बागलुङ । गएराति परेको अविरल वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढीका कारण मध्यपहाडी लोकमार्गको निसीखोला खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
निसीखोला गाउँपालिका–३ हदधारा गाउँमा घरमाथिबाट आएको पहिरोले ओमलाल विकको घर पुरिँदा उहाँकी श्रीमतीसहित तीन छोराको पुरिएर मृत्यु भएको छ।
त्यस्तै, निसीखोला गाउँपालिका–६ मा गोठमा बसिरहेको अवस्थामा गोठ पुरिँदा सुर्ज घर्ती मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बताउनुभयो।
निसीखोलामा आएको बाढीले झिवाखोला र कानाबगर बजारमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीले बजारका तटीय क्षेत्रमा रहेका दर्जनभन्दा बढी घर बगाएको स्थानीयले बताएका छन्। बाढीका कारण ४० भन्दा बढी परिवार विस्थापित भएका छन्।

बाढीले स्थानीय लिटिल रोज बोर्डिङ स्कुलको भवनमा समेत क्षति पुर्याएको छ। भवनको तल्लो भागबाट खोला पसेपछि विद्यालय भवनसमेत जोखिममा परेको स्थानीयले बताएका छन्।
बाढी बजार क्षेत्रमा पसेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्। बाढीले पुल, लघुजलविद्युत् आयोजना लगायतका संरचनामा समेत क्षति पुर्याएको छ।
त्यस्तै, निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालसमेत डुबानमा परेको छ। बाढीपहिरोका कारण निसीखोलाको जनजीवन प्रभावित बनेको छ भने यातायातसमेत ठप्प भएको छ।
बाढीले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि आवतजावत बन्द भएको छ। घटनाको थप क्षति तथा प्रभावितको विवरण संकलन भइरहेको जनाइएको छ।

















