छविलाल पाण्डे बुर्तिबाङ। गत असोज ११ गते आएको बाढीपहिरोले घरबारविहीन बनाएका निसीखोला गाउँपालिकाका प्रभावित परिवारको पीडा अझै उस्तै छ। बाढीले घर र घरमा भएका सम्पूर्ण सामग्री बगाएपछि कोही भाडाको घरमा त कोही आफन्तको आश्रयमा बस्दै आएका छन्। घरबार गुमाएका उनीहरूका लागि यस वर्षको दसैँ, तिहारलगायतका चाडपर्व पनि खुसी र उमङ्गविहीन बने।
बाढीपहिरोले वर्षौंदेखि बस्दै आएको घर नै बगाएपछि प्रभावित परिवार सुकुम्बासीसरह बनेका छन्। विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा दाताहरूबाट खाद्यान्न, लत्ताकपडालगायतका राहत सामग्री प्राप्त भए पनि उनीहरूको सबैभन्दा ठूलो समस्या भनेकै सुरक्षित आवासको अभाव बनेको छ। राहतस्वरूप प्राप्त सामग्री राख्ने ठाउँसमेत नहुँदा प्रभावित परिवारको दैनिकी थप कष्टकर बनेको छ।
स्थानीय चन्द्रबहादुर घर्तीका अनुसार बाढीले घरसहित सबै सम्पत्ति बगाएपछि दाताहरूको सहयोगमा खाद्यान्नको व्यवस्था भए पनि बस्ने आफ्नै घर नहुँदा निकै समस्या भएको छ। खाने सामग्रीको जोहो भए पनि ओत लाग्ने आफ्नै बास नहुँदा सरकारको सहयोग पर्खनुको विकल्प नरहेको उहाँले बताउनुभयो।
निसीखोला गाउँपालिका–४ झिवाखोलाका विष्णु कँडेललगायत करिब तीन दर्जन परिवारले बाढीपहिरोका कारण घर गुमाएका छन्। घरबारविहीन बनेका ती परिवार अहिले पनि स्थायी आवासको पर्खाइमा छन्। सरकारका भौतिक पूर्वाधार मन्त्रीले प्रभावित परिवारका लागि चाँडै घर निर्माण गरिदिने आश्वासन दिएको स्थानीयले बताएका छन्। मन्त्रीको आश्वासनपछि छिट्टै आफ्नै घरमा फर्कन पाइने आशामा आफूहरू रहेको उनीहरूको भनाइ छ।

बाढीपीडित परिवारलाई विभिन्न दाताले खाद्यान्न, लत्ताकपडालगायतका सामग्री सहयोग गरे पनि स्थायी बसोबासको व्यवस्था हुन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टिकानिधि पौडेलले बताउनुभयो। राहतले तत्कालका आवश्यकता पूरा गर्न केही सहयोग पुगे पनि घर निर्माण र पुनःस्थापनाको काम अघि बढ्न नसक्दा प्रभावित परिवार निराश बनेको उहाँको भनाइ छ।
चिसो मौसम सुरु भएसँगै भाडाको घर तथा आफन्तको आश्रयमा बसिरहेका बाढीपीडित परिवारको समस्या थपिने देखिएको छ। त्यसैले राहत वितरणसँगै घरबारविहीन परिवारको स्थायी आवास निर्माणलाई प्राथमिकतामा राखेर सरकारले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।
बाढीले घर मात्र बगाएन, प्रभावित परिवारको वर्षौंदेखिको मेहनत र खुसीसमेत खोसेको छ। अहिले उनीहरूको एउटै अपेक्षा छ—सरकारको आश्वासन छिट्टै पूरा होस् र फेरि आफ्नै घरको छानामुनि बसेर चाडपर्व मनाउन पाइयोस्।

















