बागलुङ। नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ क्षेत्रीय समितिको नेतृत्वमा दीपावली पर्वको अवसरमा सञ्चालन गरिएको देउसी–भैलो कार्यक्रमबाट २२ लाख १० हजार एक रुपैयाँ संकलन भएको छ।
पार्टीको संगठनलाई थप चलायमान बनाउने, संगठनात्मक गतिविधि सञ्चालन गर्ने तथा विभिन्न तहका कार्यक्रमलाई व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट उक्त रकम संकलन भएको क्षेत्रीय सभापति दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
देउसी–भैलो अभियानअन्तर्गत गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा पार्टीका नेता, कार्यकर्ता तथा कलाकारको प्रत्यक्ष सहभागितामा देउसी खेलिएको थियो। दुई दिनसम्म सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानमा रहेका पार्टीका नेता, कार्यकर्ता, स्थानीय व्यापारी, शुभेच्छुक तथा समाजसेवीहरूले स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग उपलब्ध गराएका थिए।
संकलित रकमले पार्टीका संगठनात्मक गतिविधि, प्रशिक्षण तथा क्षेत्रअन्तर्गतका प्रदेश, गाउँपालिका, नगरपालिका र वडा तहमा सञ्चालन हुने विभिन्न कार्यक्रमलाई व्यवस्थित गर्न सहयोग पुग्ने क्षेत्रीय सभापति श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पार्टी संगठनलाई थप सक्रिय र सुदृढ बनाउन आवश्यक पर्ने आर्थिक व्यवस्थापनका लागि उक्त रकम उपयोग गरिनेछ।

देउसी–भैलो अभियानमा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य टेकराज पौडेल, जिल्ला सभापति तारानाथ पौडेल, गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवी, जिल्ला सचिव गण्डकी थापा, क्षेत्रीय सभापति दिपेन्द्र श्रेष्ठ,सहसचिव राजमान बुढा , प्रदेशसभा क्षेत्र नं. २ का सभापति ढालेन्द्र छन्त्याल, प्रदेशसभा क्षेत्र नं. १ का सभापति विरञ्जङ भण्डारी, क्षेत्रीय सचिव योगेश भण्डारीलगायतको सहभागिता रहेको थियो।
त्यसैगरी गल्कोट नगर सभापति हिमबहादुर भण्डारी, ढोरपाटन नगर सभापति दीपककुमार अदै, बडिगाड गाउँपालिका सभापति रणबहादुर भुजेल, ताराखोला गाउँपालिका सभापति भीमबहादुर रोका, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वडा सभापति तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
तिहारको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आपसी सद्भाव, एकता र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको देउसी–भैलो कार्यक्रमले पार्टी संगठनलाई आर्थिक रूपमा समेत सबल बनाउन सहयोग पुग्ने विश्वास क्षेत्रीय समितिले लिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी, व्यापारी, समाजसेवी, शुभेच्छुक, नेता, कार्यकर्ता, कलाकार तथा सहयोगी दाताहरूप्रति क्षेत्रीय समितिले आभार व्यक्त गरेको छ।

















