अवस्थीत यस निसीखोला गाउँपालिका वडा नं ५ मा रहेको निसेलढोर समुन्द्र सतह देखि करिब २८५० मिटरको उचाईमा पर्दछ । यस क्षेत्रमा खास गरी मगर छन्त्याल दलित लगाएत अन्य केही समुदायको बसोबास रहेको छ । कुनै समय यस निसेलढोरलाई एतिहाँसिक राज्यको नामले चिनिने गरिन्थ्यो । यस गाउँ (नाखा) पुजाको छुट्टै ऐतिहासिक महत्व रहेको पाइन्छ ।
यहाँको गाउँ (नाखा) पुजाको बारे स्थानिय तहमा शाब्दिक भिन्नता रहेको हुँदा यहाँको बोलीचालीमा प्रयोग हुँदै आएको दुई शब्दहरु गाउँ (नाखा) पुजा र नाम पुजा भन्ने रहेको पाइन्छ । परम्परा संस्कृति र इतिहासहरु तथ्यको जगमा उभिएको हुनु पर्छ कसैको विशेष लहड वा कल्पनाको आधारमा सिर्जित इतिहास र परम्पराले यथार्थको नजिक पुर्‍याउने मात्र नभई कालान्तरमा झिन्या तथा अन्धविश्वासमा रुपान्तरण भई वास्तविक इतिहासहरु मेटिन पुग्छन् । तसर्थ निसेलढोरका नाखा पुजा कल्पना वा लहलहैमा निर्मित बनावती संस्कृति नभई यहाँका मगरहरु लगायत अन्य जातिहरुको ऐतिहासिक जीवन शैली र परम्परासँग अभिन्न रुपमा जोडिएको सचिव घर्ति मगरले बताउनुभयो ।

ईतिहासलाई खोतल्दै जाने हो भने निसेलढोर भन्दा सायदै पुरानो मानव बस्तीहरु नेपालमा नभेटिन पनि सक्छ अध्ययन अनुसन्धानका कमि र राज्यको उदासिनताले गर्दा यहाँको पुरातात्विक महत्व यहाँको जमिन मुनि पुरिएको बताइन्छ ।आधुनिकताको विकास सँगसँगै पुजाको नाममा समेत अपभ्रम भई गाउँ पुजा (नाखा पुजा) कि नाम पुजा (भुमी पुजा) भन्ने विषयमा समेत स्थानीयस्तरमा दुई मत देखिएको छ । रोल्पा रुकुम र बागलुङका केही मगर समुदायहरुमा नाम पुजा अर्थात भुमी पुजा गर्ने परम्परा अझै जिवित छ जुन असार १ गते देश भरका यस पुजा परम्परासँग जोडिएका मगरहरुले धुमधामसँग मनाउने प्रचलन रहेको छ ।
यस पुजा प्रविधी विशेष गरि भुमी पुजनसँग जोडिएको र यसको आफ्‌नै विशिष्टता र मौलिकता छ । तर हाम्रो नाखा पुजा (गाउँ पुजा) भाद्र १ गते मनाईन्छ जसको पुजा विधी परम्परा भुमी सँग होइन भुमीको उत्पादनलाई समाज वा समुदायमा त्यसको विवतरण प्रणालीँंग जोडिएको छ । जसको मुल अर्थ वा सार बाँच्नलाई बचाउ भन्ने मुल मन्त्र जोडिएको हुन्छ । मानव सभ्यताले कृषि युगमा प्रवेश गर्नु भन्दा अगाडि जङ्गलमा आधारित जीवन पद्धतीसँग जोडिएका उत्पादनको मुलस्रोत प्रकृति र त्यसैको आधारमा जीवन निर्वाह गर्नुपर्ने अवस्थामा प्राकृतिक रुपामा उत्पादित वनजङ्गलका खाद्य फलफुल तरुल भ्याकुर काठ, दाउरा चुयाचेत्रोहरुका समान वितरण र उपभोग गर्न पाउने मानविय अधिकारको संरक्षणसँग जोडिएको ऐतिहासिक समाज व्यवस्थाको दर्पण हो । नाखा पुजा अर्को अर्थमा यो पुजा आदिम समाजिक व्यवस्थाको प्रतिक हो ।

भुमी पुजा गर्ने विशेष गरी पुरानो १८ मगरात भित्र छरिएर रहेका मगरहरु र आज भुमी पुजा नगर्ने मगरहरुको उद्मग स्थल नै निसेलढोर क्षेत्र हो भन्ने यथष्त प्रमाणहरु छन् तर अध्ययन अनुसन्धान र प्रचार प्रसारको कमीको कारण आज देशभरका मगरहरुको तीर्थ स्थान बन्नु पर्ने निसेलढोर बिरानो र एक्लो भई गुमनाम बनिरहेको छ । यस क्षेत्रको ऐतिहासिक महत्वलाई देशव्यापी रुपमा चिनाउने र यसको वास्तविक इतिहास र परम्परालाई जिवन्त दिने यस मेलाको मुल लक्ष्य रहेको छ । विशेष गरी यो गाउँ पुजाले ऐतिहासिक परम्पराको प्रतिनिधित्व गर्ने एउटा उत्पादन तथा वितरण प्रणाली र दोस्रो संरक्षण जिविका उपार्जनका लागि पूर्ण रुपमा जङ्गलमा आश्रीत हुनुपर्ने भएकाले जङ्गल संरक्षण गर्नु प्रमुख सामाजिक दायित्व हुने गर्दथ्यो एउटै जङ्गलबाट १२ महिना जिविका चलाउन गाह्रो पर्ने भएकाले आफ्‌नो मूल थलो छोडी ६ महिना वर्ष दिनका लागि अन्य स्थान तर्फ वसाईँसरार्इँ तत्कालिन वाध्यता रहेको यसै क्रममा निसेलढोरबाट हिउँदे समय लाग्नु अगावै यहाँबाट पूर्व पश्चिम उत्तर दक्षिण बसाई सराई गर्ने चलन थियो केटाकेटी र हिड्न दुल्न सक्नेहरु जती विभिन्न दिशा तर्फ बसाई सराई गर्ने इतिहास रहेको छ ।

यो हजारौं बर्ष अगाडीको कुरा हो (जुजा जुजी) बुढाबुढी र अशक्तहरुलाई ६ महिना खान पुग्ने व्यवस्था गरुरी ओढारमा राख्ने प्रचलन थियो कालान्तरमा आएर केही समुदाय बसाई सरी सकेपछि उक्त स्थानमा फर्किएको र देशका विभिन्न भागहरुमा जहाँ बसार्इँसराइ गरिरहेका थिए उतै रैथाने भएर बस्न थाले र त्यस ठाउँलाई पिढीदर पिढी विर्सिदै गए एउटा समुदाय (झुण्ड) जसलाई आज निसेल खाम मगरहरु तथा अन्य जातिहरु भनि चिन्ने गरिन्छ । उनिहरुको पुर्खा मात्र ढोर आउने जाने क्रम जारी रहेको छ र निसेलहरुको शाखा पाल्पाको अर्गली सम्म बसार्इँ सरी जाने गरेको भन्ने भनाई पनि छ तर उनिहरु बाटोको कुनै पनि स्थानमा बढिमा १५ दिन भन्दा बढी बस्ने नगरेको र बसाई सराइको क्रममा बाटो मै १० महिना बिताउने गरेको तर ढोरमा श्रावण मशान्त भित्र सबै फर्कि सक्ने चलन थियो र श्रावण मशान्तको राती झाँकी बसाएर तन्त्रमन्त्रबाट वनजङ्गल फुकाएर भाद्र १ गते आ–आफ्‌नो कुल देउताको पुजा आरधाना गरि सके पछि सामाजका लागि वनजङगलको तरुल भ्याकुर काठदाउरा चुयाचेत्रो मान्द्रो गर्न पाउने तथा शिकार सम्म गर्न पाउने व्यवस्था थियो । त्यस भन्दा अगाडि वनजङ्गलबाट सिन्को सम्म संकलन गर्न नपाउने शिकारको त कुरा छोडौ जमिन खन्न र जोत्नेत कुरै भएन कमिला समेत मार्न पाईदैन थियो अर्को अर्थमा टाढा टाढा बसाई सरी गएकाहरु ढिलोमा श्रावण मसान्त भित्र ढोर फर्की सक्नु पर्ने र पुजा विधि पुरा गरिसकेपछि भाद्र १ गतेबाट जङ्गलको भोग चलन गर्न सामाजलाई फुकुवा गरिने चलनलाई नै गाउँ पुजा भन्ने गरिएको हो ।

पछि कालान्तरमा आएर ओडारमा जो छोडिएका जुजाजुजी (बुढाबुढी) अशक्तहरु त्यही ओदारमा खाद्य अभाव, बिरामी हिमपातको कारण ओडार भित्र मरेका कारण तिनिहरुको प्रेत आत्माले त्यहाँको स्थानियलाई दुःख दिने गरेकाले झाँक्रीले तिनीहरुको प्रेत आत्मालाई धपाउन त्यही जुजा जुजी ओदारमा गइ सफा भई पुजाआजा गरि कापाई बनी धपाउनु पर्छ र ति प्रेत आत्माहरुलाई लोभ्याउन आ–आफ्‌नो घर घरमा मिठा मिठा परिकारहरु बनाई बोलाउनु पर्छ ताकी ओडार भित्र प्रवेश गर्ने पुजारी र कापाईहरुलाई तिनीहरुको प्रेत आत्माले असर नपरोस् र विधिगत पुजा गरी सकेपछि ती प्रेत आत्माहरुलाई कापाईहरुले ओडारबाट लखेट्दै घरघरमा समेत पसी ति प्रेत आत्मा लोभ्याउन राखिएका परिकारहरु समेत कापाईहरुले खाईदिने र लखेट्दै ति प्रेत आत्माहरुलाई गाउँको खोला किनारमा बाख्रो बली चढाई कापाईहरु समेत खोलामा हाम फालेर गंगा स्नान गरी शुद्धि गरिने चलन नै निसेलढोरको कापाई नाँच तथा गाउँ पूजा हो । आफ्‌नो अस्तित्व रक्षाका लागि मौलिक ऐतिहाँसिक परम्पराको संरक्षण गर्नु अपरिहार्य हुन्छ । खासगरी गाउँ ( नाखा) पूजामा शिद्ध, बराह, देवी, र सत्रु समेतको पूजा गर्दै आईएको छ ।

जन्मदिनमा श्रीमानलाई बीमा पोलिसी उपहार

0

पर्वतको जलजला गाउँपालिका ८ की विमला खत्री जिसीले श्रीमान नारायण जिसीको जन्मोत्सवको अवसर पारेर बीमा पोलिसी उपहार दिनुभएको छ ।

बचत र सुरक्षाको विषयमा बीमाको महत्व बुझ्नुभएकी विमलाले जीवन बीमाले श्रीमानको बचत गर्ने बानीको विकास गर्न र भोलिका दिनमा हुन सक्ने विभिन्न जोखिमलाई आर्थिक रूपबाट न्यूनिकरण गर्नका निम्ती जीवन बिमा गरेको खत्रीले बताउनु भयो ।

पछिल्लो समय विवाह, जन्मदिन, शुभ कार्य जस्ता अवसरमा जीवनसाथीलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखा मार्फत पाँच लाख वीमांक को बीमा पोलिसी खरीद गरिएको उहाँको भनाई छ ।

जीवन बीमाको महत्व बढ्न थालेसँगै शुभ दिन पारेर धेरै जनाले आफ्नो जीवन साथीको बीमा गर्न थालेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखा प्रमुख कमल शर्माको भनाई छ ।

बागलुङका १२५ खानेपानी मुहानमा कोलिफर्म फेला

0

बागलुङमा बर्सेनी खानेपानीको मुहानमा दिशामा पाइने जिवाणु (कोलिफर्म) भेटिने गरेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो ।

जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियन डिल्ली आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ । बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिनुभयो ।

ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै पनि मुहानमा कोलिफर्म नदेखिएको उहाँको भनाइ । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने महान परीक्षण नगरिएको आचार्य बताउनुहुन्छ ।

धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर किरण तिवारीले कोलिफर्म मिसिएको पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी, पिसाबको संक्रमण, रगतमा संक्रमणसँगै कडाकाखलको रोग लाग्न सक्ने उहाँको भनाइ छ । कोलिफर्म फेला परेको मुहानबाट आएको पानी उमालेर मात्रै प्रयोग गर्नु पर्ने डाक्टर तिवारीले सुझाउनुभयो ।

 

व्यक्तिगत घटना दर्ता गर्दा विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने

0

व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ ।

सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।

यसअघि बच्चाको मात्रै उमेर, नाम, थर वा अरु विवरण दर्ता भएको एक वर्षभित्र मात्रै सच्याउन पाउने व्यवस्था थियो । अब जो सुकैले पनि एक पटकका लागि विवरण सच्याउन पाउने भएका छन् ।

यसरी विवरण सच्याएको जानकारी स्थानीय पञ्जिकारधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

ढोरपाटनमा होमस्टे तथा होटल व्यवस्थापन सीप विकास तालिमका लागि सम्भावित युवा उद्यमी छनोट सम्बन्धी अन्तरक्रिया

0

२०८२ साउन १६ , बुर्तिबाङ , बागलुङको ढोरपाटन नगरपालिकामा दिगो पर्यटन प्रवद्र्धन परियोजना अन्तर्गत होमस्टे तथा होटल व्यवस्थापन सीप विकास तालिमको लागि सम्भावित युवा उद्यमी छनोट सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

टी.डी.एच. वि .एम .जेट जर्मनीको आर्थिक सहयोग तथा विवाइसी बागलुङको साझेदारीमा सञ्चालित दिगो पर्यटन प्रवद्र्धन परियोजना अन्तर्गत निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकालाई लक्षित गरी आयोजित १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

नगरको विभिन्न वडाबाट सहभागी भएका युवाहरूमाझ भएको उक्त कार्यक्रमले स्थानीयस्तरमा पर्यटनसँग सम्बन्धित व्यवसायिक सीप विकासका लागि अग्रसर युवाहरूको पहिचान र छनोट गर्न महत््वपूर्ण योगदान पु¥याएको छ । कार्यक्रममा सहभागीहरूले पर्यटन क्षेत्रको सम्भावना, होमस्टे तथा होटल व्यवस्थापनमा आवश्यक सीप र तालिमको उपयोगिताका विषयमा सक्रिय छलफल गरेका थिए ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्याण कायत स्थानिय प्रतिनिधिहरू, ढोरपाटन नगरपालिकाका रोजगार संयोजक हिरालाल खनाल ,दिगो पर्यटन प्रवद्र्धन परियोजनाका पदाधिकारी, तालिमदाता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर कल्याण कायतले बोल्दै युवाहरूलाई स्थानीय सम्पदा, संस्कृति र प्राकृतिक सौन्दर्यको सदुपयोग गर्दै पर्यटन व्यवसायमा अगाडि बढ्न प्रेरित गरेको बताए । यस अन्तरक्रिया कार्यक्रमपछि छनोट भएका युवाहरुलाई आगामी दिनमा विशेष तालिम प्रदान गरिने र तिनीहरूको उद्यमशिलता अभिवृद्धिमा सहयोग पु¥याइने आयोजकले जानकारी दिएका छन् ।

ढोरपाटन नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा होमस्टे तथा होटल व्यवस्थापन सीप विकास तालिमको लागि सम्भावित युवा उद्यमीको छनोट प्रक्रियाका सन्दर्भमा स्थानीय युवा, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीच विचार आदानप्रदान गरियो ।

कार्यक्रममा सहभागीहरूले दिगो पर्यटनको अवधारणा, स्थानीय सम्पदाको संरक्षण र प्रवद्र्धन, पर्यटनमैत्री सेवा प्रवाहका लागि आवश्यक सीप तथा तालिमको उपयोगिता विषयमा खुलेर छलफल गरेका थिए ।

कार्यक्रममा निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि, स्थानीय युवा उद्यमी, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम मार्फत चयन गरिएका सम्भावित युवा उद्यमीहरूलाई आगामी दिनमा होमस्टे तथा होटल व्यवस्थापन सम्बन्धी विशेष तालिममा सहभागी गराइने र तिनीहरूको सीप विकास तथा उद्यमशिलताको प्रवद्र्धनमा सघाउने योजना रहेको बिवाइसी बागलुङका सामाजिक परिचालक अधिकृत ओम सिर्पालीले जानकारी दिनुभयो

विकाससँगै रित्तिँदै गाउँ, बागलुङको पातलेमा बसाइँसराइको चपेटा ।।

0

२०८२ साउन १२ बुर्तिबाङ,
शिशिर विश्वोकर्मा ,अति दुर्गम मानिने बागलुङ जिल्ला तमानखोला गाउँपालिका–६ स्थित पातले गाउँ पछिल्लो समय विस्तारै विकासको लयमा अघि बढ्दै छ ।
विद्युत्, सडक, विद्यालय जस्ता आधारभूत भौतिक पूर्वाधार विस्तार भइरहेका छन् । तर, विकाससँगै गाउँ रित्तिँदै गएको देखिएको छ । विकासले गति लिए पनि गाउँमा बसोबास गर्ने सङ्ख्या घट्दो क्रममा छ । स्थानीयहरू शिक्षादीक्षा, स्वास्थ्य सेवा र रोजगारीको खोजीमा शहरतिर बसाइँसराइ गर्न थालेपछि पातले सुनसान बन्दै गएको हो ।
कहिल्यै विद्यालय  नगएका  धेरै बालबालिकाले पहिले विद्यालय नपाएर पढ्न पाएका थिएनन् । अहिले विद्यालयको भवन निर्माण भइसकेको छ तर पढ्ने विद्यार्थी नै छैनन् । सिङगो विद्यालयमा जम्मा ५ जना मात्र विद्यार्थी रहेको वडा नम्बर ६ का वडाध्यक्ष चित्र छन्त्यालले बताउनुभयो
गाउँमा विद्युत् सेवा पुगेको छ, सडकको पहुँच पुगेको छ, तर त्यही विकासका कारण मानिसहरू गाउँ छाडेर सहर पस्न थालेका छन् ।
‘पहिले स्कुल थिएन, पढ्नै पाइँदैनथ्यो’, एक स्थानीय वृद्धाले भने, ‘अब त स्कुल छ तर बच्चा छैनन् । पातले जस्ता दुर्गम भेगमा विकास विस्तार हुनु सकारात्मक भए पनि त्यससँगै बढ्दो बसाइँसराइले गाउँ रित्तिन थालेको चिन्ताको विषय बनेको छ ।
स्थानीय बासिन्दाहरूको जीवन कठिनाइमा बित्थ्यो । दैनिक जीवनका सामान्य आवश्यकता पुरा गर्नसमेत घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो ।
तर पछिल्लो एक दशकमा पातलेले विस्तारै विकासको गति लिँदै आएको छ । अहिले गाउँसम्म मोटरबाटो पुगेको छ ।
केही वर्षअघिसम्म पातलेमा पढ्ने वातावरण थिएन । बालबालिकाले नजिकैको गाउँ घण्टौ लगाएर  जानुपर्ने बाध्यता थियो । कतिपय बच्चाहरू विद्यालय टाढा भएका कारण पढ्नै सकेनन् । अहिले भने गाउँमै विद्यालय छ, शिक्षक छन्, भवन छन्, तर समस्या छ – विद्यार्थी नै छैनन् ।
स्थानीय बासिन्दा तुलसी सिर्पालीले दुखेसो पोख्नुभयो , “पहिले गाउँमा जति समस्या भए पनि चहलपहल थियो । अहिले विकास भयो तर मान्छे नै छैनन् ।”
गाउँपालिकाले भने परिस्थितिलाई नियालिरहेको बताएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुदा मगर भन्छन्, “हामीले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गरिरहेका छौं । अब कृषि र रोजगारमुखी कार्यक्रम ल्याएर गाउँ फर्काउने प्रयास गरिन्छ ।”तर स्थानीयहरू चाहिँ तत्कालका लागि गाउँमा फर्कने आशा गरेका छैनन्। उनीहरू भन्छन्, अब गाउँमा बालबालिका छैनन्, वृद्धबृद्धा मात्रै छन्। न त रोजगारी छ, न त जीवनयापनको आधार छन्।

इलाका प्रहरी कार्यालय बुर्तिबाङद्वारा नेपाल पुलिस क्लबका भलिबल खेलाडीलाई सम्मान ।

0

०८२ साउन ,११ गते बुर्तिबाङ, इलाका प्रहरी कार्यालय बुर्तिबाङले नेपाल पुलिस क्लबका भलिबल खेलाडीहरूलाई आइतबार भलिवल खेलमा उत्कृष्ट भएसंगै एक कार्यक्रम सहित विशेष सम्मान गरेको छ ।
एक औपचारिक कार्यक्रमबीच खेलाडीहरूलाई खादा ओढाई र अविर लगाएर सम्मान गरिएको हो । नेपाल पुलिस क्लबको टोली रुकुमको टकसेरामा आयोजीत भलिवल खेल प्रतियोगितामा विजयी हासिल गरेर फर्कने क्रममा सम्मान गरिएको हो ।
उनीहरूको उत्कृष्ट प्रदर्शन र अनुशासित व्यवहारप्रति सम्मान प्रकट गर्न इलाका प्रहरी कार्यालयले यस्तो कार्यक्रम आयोजना गरेको जनाइको छ ।
कार्यक्रममा सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द वस्नेतले खेलकुदले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउने उल्लेख गर्दै नेपाल पुलिस क्लबका खेलाडिले भलिबल खेलमा देखाएको अनुशासन, समर्पण र लगनशीलताको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा स्थानिय प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको समेत उपस्थिति थियो । सम्मानित खेलाडीहरूले यस्ता सम्मानले आफूहरूलाई अझ प्रेरित बनाउने प्रतिक्रिया दिएका छन् ।
यसरी सुरक्षा निकाय र खेल क्षेत्रको सहकार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन् ।

विजय क्लब द्धारा एसईई दिने विद्यार्थीलाई बुर्तिबाङमा निःशुल्क कोचिङ कक्षा ।

0

ढोरपाटन नगरपालिका १ का व्यवसायी विजय हर्मेल वि.क. (बिरु) ले सामाजिक सेवा गर्ने उद्देश्य सहित विजय क्लब स्थापना गरेर पश्चिम बागलुङका एसईई परीक्षाको ग्रेड वृद्धि गर्ने विद्यार्थीलाई लक्षित गर्दे निःशुल्क रुपमा कोचिङ कक्षा सञ्चालन गरेका छन ।

२०८१ को एसईई मा ग्रेड वृद्धिका निम्ती तयारी गरिरहेका एकसय जना विद्यार्थीलाई निःशुल्क दक्ष शिक्षकद्वारा कोचिङ कक्षा सञ्चालन गर्ने उद्देश्य सहित हाल ८६ जना विद्यार्थीलाई गणित र अङ्ग्रेजी विषयको कक्षा सञ्चालन गरिएको विरुको भनाई छ ।

गत असार २८ गतेदेखि साउन २७ गतेसम्म सञ्चालन गर्ने गरी अगाडी बढाइएको निःशुल्क कक्षामा बडिगाड गाउँपालिका ९ र १० वडा सहित ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका अन्तर्रगतका विद्यार्थीले कोचिङ कक्षामा सहभागिता जनाएका हुन ।

विभिन्न सेक्सन मार्फत सञ्चालित कोचिङ कक्षामा गणित विषयको सेक्सन ए तर्फ शिक्षक दिपेन्द्र छन्त्याल, सेक्सन बि तर्फ दिवस गोतामे, सेक्सन सि तर्फ अङ्ग्रेजी विषय शिक्षक भीम अर्याल र ईश्वर सिर्पाली ले कक्षा सञ्चालन गर्नुभएको हो ।

विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण लगायत सामाजिक कार्य गर्दे आएका बिजय ले सामाजिक उत्तरदायित्व अन्र्तगत एसईई परीक्षामा ग्रेड वृद्धिको निम्ती तयारीमा रहेका विद्यार्थीलाई निःशुल्क रुपमा तयारी गराउने उद्देश्य सहित कोचिङ कक्षा सञ्चालन गरिएको बताउनु भयो ।

ढोरपाटन नगरपालिका १ वडा सदस्य तथा आफ्नी श्रीमती अञ्जु विक र आफूले शिक्षक पारिश्रमिक, हल व्यवस्थापन लगायतको खर्च व्यवस्थापन गर्ने गरी कक्षा सञ्चालन गरिएको बताउँदै निःशुल्क कोचिङ कक्षामा सहभागि हुन चाहने विद्यार्थीलाई अझैपनि कोटा खाली गरिएको बताउनु भयो ।

ढोरपाटन सिकार आरक्षमा राजश्व घट्यो ।

0

छविलाल पाण्डे ढोरपाटन
बागलुङ,रुकुमपूर्व, र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको राजस्व गत आर्थिक बर्षको तृलनामा आर्थिक बर्ष २०८१÷०८२ मा घटेको छ ।
गत वर्ष चार करोड ७१ लाख बढि कुल राजश्व संकलन भएकोमा आर्थिक बर्ष २०८१÷०८२ मा राजश्व घटेर तिन करोड २२ लाख सँकलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।
बढि मात्रामा सिकारबाट राजश्व संकलन हुने गरेकोमा सिकारी विच स्वस्थ प्रतिस्प्रर्धा हुन नसक्दा सिकारको मूल्य घटेसंगै राजश्वमा समेत कमी आएको पाइएको हो । आर्थिक बर्ष २०८१÷०८२ मा सिकारबाट दुई करोड ७५ लाख ६० हजार ४०० रुपैयाँ राजश्व सँकलन भएको छ । जहाँ अघिल्लो बर्ष सोही शिर्षकमा ४ करोड २६ लाख ८८ हजार ७ सय रुपैयाँ संकलन भएको पाइएको थियो ।
आर्थिक बर्ष २०८१÷०८२ मा दुई सिजनमा गरी ३३ वन्य जन्तुको सिकार भएको हो । जसमा २१ नाउर र १२ वटा झारलको सिकार भएको छ । नाउरको अधिकतम मूल्य ६ लाख र झारलको अधिकतम ३ लाख ५० हजार रुपैयाँमा सिकार भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका कर्मचारी पदम रोकायाले बताउनु भयो । आर्थिक बर्ष २०८०÷०८१ मा नाउरको १८ लाख देखि २३ लाख सम्म र झारलको ७ लाखदेखि १३ लाख सम्म मूल्यमा सिकार भएको जनाइएको छ ।
सिकार संगै कार्यालयले वन पैदावार विक्री वितरणबाट एक करोड ५७ लाख ५ हजार २५ रुपैयाँ, पर्यापर्यटनबाट एकतिस लाख २१ हजार ५००, डण्ड सजायबाट ६ लाख २८ हजार ६८० रुपैयाँ र अन्य शिर्षकबाट १ लाख ६१ हजार ७०० रुपैयाँ राजश्व सँकलन भएको हो ।
ढोरपाटनमा गत आर्थिक बर्ष २०८१÷०८२ मा सबैभन्दा धेरै तेइसहजार ६ सय ९२ जना प्रर्यटक भित्रिएका छन । आरक्षमा ७ वटा सिकार ब्लक छन् ।

ढोरपाटनको प्रचार प्रसार हुन थालेपछी पर्यटकको सङ्ख्या बढ्यो ।

0

छविलाल पाण्डे बागलुङ

धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटन घुम्नेको सँख्या प्रत्यक बर्स वृद्धि हुँदै गएको छ । पर्यटकीय गन्तव्यको प्रचार प्रसार हुँदै जाँदा आन्तरिक र बाह्य पर्यटकको सँख्या प्रत्यक बर्ष पचास प्रतिशतको दरले वृद्धि हुँदै गएको पाइएको हो । आर्थिक बर्ष २०८०÷०८१ मा पन्ध्र हजार पर्यटक ढोरपाटन पुगेकोमा २०८१÷०८२ मा २३ हजार ६९२ पर्यटक ढोरपाटन घुम्नका निम्ती पुगेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

ढोरपाटन उपत्यकामा मात्रै पुग्ने गरेका पर्यटक पछिल्लो समय ढोरपाटन सिकार आरक्षको विभिन्न क्षेत्रमा पुग्न थालको र प्रचार प्रसार समेत वृद्धि हुँदा पर्यटक आवागमन वृद्धि भएको पाइएको हो । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेल ढोर र ढोर वराह मन्दिर , बुकि पाटन लगायतका क्षेत्रको अवलोकनका लागी पर्यटक आउने गरेका छन् ।

विदशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि  त्यहाँ पुग्न थालेका छन्। वैधानिक रूपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएकोमा विगत तिन वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्न थालिएको छ । यसवर्ष नेपाली नागरिक २३,४६७ जना सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना गरी कुल २३,६९२ जना पर्यटक ढोरपाटन घुम्न आएको आरक्षका कर्मचारी पदम रोकायाले जानकारी दिनुभयो । आव २०८०÷८१ मा पन्ध्र हजार स्वदेशी र विदेशी पर्यटक आरक्ष क्षेत्रमा आएका थिए अघिल्लो वर्षको तुलनामा आर्थिक बर्ष २०८१÷८२ मा करिब नौ हजार बढि पर्यटक ढोरपाटन भित्रिएका हुन ।

ढोरपाटनको प्रचार प्रसार भइरहेका कारण पर्यटक आवागमन वृद्धि भएको र यसलाई अझै व्यवस्थित गर्दे लैजाने ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिम बहादुर घर्तिको भनाई छ ।

ढोरपाटन उपत्यकामा दुई दर्जन होटल, होमस्टे सञ्चालनमा रहेका छन । दैनिक तिन सय बढि पर्यटक आउने र पछिल्लो समय यो क्रम निरन्तर हुँदै गएका कारण होटल तथा होमस्टे व्यवसाय समेत फस्टाउँदै गएको होटल व्यवसायी राम बहादुर घर्तीको भनाई छ ।

उपत्यका देखि करिब ४३०० मिटर बुकीपाटन सम्म पर्यटक पुग्न थालेपछी विभिन्न स्थानमा गोठ स्टे सञ्चालनमा ल्याइएको छ । पर्यटकको सहजताका निम्ती गोठस्टे स्थापना भएपछि उनिहरुलाई खान बस्न र घुम्नका निम्ती सहजता प्राप्त हुने गरेको स्थानीय व्यवसायी महेन्द्र घर्तीको भनाई छ ।