बागलुङ
बुधबार आएको बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाबाट विभिन्न कामको सिलसिलामा रसुवा तथा नुवाकोट पुगेका ९ जना नागरिक सम्पर्कविहीन भएका छन् ।
तमानखोला गाउँपालिकाले संकलन गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा वडा नम्बर १ हिजाका ३७ वर्षीय पदमबहादुर घर्ती मगर, ३२ वर्षीय इन्द्रकुमार विक र रिक्लाङका २२ वर्षीय विष्णु घर्ती मगर रहेका छन् ।
त्यस्तै वडा नम्बर २ बोंगाखानीका ३७ वर्षीय भिमबहादुर छन्त्याल र ३४ वर्षीय खडक छन्त्याल, वडा नम्बर ३ तमानका २२ वर्षीय संजय शेर्पाली, ५० वर्षीय दलप्रसाद बुढा, तथा वडा नम्बर ४ लाममेलाका ४५ वर्षीय लाता कामी र ४७ वर्षीय भिमबहादुर विक सम्पर्कविहीन रहेको गाउँपालिकाको विवरणमा उल्लेख छ ।

सम्पर्कविहीनमध्ये केही व्यक्ति अपर त्रिशूली हाइड्रोपावर क्षेत्रमा काम गर्दै आएका थिए । बाढी तथा विपद्का कारण उनीहरूसँग सम्पर्क हुन नसकेको जनाइएको छ ।
गाउँपालिकाले सम्पर्कविहीन नागरिकको अवस्थाबारे जानकारी लिन तथा खोजीका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो । । परिवारजन भने आफ्ना आफन्तको अवस्थाबारे जानकारी नपाउँदा चिन्तित बनेका छन् ।

















